अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

अनेसासले गर्‍यो “एक डलर अभियान” को घोषणा

बिआरटीनेपाल २०७८ असोज २० गते ६:२२ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले “साहित्यका लागि एक डलर” अभियानको घोषणा गरेको छ । भाषा, साहित्य, कला र संस्कृतिको विकास, विस्तार तथा विश्वव्यापीकरणको उद्देश्य राखेर यस अभियानको घोषणा गरिएको हो ।

“साहित्यिक संस्थाले आर्थिक रूपमा आफूलाई आफैँले सक्षम बनाउँदै लैजानुपर्ने आजको आवश्यकता हो ।”, केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष कृष्ण गिरीले भने, “यो अभियानले अनेसासलाई दर्बिलो तथा सक्षम बनाउँछ भन्ने हाम्रो विश्वास रहेको छ ।” साथै, उनले यो एक स्वैच्छिक अभियान रहेको पनि जनाएका छन् । यस अभियान अन्तर्गत आफ्नो इच्छाले हरेक महिना अमेरिकी एक डलर बराबरको रकम अनेसासलाई प्रदान गर्न सकिनेछ ।

सहयोग रकमलाई पारदर्शी बनाउनका निम्ति स्पष्ट आर्थिक कार्यविधि बनाएर बढ्ने कुरा संस्थाबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कोषाध्यक्ष कृष्ण गिरीको संयोजकत्वमा गोपेस मास्के (अमेरिका ), बिहान तिमिल्सिना ( स्पेन ), किशोर श्रेष्ठ ( नेपाल ), चन्द्र तिवारी (अस्ट्रेलिया ) सदस्य रहेको केन्द्रीय आर्थिक समिति समेत गठन गरेको बताइएको छ ।

त्यस्तै, अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’ ले अनेसासको वर्तमान कार्यसमिति व्यवस्थित र दीर्घकालिक योजनासहित अगाडि बढेको बताए । ‘महिनाको एक डलर अभियानले अनेसासलाई र विशेष गरी समग्र नेपाली भाषा साहित्य जगतलाई महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ ।’
यस अभियानमा जोडिन चाहनुहुनेले संस्थाको खाता ( Wells Fargo Bank, AC holder: International Nepali Literary Society AC No. 2000031767873 ) मा वा संस्थाको वेबसाइट अन्तर्गत पे-पल मार्फत महिनाको एक डलर दाखिला गर्न सक्नेछन् । कारोबारको सहजताको लागि वार्षिक रकम एकमुस्ट सहयोग गर्न सकिने व्यवस्था पनि रहेको छ ।

अनेसास नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकास तथा विश्वव्यापीकरण गर्ने हेतुले आजभन्दा ३० वर्षअघि स्थापना भएको संस्था हो । हाल, विश्वभरका स्रष्टाहरूको साझा मञ्चका रूपमा यस संस्थाले आफूलाई उभ्याएको छ । अनेसासको विश्वभरमा पाँच दर्जनभन्दा बढी च्याप्टरहरू सक्रिय छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू