अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३१ | Colorodo: 02:46

भाषामा विकृति फैलिनुमा सरकार दोषी : अध्यक्ष अवस्थी

बिआरटीनेपाल २०७९ असार २२ गते ७:०२ मा प्रकाशित

भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले नेपाली भाषा विकृत बन्नुमा सरकार दोषी रहेको बताउनुभएको छ ।भाषामा विकृति फैलिनुमा सञ्चारमाध्यम दोषी देखाइए पनि उनीहरुलाई दिशा निर्देश गर्न नसक्नु सरकारको कमजोरी रहेको स्पष्ट गर्नुभयो । उहाँले आमसञ्चार माध्यममा अंग्रेजीमा शीर्षक राख्ने प्रवृत्ति बढ्दै जानु दुखद् रहेको बताउनुभयो ।

अध्यक्ष अवस्थीले अंग्रेजी भाषालाई नेपालको संविधानले नचिनेको भन्दै आवश्यक भन्दा बढी स्थान दिइने गरेको बताउनुभयो । भाषा एउटाको विकल्पमा अर्को नआउने भन्दै उहाँले नेपाली भाषालाई एउटै र शुद्ध बनाएर अघि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले आयातीत भाषाका कारण नेपाली भाषा ओझेलमा परिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगत उपाध्यायले आगन्तुक शब्दका सन्दर्भमा कुनैपनि भ्रम पाल्न जरुरी नरहेको उल्लेख गर्नुभयो । उहाँले आजभन्दा ४० वर्षअघि नै संस्कृबाट आएका शब्द बाहेकका आगन्तुक शब्दलाई ह्रस्व लेख्ने सहमति भइसकेको बताउनुभयो । सदस्यसचिव उपाध्यायले नेपालीमा ८० प्रतिशत बढी शब्दहरु संस्कृत भाषाबाट आएकोले त्यसलाई तत्सम शब्दका रुपमा स्वीकार्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।

सदस्यसचिव उपाध्यायले हरेक रेडियो, टेलिभिजन, पत्रपत्रिका, शिक्षा आयोग, प्रेस काउन्सिल, भाषा आयोग, नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय र शिक्षा मन्त्रालयको राष्ट्रिय पाठ्यक्रम विकास केन्द्रहरुले एउटै भाषा प्रयोग गर्ने गरेर शैली पुस्तक बनाउनु आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू