अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 23:24

राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति व्याप्त छ : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०७९ असोज १३ गते ९:३७ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति बढेकाले नेताहरुले विश्वास गुमाउँदै गइरहेका बताउनुभएको छ । बिहीबार अखिल नेपाल महिला संघ (समाजवादी)ले दशैँ, तिहार लगायतका चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिमा भ्रष्टाचारी प्रवृत्ति व्याप्त रहेको बताउनुभएको हो ।

उहाँले राजनीतिमा चरम भ्रष्टाचारी प्रवृत्ति बढ्नाले नेताहरुले विश्वास गुमाउँदै गइरहेका बताउनुभयो । उहाँले नेताहरुले विश्वास गुमाउँदै गइरहेको कुराले आफूलाई चिन्तित बनाएको पनि बताउनुभयो । अध्यक्ष नेपालले आफ्नो व्यवहार र उदाहरणबाट आफूलाई उत्कृष्ट सावित गरेर अरुको मन जित्न सक्नुपर्ने बताउनुभयो । उहाँले देशको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने बारेमा आफूले सोचिरहेको बताउनुभयो ।

उहाँले मानिसहरुमा आफूले पटक–पटक अबसर पाउँदा ठिक ठान्ने र अरुले एकपटक अवसर पाउँदा पनि त्यसलाई सकारात्मक रुपमा नलिने प्रवृत्ति बढेको बताउनुभयो । आफूले पाएको छैन भने अनुहार अध्यारो हुने र पाएको छ भने छोइनसक्नु हुने भन्दै उहाँले टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू