अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

‘स्टारलिङ्क’ को इन्टरनेट सेवा शुरु गर्न एलन मस्क इन्डोनेसियाको बालीमा

बिआरटीनेपाल २०८१ जेठ ६ गते ७:०४ मा प्रकाशित

अमेरिकी अर्बपति एलन मस्क इन्टरनेट सेवा शुभारम्भका लागि इन्डोनेसिया पुग्नुभएको छ । मस्कको कम्पनी ‘स्टारलिङ्क’ को इन्टरनेट सेवा संसारमै तीव्र गतिको र भरपर्दो मानिन्छ । इन्डोनेसियामा स्टारलिङ्कको इन्टरनेट सेवा शुरु गर्न एलन मस्क आज बिहान बाली पुग्नुभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।स्याटेलाइट कम्पनी ‘स्पेसएक्स’ र विद्युतीय गाडी ‘टेस्ला’ का प्रमुखसमेत रहेका अर्बपति मस्कले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँगै आज एक सामुदायिक स्वास्थ्य केन्द्रमा स्टारलिङ्क इन्टरनेटको उद्घाटन गर्ने कार्यक्रम छ ।

इन्डोनेसियाका लगानीमन्त्री लुहुत बिनसर पन्जायतनले बालीको विमानस्थलमा मस्कलाई स्वागत गर्दै अब देशको इन्टरनेट सेवा अर्को चरणमा पुग्ने बताउनुभएको छ । दक्षिण पूर्वी एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश इन्डोनेसियाको सबै जनसङ्ख्यामा इन्टरनेटको समान पहुँच पुर्‍याउन मस्कको कम्पनीको उपस्थिति महत्त्वपूर्ण रहेको खबरमा उल्लेख छ । ठाउँ–ठाउँमा स–साना डिभाइस राखेर स्टारलिङ्क कम्पनीको इन्टरनेट विस्तार गर्न सकिन्छ । अब इन्डोनेसियाका १७ सय वटा टापुसहित शहरी तथा दुर्गम क्षेत्रमा बस्ने २७ करोड जनाभन्दा धेरै मानिसले द्रूत गतिको इन्टरनेट सुविधा पाउनेछन् । यसले देशकै अर्थतन्त्रमा ठूलो टेवा पुग्ने सरकारी अधिकारीले बताएका छन् ।

दक्षिण पूर्वी एशियामा स्टारलिङ्कको इन्टरनेट जडान गर्ने इन्डोनेसिया तेस्रो देश हो । मलेसिया र फिलिपिन्सले यसअघि नै स्टारलिङ्कको इन्टरनेट सेवा शुरु गर्न सम्झौता भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू