अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

आर्थिक पुर्नउत्थानको क्रममा मूल्यवृद्धि स्वाभाविक : गभर्नर अधिकारी

बिआरटीनेपाल २०७८ पुष ७ गते ६:२८ मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक पुर्नउत्थानको क्रममा मूल्यवृद्धि स्वाभाविक भएको बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको अन्तरक्रियामा गभर्नर अधिकारीले आर्थिक पुर्नउत्थानका क्रममा मुद्रास्फितीमा दबाब सिर्जना हुने बताउनुभएको हो । आर्थिक पुर्नउत्थानका क्रममा विश्वभर नै मुल्यवृद्धि भइरहेको भन्दै उहाँले नेपालको औसत मुद्रा स्फिती ६ दशमलव ५ प्रतिशतको हाराहारीमा पुग्ने बताउनुभयो ।

गभर्नर अधिकारीले बढ्दो आयातले बैंकको लगानी आयातमा गएको र सो कारण बैंकको कर्जा प्रवाह अत्यधिक हुँदा त्यसको प्रभाव बजारमा तरलता सिर्जना भएको गभर्नर अधिकारीको भनाई छ । अहिले बजारमा १ सय अर्ब निक्षेप संकलन हुँदा ४ सय ३५ अर्ब कर्जा प्रवाह भएको भन्दै उहाँले बजारमा कर्जा निक्षेपको तालमेल नमिलेको बताउनुभयो । कर्जा निक्षेप अनुपात व्यवस्थापन गर्न दिर्घकालीन रुपमा कस्ता रणनीति अपनाउने सो बारे बैंकले आवश्यक गृहकार्य गरिरहेको गभर्नर अधिकारीले बताउनुभयो ।

कोभिड अगाडीको तुलना गर्दा ब्याजदर र रेमिटयान्समा फरक नभएको भन्दै उहाँले विदेशी संञ्चिती रकम कम गर्न आयातमा कडाई गरिएको बताउनुभयो । अहिले साढे ७ महिनाको वस्तु तथा सेवा आयात धान्ने संञ्चिती रहेकोले आत्तिनुपर्ने अवस्था नआएको उहाँले बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका अनुसार पुस ६ गतेसम्म १ सय १६ अर्ब निक्षेप संकलन हुँदा ४ सय ३८ अर्ब कर्जा प्रवाह भएको छ । यस्तै गत वर्षमा दैनिक साढे ५ अर्बको आयात हुने गरेकोमा यस वर्ष सो आयातमा वृद्धि भई सवा ६ अर्ब सम्मको वस्तु आयात हुँदा व्यापार घाटा बढिरहेको राष्ट्र बैंकले जनाएको छ । यो बर्ष सबैभन्दा उच्च पेट्रोलियम पदार्थ र कच्चा पदार्थ आयात भएको छ ।

प्रतिमहिना २० अर्बको निर्यात भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू