अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५३ | Colorodo: 05:08

भुइँमान्छे र पैताला

विक्रमपवन परियार २०७८ कार्तिक २९ गते २०:१२ मा प्रकाशित

साँझमा घाम बिलाएजस्तै
किन बिलाएकाे हाे आफ्नै पैतालाकाे चित्र ?
जसलाई देखेपछि –
झलझलि याद आउँछ आफ्नै अतित ।

बेलाबेलामा सरकार आउँछ
र खाँदाखाँदैकाे गाँस खाेसिदिन्छ
हुरी आउँछ – रिसकाे आवेग देखाउँछ
र सरकारी रबाफ देखाउँदै मेटिदिन्छ
मेट्नै नहुने मेराे पैतालाकाे डाेब ।

थाहा छैन –
किन यसरी बारम्बार –
आफ्नै छायाकाे सम्झना आउँछ
किन मध्यरातमा ढकढक्याउछ – बन्द ढाेका
किन मेराे फुटेकाे कुर्कुचा देखेर –
डराउँदै भाग्छ जूनकाे कलिलाे उज्यालाे ?
साेच्छु –
भुइँमान्छेकाे कथा लेख्दालेख्दै
किन बिचमै राेकियाे कलम ?

मन्दिरमा चढाउन मिल्दैन – बाटाेमुनिकाे फूल
कसले भनिदिएकाे हाे ?
आफ्नै पैतालाले ठिंग्ग उभिएकाे मान्छे
स्वयं किन आफ्नै धरातल बिर्सन्छ ?

मेराे आवाज – कसले सुनिदिन्छ ?
मेराे पैताला देखेर – कसले देश सम्झन्छ ?
कसले सुनिदिन्छ ? – भुइँमान्छेकाे कथा
कसले मान्छे भनिदिन्छ ? – मेराे अनुहार हेरेर
याे एकचाैथाई जिन्दगी – कसले बुझिदिएकाे छ ?

ए ! सरकारकाे मान्छे – भनी देऊ
जीवनमा तिमीले कति पटक
आफ्नै पैताला टेकेर उभियाै ?

****

रामेछाप

प्रतिक्रिया