अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५५ | Colorodo: 10:10

सरकारी सम्पत्ति फिर्ता ल्याउन नसके एक ‘सेकेन्ड’ पनि कुर्सीमा बस्दिनँ : मन्त्री आले

बिआरटीनेपाल २०७८ माघ २८ गते ७:०२ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तर्गतको अतिक्रमणमा परेका सरकारी सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने बताउनुभएको छ ।  शुक्रवार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले यस्ताे बताउनुभएकाे हाे । सरकारकाे दोहन भएको सम्पति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको उहाँले बताउनुभयो ।

विगतदेखि नै सरकारी जग्गाहरूमा अतिक्रमण भइराखेको भए पनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै आफूले फिर्ता गराएरै छाड्ने मन्त्री आलेले दाबी गर्नुभयाे । पदमा बसुन्जेल इमानदारपूर्वक देशका लागि काम गर्ने मन्त्री आलेले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारी नियुक्ति पाएका कर्मचारीले अन्य व्यक्तिसँग बसेर सेटिङ गरेको भेटिएमा सह्य नहुने चेतावनी दिनुभयो ।

नेपालका क्यासिनोहरूले विगतमा मन्त्रीसँग सेटिङ गरेर कर नतिर्ने गरेको भन्दै उहाँले अहिले मन्त्रालय कर उठाउन लागेको बताउनुभयो । आफूले राम्रो काम गरिरहे पनि केही सञ्चारमाध्यम भने आफ्नो विरुद्धमा लागेको भन्दै उहाँले गलत समाचारमा विश्वास नगर्न आग्रह गर्नुभयो । उहाँले मन्त्रालयमा परिवर्तन देखिने गरी काम गर्न निर्देशन पनि दिनुभयो ।

मन्त्री आलेले पुँजीगत खर्चलाई वृद्धि गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो । पर्यटन मन्त्रालयको पुँजीगत खर्च कम छ भनेर शिर निहुराउनुपर्ने अवस्था आउन नदिने गरी काम गर्न उहाँले निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू