अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५६ | Colorodo: 01:11

एमाले अध्यक्ष ओली सुध्रिँदैनन्, एमाले प्राईभेट कम्पनी – माधवकुमार नेपाल

बिआरटीनेपाल २०७८ मंसिर २५ गते ७:२८ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेलाई केपी ओलीले प्राइभेट कम्पनी बनाएको बताउनुभएको छ । बुटवलमा समाजवादी प्रेस संगठनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुध्रिने सम्भावना नरहेको बताउनुभयो ।

नेपालले ओलीलाई हिटलरसँग तुलना गर्दै भन्नुभयो, ‘हिटलरलाई आफ्नै श्रीमतीले त सुधार्न सकिनन्, अरूले कसरी सुधार्न सक्छन्? एमालेमा पनि ओलीको अवस्था त्यस्तै देखेर विद्रोह गर्नुपरेको हो।’ नेपालले ओली सुध्रिने सम्भावना नदेखेर नै आफूहरुले विद्रोह गरेको बताउँदै ओलीले कम्युनिष्ट आन्दोलन नै संकटमा पारेको स्पष्ट पार्नुभयो । कम्युनिष्ट आन्दोलन बचाउन एमालेभित्रका सच्चा कम्युनिष्ट ओलीको भ्रमबाट मुक्त हुनुपर्ने उहाको ठहर थियो ।

नेता नेपालले चितवन महाधिवेशनले आफूहरूको विद्रोहको औचित्य पुष्टि गरेको बताउनुभयो । अध्यक्ष नेपालले पाँचदलीय गठबन्धन राष्ट्रियसभा चुनाव र उपनिर्वाचनसम्म कायम रहने बताउँदै स्थानीय चुनाव वैशाखमा गर्ने वा तीनै तहको चुनाव एकैपटक गर्ने भन्ने विषयमा दलहरुबीच छलफल गरेर निष्कर्षमा पुग्ने बताउनुभयो ।

कांग्रेसको महाधिवेशनपछि सरकारका कामले गति लिने भन्दै नेता नेपालले आफ्ना मन्त्रीहरूलाई गर्न सकिने काममा मात्र केन्द्रित भई जनताले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिएको बताउनुभयो । अहिलेको प्रमुख अन्तरविरोध राजसंस्था नभई दलाल नोकरशाही पुँजीवाद भएको अध्यक्ष नेपालको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू