अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३ | Colorodo: 02:38

प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी सक्षम : प्रधानमन्त्री

बिआरटीनेपाल २०७८ माघ ९ गते ६:४७ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बल नेपाल सक्षम रहेको बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपालको २१ औँ  स्थापना दिवस समारोहलाई आज राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सशस्त्र प्रहरीले नेपाल सरकारबाट निर्दिष्ट भूमिकालाई कुशलतापूर्वक निभाएकामा प्रशंसा पनि गर्नुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “मुलुकमा सङ्कट आउँदा, असमान्य परिस्थितिमा  विनाशकारी भूकम्प तथा जुनसुकै विपद्का बेला र कठिन परिस्थितिका बाबजुद उद्धार, राहत एवं सुरक्षा चुनौतीको सामना गरेको छ, आफ्नो भूमिकालाई कुशलतापूर्वक निभाउनु प्रशंसनीय छ ।”

उहाँले सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले खेलेको भूमिका पनि महत्वपूर्ण रहेको बताउनुभयो । क्षमता सीप विकास, सङ्गठन सुदृढीकरण र वृत्तिविकासमा नेपाल सरकार सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आवश्यकताको पहिचान गरी अघि बढ्न पनि सशस्त्र प्रहरीलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले शान्तिसुरक्षा कायम गर्न दिएको जिम्मेवारी पूरा गर्न सफलता मिलोस् भनी शुभकामना पनि दिनुभयो। उहाँले आम नागरिकप्रतिको विश्वास बढाउँदै सुशासन कायम गराउनका लागि सुरक्षित वातारण निर्माण गर्न र भ्रष्टाचारको शून्य सहनशीलतालाई अक्षरश पालना गर्दै जनतको शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकार रक्षा गर्न सक्ने गरी प्रभावकारी सुरक्षाको वातावरण मिलाउन निर्देशन पनि दिनुभयो ।

उहाँले नेपाल सरकारको लक्ष्य पूरा गर्न थप सिर्जनशीलताका साथ आफ्नो उत्तरदातित्व पूरा गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । मुलुकको पहिलो, दोस्रो संविधानसभा निर्वाचन र सङ्घीय निर्वाचनमा सशस्त्र प्रहरीले अहम् भूमिका खेलेको स्मरण गर्दै उहाँले आगामी तीनै तहका निर्वाचन स्वच्छ, निष्पक्ष, मर्यादित र पारदर्शी ढङ्गले सम्पन्न गराउन सशस्त्र प्रहरीले विगतमा झैँ महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू