अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३८ | Colorodo: 05:53

बजेटको तीस प्रतिशत रकम पुसभित्र खर्च गरिसक्न अर्थमन्त्री शर्माको निर्देशन

बिआरटीनेपाल २०७८ पुष २ गते ७:३६ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिनुभएको छ । पुँजीगत खर्च बढाउने सम्बन्धमा शुक्रबार अर्थमन्त्रालयमा गरिएको अन्तरमन्त्रालय छलफलमा उहाँले पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको उल्लेख गर्दै विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न ताकेता गर्नुभयो ।

बजेट खर्चको चौमासिक समीक्षा गर्दा खर्च हुन नसकेको भेटिए रकमान्तर गरिने चेतावनी दिँदै उहाँले आर्थिक वर्षको अन्तिममा बजेट निकास गर्ने परिपाटी अन्त्य गर्ने दृढता व्यक्त गर्नुभयो । समयमै खर्च नहुने स्थिति उत्पन्न भए प्रदेश तथा स्थानीय तहलगायत खर्च हुने स्थानमा बजेट स्थानान्तरण गरिने उहाँले बताउनुभयो ।

भिन्न प्रसङ्गमा मन्त्री शर्माले अर्थ मन्त्रालयमा फाइल आएको तीन दिनभित्र त्यसको जवाफ पठाउन निर्देशन दिनुभयो । प्रशासनिक झमेला र ढिलासुस्ती हुन नदिन सबैलाई सचेत तुल्याउँदै उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा, खानेपानीमन्त्री उमाकान्त चौधरीलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू