अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२३ | Colorodo: 01:38

राजनीतिक स्थायित्व र विकासका लागि गरिएको गठबन्धन मूलभूतरुपमा सफल – अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७९ जेठ ७ गते ६:०० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धन मूलभूतरुपमा सफल भएको बताउनुभएको छ ।उहाँले मध्यपुरथिमीमा गठबन्धनको मर्मलाई पक्डिन सफल देखिएको भन्दै अगाडि थप्नुभयो, “हामीले गठबन्धनबाट देशको राजनीतिमा परिवर्तन वा स्थायित्व र विकासको नयाँ यात्रा शुरु गर्न खोजेको हो, मूलभूतरुपमा गठबन्धन सफल भएको हो ।”

उहाँले यो गठबन्धनलाई आउने प्रदेश र सङ्घीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने सङ्कल्प गरिएको र त्यसमा गठबन्धनमा रहेको दल दृढ रहेको बताउनुभयो । मध्यपुरथिमि नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट विजयी उम्मेदवारलाई आज आफ्नै निवास खुमलटारमा बधाई दिँदै उहाँले गठबन्धनलाई निरन्तर अगाडि बढाउने बिश्वास दिलाउनुभयो ।

उहाँले विजयलाई विकास, समृद्धि र जनताको हितमा बदल्ने सङ्कल्प गर्ने बेला भएको उल्लेख गर्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “निर्वाचन अघि पनि जितेर आउने प्रतिबद्धता व्यक्त गरेर जानुभएको थियो, अहिले जितेर आउनुभएकामा तपाईहरु सबैलाई बधाई र कार्यकालको शुभकामना छ ।”

उहाँले मध्यपुरथिमि भक्तपुरको एउटा ऐतिहासिक नगर भएको उल्लेख गर्दै जनताको पक्षमा हुने काम कारबाहीको प्रभाव र असर सिङ्गो भक्तपुरमा पर्ने बताउनुभयो । मध्यपुरथिमिमा निर्वाचित जनप्रतिनिधिबाट राम्रो काम भए एकाधिकार भएर बस्नेलाई पनि भोलिका दिन चुनौति दिन सकिने उहाँको धारणा थियो । “त्यहाँका जनताको विकास निर्माण, शिक्षा स्वास्थ्य रोजगारी, सफाइ सूचनालगायतका तपाईंहरुका काम कारबाहीको प्रभाव सिङ्गै भक्तपुर, उपत्यका र देशैभरि पनि सन्देश दिने स्थानमा तपाईहरु आउनुभएको छ”, अध्यक्ष प्रचण्ड भन्नुभयो । उहाँले विजयी जनप्रतिनिधिलाई अब राम्रो काम गर्ने चुनौति रहेकातर्फ सचेत पनि गराउनुभयो ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरी प्रमुखमा विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का मदन सुन्दर श्रेष्ठले ११ हजार ३५ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १२ हजार १०२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी उत्तरा नेपालले आठ हजार ९८३ मत प्राप्त गर्नुभएको थियो । कूल नौ वडा रहेको सो नगरपालिकामा ४१ हजार ८४२ मतदाता थिए । कूल १७ मतदान केन्द्र रहेको मध्यपुरथिमीमा गठबन्धनका तर्फबाट विजयी उम्मेदवारले जनपक्षीय काम गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू