अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५ | Colorodo: 03:20

युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न

बि.के राई २०७९ असार १७ गते ८:४२ मा प्रकाशित

न्यु योर्क, युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी- डिसी, मेरिल्यान्ड, भर्जिनिया, पेन्सलभेनिया) च्याप्टरको दोस्रो भेला सम्पन्न भएको छ ।
संयुक्त राज्य अमेरिकाको मेरिल्यान्डमा भएको भेलामा संस्थाको हालै सम्पन्न अधिवेशनबाट चुनिएका पदाधिकारीहरू तथा लाइफ मेम्बरहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (युक्रा)का पूर्व सभापति, जनजाति महासङ्घ अमेरिका (फिप्ना)का पूर्व सल्लाहकार, एनआरएनका पूर्व उपाध्यक्ष तथा हालका केन्द्रीय सल्लाहकार मिलन राईले साकेलाको शुभकामना दिँदै संस्थाको संरचनाको परिवर्तन गर्नुपर्ने विचार व्यक्त गर्दै सम्पूर्ण किरातहरू अझै एकृकित हुँदै मजबुत एकता निर्माण गर्नु पर्ने सुझाए। उनले संस्थामा हुने विगतका विभाजनहरूलाई सदाको लागि अन्त्य गरौँ भन्दै हिजो जे भयो त्यसबाट सिकेर पुनः त्यस्तो गल्ती दोहोर्‍याउनु नहुने बताए।

उनले हाम्रो चाडपर्व, संस्कार र संस्कृतिहरू हाम्रो पहिचानसँग जोडिएकाले यसको संरक्षण र संवर्धन गर्नु हाम्रो कर्तव्य र जिम्मेवारी भएको भन्दै त्यसका लागि एकजुट हुनुको विकल्प नभएको बताए ।

हामी नेपाली ग्लोबल न्यु योर्क च्याप्टरका अध्यक्ष ध्रुव कुँवरले साकेलाको शुभकामना दिँदै संस्थाका दोस्रो अधिवेशनबाट चुनिएका पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना दिए ।

अध्यक्ष कुँवरले नेपाल र नेपालीहरूले मनाउने सबै चाडपर्वहरू सबै नेपालीहरूको भएकोले यथासम्भव सबै नेपालीहरूले सहकार्य गरेर सौहार्दपूर्ण ढङ्गले मनाउनु पर्नेमा जोड दिए। उनले आफूले नेतृत्व गरेको हामी नेपाली ग्लोबलले सबै नेपालीको चाडपर्व, संस्कार र संस्कृतिहरूको संवर्धन र संरक्षणका लागि तयार भएको बताए ।

युक्राका केन्द्रीय उपाध्यक्ष केशव राईले साकेलाको शुभकामना दिँदै चाँडै अमेरिकाका विभिन्न स्थानमा यहाँका राज्यसँग वार्ता गरेर साकेला थान स्थापना गर्ने बताए। उनले जुलाई १० मा न्यु योर्क राज्यमा हुने साकेलाको निम्तो समेत दिए ।

त्यस्तै, कार्यक्रममा युक्रा न्यु योर्क च्याप्टरकी अध्यक्ष ममता खालिङ राईले साकेलाको शुभकामना दिँदै जुलाई १० मा न्युयोर्कमा हुने साकेला कार्यक्रममा उपस्थितिका लागि अमेरिकामा रहेका सम्पूर्ण नेपालीलाई निम्तो दिइन् ।

युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) साकेला २०२२ कार्यक्रमको सभापतित्व डिएमभिपी च्याप्टरकी अध्यक्ष समिता राईले गरेकी थिइन्। कार्यक्रममा उपाध्यक्षमा डा. भविराज राईले स्वागत मन्तव्य दिँदै सबै उपस्थित अतिथिहरूलाई निम्तो स्विकारेर उपस्थित भएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा युक्राका केन्द्रीय समितिका उपाध्यक्ष कुसुम राई थिए। त्यस्तै, विशेष अतिथिका रूपमा नक्छुंग पदम चम्लिङ्ग, डा. सेर बहादुर लिम्बु, विष्णु देवान, हामी नेपाली ग्लोबल न्यु योर्क च्याप्टर, युक्रा न्यु योर्क च्याप्टर तथा कलाकार सङ्घ अमेरिकाकी वरिष्ठ उपाध्यक्ष वसन्ती राई तथा पत्रकार द्वय सन्तोष राई र शान्ति राज राई थिए ।

सो अवसरमा युक्राका केन्द्रीय उपाध्यक्ष केशव राईले बालबालिकाहरूलाई साकेला सिली सिकाएका थिए । कार्यक्रममा विभिन्न सङ्घ-संस्थाबाट आएका पदाधिकारिहरुले शुभकामना व्यक्त गरेका थिए। साथै उक्त कार्यक्रममा पत्रकारहरूलाई सम्मान गरिएको थियो ।

डिएमभिपीको कार्यकारी समितिमा हाल अध्यक्ष समिता राई, उपाध्यक्षमा डा. भविराज राई, महासचिव सरिता राई र कोषाध्यक्षमा प्रितम राई रहेका छन्। त्यस्तै, सदस्यहरूमा विवेक राई, रुरु राई र सुमी राई रहेका छन्। यस च्याप्टरको सल्लाहकारमा मिलन राई रहेका छन् ।