अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०७ | Colorodo: 21:22

नेटोमा सामेल हुन आवेदन दिने फिनल्यान्डकाे ऐतिहासिक निर्णय, रुस–नेटो तनाव झनै बढ्ने सङ्केत

बिआरटीनेपाल २०७९ वैशाख २९ गते ३:३० मा प्रकाशित

फिनल्यान्डले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्य बन्नका लागि आवेदन दिने निर्णय गरेको छ । फिनल्यान्डका राष्ट्रपति साउली निनिस्टो र प्रधानमन्त्री सान्ना मारिनले संयुक्त विज्ञप्ति निकालेर नेटोको सैन्य गठबन्धनमा सामेल हुन आवेदन दिने निर्णय भएको बताएका बीबीसीले जनाएको छ ।

रुसले युक्रेनमा गरेको आक्रमणपछि फिनल्यान्डले यो निर्णय लिन बाध्य भएको विज्ञप्तिमा उल्लेख छ । दोस्रो विश्व युद्धपछि फिनल्यान्डले कुनै पनि गठबन्धनमा सामेल नहुने तटस्थताको नीति लिए पनि अहिले निकै ठूलो निर्णय लिन लागेको खबरमा उल्लेख छ । रुसले नेटोमा आबद्ध नहुन फिनल्यान्डलाई पटक पटक चेतावनी दिँदै आएको छ ।

रुस र फिनल्यान्डबीच १३ सय किलोमिटर लामो सीमा रहेको छ । आफ्ना छिमेकी देश नेटोमा संलग्न हुँदा राष्ट्रिय सुरक्षामा ठूलो जोखिम निम्तिने रुसको चिन्ता छ । यदि फिनल्यान्डले नेटोको सदस्यता लिएमा नेटो–रुस सीमा दोब्बर हुनेछ । यसको अर्थ नेटोको सीमा क्षेत्रबाट रुसको राजधानी सेन्ट पिटर्सबर्ग पुग्न जम्मा दुईदेखि तीन घण्टा लाग्ने खबरमा उल्लेख छ ।

फिनल्यान्डसँगै रुसको अर्को छिमेकी स्विडेनले पनि नेटोको सदस्य प्राप्तिका लागि आवेदन दिने तयारी थालेको छ । नेटो सैन्य गठबन्धन सन् १९४९ मा स्थापना भएको हो । १२ वटा देशबाट सुरु भएको नेटो गठबन्धनमा अमेरिका, बेलायत, फ्रान्ससहितका शक्तिशाली ३० वटा देश सदस्य रहेका छन् । नेटो सदस्यमा कुनै देशमा आक्रमण भएमा सबै देशले संयुक्त प्रतिरोध गर्ने नीति रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू