अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३७ | Colorodo: 15:52

सत्ता गठबन्धनको बैठक: सिट बाँडफाँडबारे कार्यदलबाटै साझा धारणा बनाउन निर्देशन

बिआरटीनेपाल २०७९ भदौ ३ गते ७:३८ मा प्रकाशित

सत्ता गठबन्धनका शीर्ष नेताहरूले सिट बाँडफाँड गर्न बनेको कार्यदललाई नै त्यसबारे साझा धारणा तय गर्न निर्देशन दिएका छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको बैठकमा गठबन्धनमा सिट बाँडफाँड गर्न बनेको कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरूलाई कार्यदलमा भएको छलफल र प्रगतिबारे जानकारी गराएका छन् ।

कार्यदलमा भएको छलफलको निष्कर्षबारे शीर्ष नेताहरूले समेत सुझाव राखेका छन् । छलफलपछि शीर्ष नेताहरूले कार्यदलमै सिट बाँडफाँडको विषयमा साझा धारणा बनाउन निर्देशन दिएका छन् । सरकारका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा कार्यदलमा भएको छलफलको प्रगति प्रस्तुत भएपछि नेताहरूले त्यसलाई अन्तिम रुप दिन निर्देशन गरेको जानकारी दिनुभयो ।

सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वमा ११ सदस्यीय कार्यदल बनेको छ । कार्यदलमा कांग्रेसबाट नेता सिटौला, महामन्त्री गगन थापा, सञ्चारमन्त्री कार्की, नेकपा माओवादी केन्द्रबाट नेताहरु वर्षमान पुन र देव गुरुङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य हुनुहुन्छ ।

कार्यदलले २०७४ को निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचनको मत परिणाम र २०७९ को स्थानीय तह निर्वाचनको परिणामको आधारमा सिट बाँडफाँड गरेर अघि बढ्ने मापदण्ड तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू