अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 15:28

पूर्वअध्यक्ष कमल थापालाई पार्टीमा फर्किन राप्रपाको आव्हान

बिआरटीनेपाल २०७८ माघ २७ गते ६:२६ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी बैठकले पार्टी परित्याग गरेका पूर्व अध्यक्ष कमल थापालाई पार्टीमा फर्किन आव्हान गरेको छ । बिहीबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारीको बैठकले पार्टी परित्याग गरेका पार्टीका पूर्व अध्यक्ष कमल थापालाई आफ्नो निर्णयमा पुनर्विचार गरी पार्टीमा स–सम्मान फर्किनका लागि आव्हान गरेको हो ।

पूर्वअध्यक्ष थापाले उठाएका विषयहरूमा पार्टी छलफल गर्न तयार भएको र पदाधिकारी बैठक समेत बोलाइसकिएको अवस्थामा पार्टी परित्याग गर्नुले उहाँले समस्या समाधानमा चाहाना नराख्नुभएको धारणा बैठकमा व्यक्त भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो ।राप्रपाले पूर्व अध्यक्ष थापाले पूर्ववत् निर्णय पुर्नविचार गरी पार्टीमा सक्रिय हुने आशा राखेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

बैठकले पार्टीको संगठनलाई सुदृढ र क्रियाशील तुल्याउँदै स्थानीय तहको निर्वाचनमा निर्वाचन हुने सबै तहमा उम्मेदवार उठाउने निर्णय गरेको छ । देशव्यापी रूपमा प्रशिक्षण सञ्चालन गर्ने तथा हिन्दू राष्ट्र र राजसंस्थाको विषयमा जनतालाई जागरुक गराउन देशव्यापी रूपमा कोणसभा र घरदैलो अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले नवराज सुवेदीको संयोजकत्वमा प्रवक्ता भक्तिप्रसाद सिटौला, वरिष्ठ अधिवक्ता राजु बस्नेत सदस्य रहनुभएको तीन सदस्यीय अनुशासन समिति गठन गरेको छ । समान विचार भएका व्यक्ति, समूह वा दलसँग पार्टी एकता अथवा सहकार्य गर्ने नीति पार्टीको रहेको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले पार्टी एकताको प्रयास भइरहेको र सो प्रयासलाई निरन्तरता दिने निर्णय भएको बताउनुभयो । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक फागुन ११ गते काठमाडौंमा बोलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू