अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४ | Colorodo: 19:09

आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानुन बनाउनुपर्छ- प्रमुख निर्वाचन आयुक्त

बिआरटीनेपाल २०७९ फागुन ४ गते ६:२९ मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानुन बनाउनुपर्ने बताउनुभएको छ । बिहीवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानुन बनाउनुपर्ने बताउनुभएको हो । उहाँले अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोवास भएको ठाउँबाट पनि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउनुपर्ने बताउनुभयो ।

उहाँले कर्मचारी र कैदीबन्दीलाई यसै पटक समानुपातिकमा मतदान गर्न दिइएको उल्लेख गर्दै आउँदा दिनमा कानुन बनाएर आम मतदातालाई मतदान गर्न दिइनुपर्ने बताउनुभयो । यस्तो व्यवस्था गर्न सकेमा मतदान गर्नेको सङ्ख्या बढ्ने उहाँको भनाइ छ । प्रमुख आयुक्त थपलियाले जनअनुमोदित राजनीतिक दलहरूलाई मात्रै सर्वदलीय बैठकमा समावेश गराउने प्रावधान राख्ने गरी आयोगले निर्णय गर्न लागेको बताउनुभयो ।

थपलियाले जिल्लामा सर्वदलीय बैठक राख्नुपरेमा त्यो जिल्लामा पार्टीको जिल्ला समितिको विवरण पेस गरेको, प्रतिनिधि सभा, प्रदेश सभा र पालिकामा प्रतिनिधित्व गरेको दलहरूलाई मात्रै बोलाउन आफूले निर्देशन दिएको बताउनुभयो । दल दर्ता गर्नु उपलब्धि नभएर नागरिकद्वारा अनुमोदित हुनु र वैद्यता सिर्जना गर्नु ठूलो कुरा भएको उहाँको भनाइ छ । प्रमुख आयुक्त थपलियाले आयोगले समावेशिता र लैङ्गीक समानतालाई अत्यधिक समेटेर निर्वाचन कानुन तयार गरिरहेको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू