अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१० | Colorodo: 12:25

नेपालमा ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित

बिआरटीनेपाल २०८० कार्तिक २१ गते ५:४१ मा प्रकाशित

नेपालमा ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित भएका मनोचिकित्सकहरूले बताएका छन् । आज मङ्गलवारदेखि काठमाण्डाैमा शुरु भएको १४ औँ सार्क अन्तर्राष्ट्रिय मनोचिकित्सक सम्मेलनमा सार्क राष्ट्रका मनोचिकित्सकहरूले याे जानकारी दिएका हुन् ।मनोचिकित्सक डा. कमल गौतमले विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यको उपचार नपाउनेहरू ८४ प्रतिशत रहेको बताउनु भयो । उहाँले नेपालमा ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित रहेका बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले समग्र स्थिति हेर्दा विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यको उपचार नपाउनेहरू ८४ प्रतिशत रहेका छन् । धेरैजसो यो सङ्ख्या विकासोन्मुख देशहरूमा छ । नेपालको अवस्था हेर्दा झन्डै ९० प्रतिशत मानसिक राेगी उपचारबाट वञ्चित छन् । सार्कमा समग्रमा विकासोन्मुख देशको अवस्था उस्तै रहेको छ । आत्महत्याको तथ्याङ्क हेर्दा एसियामा जनसङ्ख्याको हिसाबले भारतमा सबैभन्दा धेरै छ ।’

सम्मेलनमा मनोचिकित्सक डा. सरोज ओझाले कडा खालको मानसिक रोगको उपचार राज्यले गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा मानसिक स्वास्थ्य ऐन छुट्टै बनाउनुपर्नेमा जाेड दिनुभयाे । उहाँले आत्महत्या रोकथामका लागि राज्यले जनमानसमा जनचेतना फैलाउने तथा पीडितले अचानक सेवा चाहिए कहाँबाट सेवा लिने भन्नेका लागि हटलाइन सर्वसुलभ गर्ने र दक्ष जनशक्तिबाट आवश्यक परामर्श दिन आवश्यक रहेको बताउनुभयो । सम्मेलन भाेलि बुधवारसम्म चल्नेछ । सम्मेलनमा सार्क राष्ट्रमा मानसिक समस्याबाट बेहाेर्नुपरेको क्षति, उपचारकाे उपायका बारेमा छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू