अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१३ | Colorodo: 11:28

मेयर शाहको निर्देशनपछि सिंहदरबारबाट फोहोर उठाउन बन्द

बिआरटीनेपाल २०७९ चैत २६ गते ७:४० मा प्रकाशित

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनपछि देशकै मुख्य प्रशासनिक थलो सिंहदरबारको फोहोर उठाउने काम बन्द भएको छ ।मेयर शाहले हिजो शनिवार फेसबुकमा स्टाटस लेखेर सङ्घीय सरकारले सहयोग नगरेको भन्दै अब सिंहदरबारकै फोहोर नउठाउने घोषणा गर्नुभएको थियो । हिजोदेखि सिंहदरबारको फोहोर नउठ्दा ठाउँ–ठाउँमा फोहोरका थुप्रा देखिन थालेका छन् ।

सिंहदरबारको फोहोर उठाउँदै आएको परिवर्तन नेपाल नामक संस्थाले मेयर शाहको निर्देशनका कारण फोहोर उठाउन बन्द गरिएको जानकारी दिएको छ । सिंहदरबारबाट दैनिक पाँच टन फोहोर उठाउने गरे पनि हिजो र आज उठाउने काम बन्द भएको कम्पनीले जनाएको छ ।

सिंहदरबार रहेको काठमाण्डौ महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष हिरालाल तण्डुकारले अहिले सिंहदरबारभित्रको फोहोर नउठाएको बताउनुभयो । उहाँले सिंहदरबारबाहेक वडाको सबैतिरको फोहोर उठेको तर सिंहदरबारमा विशेष कारणवश मेयर शाहको निर्देशनमा रोकिएको भन्ने जानकारी पाएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू