अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५५ | Colorodo: 15:10

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जमानतमा रिहा गर्न सर्वाेच्चकाे आदेश, चुनाव प्रचार गर्न पाउने

बिआरटीनेपाल २०८१ वैशाख २८ गते ५:४९ मा प्रकाशित

भ्रष्टाचार आरोपमा पक्राउ परेका भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । उनलाई आउँदो जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको बीबीसी हिन्दीले जनाएको छ । अदालतले मुख्यमन्त्री केजरीवाललाई जुन २ तारिखमा अदालतमा हाजिर हुन भनेको छ । अदालतले केजरीवालले रिहा भएको अवधिभर लोकसभा चुनावको प्रचारप्रसार गर्न सक्ने पनि जनाएको छ । सर्वोच्च अदालतले केजरीवाल पक्राउसम्बन्धी मुद्दाकाे छिटै सुनुवाइ सक्ने पनि जनाएको छ ।

सन् २०२२ को अगस्टमा दर्ता भएको मदिरा नीतिमा नीतिगत भ्रष्टचार गरेकोसम्बन्धी मुद्दामा प्रवर्तन निर्देशनालय (ईडी) ले मुख्यमन्त्री केजरीवाललाई गएको मार्च २१ तारिखमा पक्राउ गरेको थियो । सर्वोच्च अदालतले मुद्दा दर्ता भएको डेढ वर्षपछि केजरीवाललाई किन पक्राउ गरेको भनेर प्रश्न पनि उठाएको छ । लोकसभा चुनावको मिति घोषणा हुनेबित्तिकै केजरीवाललाई पक्राउ गरिनु राजनीतिकक षड्यन्त्र भएको भन्दै विपक्षी दलहरूले आरोप लगाउँदै आएका छन् ।

लोकसभा चुनावअन्तर्गत भारतमा तीन चरणको मतदान भइसकेको छ । भारतमा चौथो चरणको मतदान यही मे १३ तारिखमा हुँदैछ । त्यस्तै मे २० मा पाँचौँ, मे २५ मा छैटौँ र जुन १ सातौँ चरणको मतदान हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू