अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४२ | Colorodo: 08:57

स्कटल्यान्डले नामिबियालाई हराउँदा नेपाललाई फाइदा

बिआरटीनेपाल २०७९ फागुन ८ गते ६:४८ मा प्रकाशित

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा स्कटल्यान्डले नामिबियालाई हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमवार भएको खेलमा स्कटल्यान्डले नामिबियालाई ४३ रनले हरायो । स्कटल्यान्डले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको नामिबिया ३८ ओभर ४ बलमा १ सय ७८ रन बनाउँदा अलआउट भयो । उसका लागि लोहान्ड्रे लरेन्सले ५२ र कप्तान गेरहार्ड इरासमसले ४२ रन बनाए । स्कटल्यान्डका मार्क वाटले ४, माइकल लिस्कले ३ र ब्रान्डन म्याकमुलेनले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४८ ओभर ४ बलमा २ सय २१ रन बनाउँदा अलआउट भयो । उसका लागि क्रिस्टोफर म्याकब्राइडले ४७, टोमस म्याकिनटशले ३४ र कप्तान रिची बेरिङ्टनले ३२ रन बनाए । नामिबियाका रुबेन ट्रमपेलम्यानले ५ विकेट लिए ।

लिग–२ को विजेता बनिसकेको स्कटल्यान्ड यो जितसँगै ३५ खेलमा ५० अङ्कसहित शीर्ष स्थानमा छ । नामिबिया ३४ खेलमा ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । नेपालमा भइरहेको शृङ्खलामा नामिबिया चार वटै खेलमा पराजित भएको छ । योसँगै नामिबियाले शीर्ष तीनमा रहेर विश्व कप छनोट खेल्ने समीकरण कठिन बनेको छ, अब उसले दुई खेलमात्र खेल्न बाँकी छ । अहिले २४ अङ्कसहित तालिकाको छैटौँ स्थानमा रहेको नेपालले ९ खेल खेल्न बाँकी हुँदा विश्व कप छनोट खेल्ने सम्भावना बलियो बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू