अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 08:51

पोखराको लेकसाइडमा आयोजना हुने सडक महोत्सवको तयारी पूरा, सडकमै खोपको व्यवस्था

बिआरटीनेपाल २०७८ पुष १४ गते ८:१२ मा प्रकाशित

पोखराको लेकसाइडमा बर्सेनि आयोजना हुने सडक महोत्सवको २३ औं संस्करणको तयारी पूरा भएको छ। रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल ९रेबान०को आयोजनामा मंगलबारदेखि तीन दिनसम्म उक्त महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ। ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा कोरोनाविरूद्धको खोप समेत लगाइने भएको छ।

गण्डकी सरकारसँग सहकार्य गरेर जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था गरेको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिनुभयो । ‘सडक महोत्सवमा सहभागी ५ सय जना जतिलाई खोप लगाउने व्यवस्था मिलाएको र महोत्सवमा सहभागी सबैलाई मास्क लगाउन र स्वास्थ्य मापदण्ड पालना गर्न भनिएको उहाले बताउनुभयो ।

सडक महोत्सवमा लेकसाइडको शहिदचोकदेखि खहरे चोकसम्म ३ किलोमिटर क्षेत्रमा सवारी साधन चलाउन निषेध गरिएको छ।लेकसाइडका स्थानीय व्यवसायीले सडकमै खानाका परिकार पस्कने र स्थानीय झाँकी तथा संस्कृति र सांगीतिक कार्यक्रम आयोजना हुने महोत्सव संयोजक नरेश भट्टराइले बताउनुभयो ।

महोत्सवमा सातै प्रदेश र गण्डकीका ११ वटै जिल्लाबाट आ(आफ्नो पहिचान झल्कने सांस्कृतिक प्रदर्शनी हुने आयोजकले जनाएको छ ।कोरोना भाइरसको महामारी आउनुअघि लगातार ५ दिनसम्म सञ्चालन हुने महोत्सव गत वर्षदेखि ३ दिनमा झारिएको हो। पोखराको पर्यटनमा ‘अफ सिजन’ मानिने अंग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सव सञ्चालन गरेर व्यवसाय चलायमान बनाउन उक्त महोत्सव आयोजना गरिँदै आएको आयोजकले जनाएको छ।

यस वर्षको महोत्सवमा भारतलगायत अन्य देशबाट आउने पर्यटकले होटलमा बास बस्नुपर्दा २४ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट र खोप लगाएको कार्ड देखाउनुपर्नेछ। महोत्सवमा नेपाली हस्तकला र उत्पादनको प्रदर्शनीलाई विशेष जोड दिएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले बताउनुभयो । महोत्सवको उद्घाटन आउँदो सोमबार गृह मन्त्री बालकृष्ण खाणले गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू