अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१४ | Colorodo: 16:29

न्युयोर्कमा उभौली साकेला भव्य रूपमा सम्पन्न

बि.के राई २०७९ साउन ६ गते ९:१२ मा प्रकाशित

न्यु योर्क । युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) न्यु योर्क च्याप्टरको आयोजनामा २०२२ को उभौली साकेला भव्य रूपमा सम्पन्न भएको छ । संयुक्त राज्य अमेरिकाको न्यु योर्क राज्यको क्विन्स ब्रिज पार्कमा सम्पन्न कार्यक्रममा विभिन्न सङ्घ-संस्थाका विशिष्ट अतिथिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रमुख अतिथिको रूपमा संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगको प्रमुख अमृत बहादुर राई थिए।कार्यक्रमको सभापतित्व युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) न्यु योर्क च्याप्टरकी अध्यक्ष ममता खालिङले गरेकी थिइन् भने यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) न्यु योर्क च्याप्टरकी वरिष्ठ उपाध्यक्ष वसन्ती राईले स्वागत मन्तव्य दिएकी थिइन्।

उक्त अवसरमा उभौली साकेलाको शुभकामना आदानप्रदान गर्नुका साथै साकेला सिली प्रस्तुत भएका थिए। कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूले शुभकामना व्यक्त गर्दै साकेलाको महत्त्व स्पष्ट पार्दै किरात समुदाय तथा समग्र नेपाली समुदायको एकता र विकाशको बारेमा आफ्नो विचार राखेका थिए।

कार्यक्रममा बोल्दै युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा)का केन्द्रीय अध्यक्ष जय कुमार राईले साकेलाको शुभकामना व्यक्त गर्दै अमेरिकामा किराँती साकेला थान स्थापना गर्नु पर्नेमा जोड दिएका थिए।

त्यस अवसरमा अध्यक्ष राईले युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा)की केन्द्रीय निवर्तमान अध्यक्ष मुना राईलाई माया को चिनो प्रदान गरेका थिए।

त्यस्तै, कार्यक्रममा बोल्दै युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा)ट्याफ् च्याप्टरका अध्यक्ष इवन राईले अमेरिकामा रहेका सम्पूर्ण किरातीहरु एकजुट भएर आफ्नो आवाज बुलन्द बनाउँदै यहाँका सरकारबाट पनि सहयोगको पहल गर्नु पर्नेमा जोड दिए।

युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका(युक्रा)का पूर्व अध्यक्ष विष्णु राईले साकेला पर्वको मिथक सुनाए। उनले भने – उहिले किराँती पुर्खाहरूले सिकार गर्ने क्रममा सिकार ल्याएपछि सिकारको वरिपरि घुम्दै नाच्ने चलन नै अहिलेको साकेलाको पर्व हो र यो साकेला पर्व हालसालै मान्न थालिएको नभएर इतिहासको निक्कै पुरानो कालखण्ड देखि मान्दै आएको हो ।

कार्यक्रमका प्रमुख अतिथि अमृत बहादुर राईले अमेरिकामा बसोबास गर्ने किराँती तथा गैरकिराती नेपालीहरू एकजुट भएर अगाडि बढ्नु पर्ने विचार राखेका थिए। साकेलाको शुभकामना दिँदै राईले साकेला पर्वले अमेरिकामा बसोबास गर्ने किराँती तथा गैरकिराती नेपालीहरूलाई एकजुट हुन् थप बल पुगेकोमा खुसी व्यक्त गरे।

कार्यक्रममा विशेष अतिथिका रूपमा जनजाति महासङ्घ अमेरिका (फ़िप्ना)का राजकुमार विष्ट, युक्राका पूर्व अध्यक्ष, जनजाति महासङ्घ अमेरिका (फ़िप्ना)का पूर्वसल्लाहाकार तथा एनआरएनएका पूर्व उपसभापति मिलन राई, जनजाति महासङ्घ नेपालका पूर्व उपसभापति डन्डू शेर्पा, एनआरएनए आइसिसी उपाध्यक्ष बिआर लामा, महावाणिज्यदूत न्यु योर्क कार्यालयका गणेश अधिकारी, हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा, प्रवासी नेपाली एकता मञ्चका वरिष्ठ नेता राधा कृष्ण देउजा, युक्राका पूर्व सभापति तथा साकेला थान संयोजक विष्णु राई, युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) डिएमभिपी च्याप्टरकी अध्यक्ष समिता राई, युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) न्यु इंग्ल्यान्ड च्याप्टरका अध्यक्ष कर्ण राई तथा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) क्यालिफोर्निया च्याप्टरका महासचिव टक्सन राईले शुभकामना मन्तव्य दिएका थिए।

त्यस्तै, जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनीन्द्र नेम्वाङ्ग, शेर्पा सङ्घका अध्यक्ष जाङ्ग्बु शेर्पा, तमु समाज युएसएका अध्यक्षतोरण गुरुङ, सुनुवार समाज युएसएका अध्यक्ष मोहन सुनुवार, तामाङ समाज अमेरिकाका अध्यक्ष छेवाङ्ग लामा, शेर्पा क्युदुङ्ग युएसएका अध्यक्ष छिरिङ शेर्पा, फ़िप्नाका सभामुख सुवर्ण शाक्य, मगर सङ्घ अमेरिकाका महासचिव दीप सागर बुढा, किरात याक्थुङ्ग चुम्लुङ युएसएका अध्यक्ष सुमान थाम्सुहाङ्ग, युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा)का निवर्तमान सल्लाहकार तथा मिडिया संयोजक सुरेश चाम्लिङ, म्याग्दी समाज युएसएका अध्यक्ष भविन शेर्पान्ज, थारु समाज युएसएका अध्यक्ष दीपक चौधरी, हामी नेपाली ग्लोबलका वरिष्ठ उपाध्यक्ष नवराज केसी, प्रवासी नेपाली मञ्च न्यु योर्क च्याप्टरका अध्यक्ष सूर्य लिङ्देन, खालिङ्ग समाज युएसएका अध्यक्ष मक्कर खालिङ्ग राई, मुगुम समाज युएसएका अध्यक्ष वाङ्ग्ला लामा, प्रवासी नेपाली एकता मञ्च कोष अध्यक्ष न्यु योर्क च्याप्टर अध्यक्ष सौमिन्द्र रञ्जित, किरात राई समाज अमेरिकाका न्यु योर्क च्याप्टर उपाध्यक्ष संदेश राई, प्रवासी नेपाली एकता मन्च कोषाध्यक्ष उमा लामा, जनजाति महासङ्घ अमेरिकाका पुर्वमहासचिव दिनेश लिम्बु, जनजाति महासङ्घ अमेरिकाका पुर्वउपसभापति डण्डु शेर्पा, मधेस एसोसिएसनका अध्यक्षका अध्यक्ष सत्यन्द्र शाह तथा हिमानी ट्रस्टका अध्यक्ष जोन खड्गीले साकेलाको शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा) तथा किराँती समुदायलाई विशेष योगदान दिएका पत्रकार शान्तिराज राई, कलाकार तथा नित्य निर्देशक गोविन्द राई, गायिका यशोदा खालिङ राई, गायक अबे ढुङ्गेल तथा गायक विमल डाँगीलाई सम्मान-पत्र प्रदान गरिएको थियो।
कार्यक्रमको अन्तमा कलाकार तथा आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। औपचारिक कार्यक्रमको सञ्चालन संचारकर्मी सन्तोष राई र युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) न्यु योर्क च्याप्टरकी महासचिव सूसना राईले गरेका थिए।

उक्त अवसरमा मञ्जु राईले यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा)को सबै च्याप्टर अध्यक्षहरूलाई पुष्प गुच्छाले स्वागत गर्दै आफ्नो क्षेत्रमा साकेला थान स्थापना गर्न सुझाइन्। उनी प्रमुख अतिथि अमृत बहादुर राईकी पत्नी हुन् ।

त्यस्तै, युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा) न्यु योर्क च्याप्टरकी अध्यक्ष ममता खालिङले प्रमुख अतिथिको रूपमा संयुक्त राष्ट्रसङ्घका लागि नेपाली स्थायी नियोगको प्रमुख अमृत बहादुर राई, विशेष अतिथि महावाणिज्यदूत न्यु योर्क कार्यालयका गणेश अधिकारी, हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामालाई पुष्प गुच्छाले स्वागत गरेकी थिइन् ।

त्यस्तै, एसिया प्यासिफिक युनाईटेड सिटिज एण्ड लोकल गभर्मेन्ट अध्यक्ष, जाकार्ता, इन्डोनेसिया तथा धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यन्जु श्रेष्ठले किरातहरू नेपालको दोलखा, रामेछाप सोलुखुम्बुदेखि इलाम झापादेखि भारत लगायत विश्वको धेरै मुलुकमा रहेर नेपाल र नेपालीको शान बढाएको बताए ।

त्यसै अवसरमा नछुङ्ग पदम बहादुर राईको शिर उभ्याउने कार्यक्रम सम्पन्न भएको थियो। प्रवासी नेपाली एकता मञ्च अमेरिकाका वरिष्ठ नेता राधा कृष्णा देउजाले नेपालीहरू विश्वका जुनसुकै स्थानमा भए पनि सबै नेपाली संस्कार र संस्कृतिको संरक्षण र संवर्द्धनमा लाग्नु [पर्ने विचार व्यक्त गरे।
हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामाले सम्पूर्ण नेपालीले विश्वको कुनै पनि स्थानमा रहेर पनि नेपाल र नेपालीको इमान, इज्जत र संस्कृतिको प्रवर्धन गर्नु पर्ने बताए ।

त्यस्तै, विशेष अतिथिका रूपमा जनजाति महासङ्घ अमेरिका (फ़िप्ना)का राजकुमार विष्टले साकेलाको शुभकामना व्यक्त गर्दै सबै नेपालीहरू एकजुट र एकमत भएर सँगै अगाडि बढ्नु पर्ने विचार ब्यक्त गरे ।