अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३४ | Colorodo: 11:49

चिसो मौसम शुरु भइसक्दा पनि डेङ्गीको सङ्क्रमण

बिआरटीनेपाल २०८० कार्तिक ११ गते ५:२५ मा प्रकाशित

चिसोयाम शुरु भए पनि डेङ्गीको सङ्क्रमण रोकिएको छैन । काठमाण्डौ उपत्यकामा त केही दिनदेखि सङ्क्रमण बढिरहेको छ । ज्वरो आएर अस्पताल पुग्ने गरेका धेरैजसो व्यक्तिमा डेङ्गीको सङ्क्रमण देखिइरहेको डाक्टरहरुले बताएका छन् ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा २० जना ज्वरोकाे लक्षण भएका बिरामी आउँदा १५ देखि १८ जनामा डेङ्गी देखिने गरेको अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनले जानकारी दिनुभयो । अहिले पनि औसतमा दैनिक २० जनाभन्दा धेरै ज्वरोका बिरामी अस्पताल आउने गरेको उहाँले बताउनुभयो ।

सामान्यतया वर्षातको मौसम सकिएर चिसो बढ्न थालेपछि डेङ्गीको प्रकोप घट्ने अनुमान गरिन्छ । तर, पछिल्ला वर्षहरूमा कात्तिक र मंसिरको समयमा समेत डेङ्गीका बिरामी घटेका छैनन् । वर्षात पछिको यो मौसम डेङ्गी सार्ने लामखुट्टेको लागि उपयुक्त हुने देखिएको डा. पुनले बताउनुभयो । डेङ्गी सार्ने लामखुट्टेका लागि १० देखि २५ डिग्री सेल्सियसको वातावरण उत्तम हुने भएकाले डेङ्गीको सङ्क्रमण उच्च पहाडी क्षेत्रमा पनि बढ्दै गएको उहाँले बताउनुभयो । टेकुसँगै अहिले सिभिल, पाटन, वीर, त्रिवि शिक्षण लगायतका अस्पतालमा पनि डेङ्गीका बिरामी बढिरहेका छन् ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाको तथ्याङ्क अनुसार, कात्तिक १ गतेसम्म १५ हजार ३९४ जनामा डेङ्गी पुष्टि भएको छ । डेङ्गी पुष्टि भएकामध्ये १० जनाको ज्यान गएको छ । दशैँ बिदाका कारण कात्तिक १ गतेपछिको तथ्याङ्क अध्यावधिक भइनसकेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू