अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३ | Colorodo: 02:38

नेपालमा ओमिक्रोनको सब–भेरिएन्ट ‘बीएफ सेबेन’को जोखिम उच्च

बिआरटीनेपाल २०७९ पुष १३ गते ६:३० मा प्रकाशित

छिमेकी राष्ट्र चीनमा कोरोनाको ओमिक्रोनको सब भेरिएन्ट बीएफ सेबेन संक्रमण बढेसँगै नेपालमा पनि यसको प्रभाव पर्ने देखिएको छ । विगतमा देखिएका कोरोनाको भेरिएन्ट भन्दा अहिले देखिएको बीएफ सेबेन संक्रमण भने केही कमजोर भएको चिकित्सकहरुले बताएका छन् । छिमेकी राष्ट्र चीन र भारतमा कोरोना संक्रमणको दर बढेसँगै नेपालमा पनि यसको त्रास फैलिएको छ । अहिले चीनका विभिन्न प्रान्तमा कोरोनाको ओमिक्रोनको सब भेरिएन्ट बीएफ सेबेनका कारण संक्रमितसहित मृत्युदर पनि बढ्दो रुपमा रहेको छ ।

चीनभन्दा पनि पहिले युरोपमा यो भेरिएन्ट देखिए पनि यसको असर सामान्य नै रहेको थियो । तर, यसले चीनमा ठूलो प्रभाव पारेको छ । अहिले यो भेरिएन्ट भारतमा पनि देखिएको छ । छिमेकी राष्ट्रहरुमा संक्रमण दर फैलिन थालेपछि नेपालमा पनि त्रास यसको असर देखिन थालेको हो । यद्यपी यसअघिका भन्दा अहिले देखिएको भेरिएन्ट केही कमजोर भएको चिकित्सकहरुले बताएका छन् । यसअघि नेपालमा ठूलो संख्यामा कोरोना संक्रमण भएकाले त्यसबाट एन्टीबडी उत्पादन भएकाले संक्रमण भए पनि जटिल नहुने अनुमान चिकित्सकको रहेको छ । बीएफ सेबेन संक्रमण छिमेकी देशमा देखिएको हुनाले नेपालमा आज नदेखिए पनि भोलि देखिन सक्छ सरुवा रोग विशेषज्ञ डा. शेरबहादर पुन बताउनुहुन्छ ।

कोरोनाको नयाँ भेरिएन्ट देखिन थालेपछि कोरोना खोप लगाउनेहरु पनि बढ्न थालेका छन् । अन्य समयमा फाट्टफुट्ट मात्र खोप लगाउन आए पनि अहिले खोप लगाउनेहरुको चहलपहल देखिन थालेको छ । कारोनाको ओमिक्रोन भेरिएन्टका प्रजातिहरु थुप्रै रहेकाले यसको प्रभाव लामो समयसम्म रहने चिकित्सकको भनाइ छ ।
त्यसैले जनस्वास्थ्यका मापदण्ड अपनाउने, भ्याक्सीन लगाउने लगायतका कुराहरुमा ध्यान दिन चिकित्सकहरुको सुझाव छ । कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टले आफ्नो स्वरुप निरन्तर परिवर्तन गर्ने देखिएकोले यसबाट बच्नका लागि कोरोनाविरुद्धको खोप सबैले लगाउन डा. पुन बताउनुहुन्छ ।

कोरोना संक्रमणको विभिन्न भेरीएन्टका प्रजातिहरु देखिने क्रम जारी नै छ । संक्रमणको जोखिम अझै लामो समयसम्म देखिने विज्ञहरुले जनाएका छन् । कोरोना संक्रमणको जोखिम रहिरहनु र समुदाय स्तरमा जनस्वास्थ्यका मापदण्ड नअपनाई हिड्नुले थप समस्या हुन सक्छ । संक्रमणको जोखिमबाट बच्न नागरिक आफैंले सुरक्षित बस्नु उपयुक्त हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू