अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 18:21

कोलोराडोमा नेपाल एम्बेसीको दुई दिने घुम्ती कन्सुलर सेवा सम्पन्न

बिआरटीनेपाल २०७८ भदौ २८ गते ९:२९ मा प्रकाशित

कोलोराडो,  नेपाली राजदूतावास वासिङ्टन डिसीको वेष्ट मिनिस्टर, कोलोराडोको फ्रन्ट रेन्ज कम्युनिटी कलेजमा भएको दुई दिने घुम्ती कन्सुलर सेवा शिविर हिजो आइतबार सम्पन्न भएको छ । कोलोराडोमा रहेका नेपाली संस्थाहरू नेपाली घर, बिआरटी नेपाल डट कम र एनआरएन कोलोराडो च्याप्टरको संयुक्त आयोजनामा सम्पन्न शिविरबाट पासपोर्ट रिन्युमा ४३ जना वारेसनामामा ६ जना भिसामा २ जना ट्राभल डकुमेन्टमा २ जना तथा एनआरएन कार्डमा ६६ जना गरेर जम्मा ११९ जनाले प्रत्यक्ष सेवा लिएका छन् । कोलोराडाेका विभिन्न सहरहरू लगायत वायामिङ, सान फ्रान्सिस्को, नेब्रास्का स्टेटबाट पनि घुम्ती सेवा लिन सेवाग्राही आएका थिए ।

त्यस मध्ये ४ जनाको एनआरएन कार्ड बनाउँदै गर्दा कार्ड सकिएकोले एम्बेसीले डिसीबाट हुलाक मार्फत पठाउने भएको जानकारी द्वितीय सचिव उत्तम घिमिरेले बिआरटी नेपाललाई बताएका छन् । जसबाट जम्मा ११९+४ गरेर  १२३ जनाले सेवा लिएका छन् ।

नेपाली राजदूत महामहिम डा.युवराज खतिवडाको नेतृत्वमा आएको ४ सदस्सीय टोलीमा द्वितीय सचिव उत्तम घिमिरे, तृतीय सचिव राधा रमण दुवे र कार्यालय सहायक रामजी दाहालले शनिवार र आइतबार गरी दुई दिन उक्त काम सम्पन्न गरेका हुन ।

यसै गरी शनिवार कन्सुलर शिविर सञ्चालन भइरहँदा दिउसो कोलोराडोमा रहेका युवाहरूको आयोजनामा नेपालको विकासमा प्रवासी युवाको भूमिका विषयमा राजदूत खतिवडासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा स्थानीय युवाहरूले राजदूत समक्ष विभिन्न जिज्ञासा राख्दा राजदूत खतिवडाले नेपालको विकासको लागी प्रवासी युवाहरूको महत्त्वपूर्ण भूमिका रहेको र भविष्यमा पनि निरन्तर रहने आशा गर्दै मातृभूमिलाई नर्बिसन आग्रह गरेका थिए ।

त्यसै गरी शिविरको पहिलो दिन शनिवार साँझ दरबार रेस्टुरेन्टमा कोलोराडोका नेपाली व्यवसायीहरू तथा सर्वसाधारणहरूको सहभागितामा राजदूत खतिवडासँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष रामचन्द्र पन्तको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरूले राजदूत समक्ष दोहोरो नागरिकता, एमसिसी, प्रवासमा नेपाली समुदायको हकहित र विकासको लागी राजदूतको भूमिका लगायत विभिन्न जिज्ञासाहरू राखेका थिए । कार्यक्रममा सहभागीहरुको जिज्ञासालाई सम्बोधन गर्दै राजदूत खतिवडाले प्रवासमा रहेका नेपालीहरूको रेमीट्यान्सले नेपालको विकासमा ठुलो टेवा पुगेको साथै नेपालमा लगानी गर्ने वातावरण बन्दै गएको भन्दै यहा सिकेको सिप, ज्ञान र कमाएको धन नेपाल र नेपालीको स्तर उन्नतिमा परिचालन गर्न सबैसंग आग्रह गरेका थिए । उनले नेपाल सरकारको स्थानीय स्तरमा नै गएर सेवा दिने नीति अनुसार यो घुम्ती कन्सुलर सेवा आयोजना भएको बताउँदै नेपालीलाई छिटो छरितो र सर्वसुलभ सेवा दिन नेपाल सरकार लागी परेको बताएका छन् ।

कार्यक्रममा ३ वर्ष अगाडि ब्रुमफिल्ड प्रहरीद्वारा कोलोराडो राज्यको वेस्ट मिनिस्टर सहरमा अगस्त २५, २०१८ अर्थात् ९ भदौ २०७५ साझं ८:४५ बजे भएको प्रहरीद्वारा चलाइएको गोलीबाट ब्रुमफिल्ड सहर निवासी नेपाली युवा वीरेन्द्र ठकुरीको मृत्यु भएको थियो । मृतककी आमाले मेरो छोराले न्याय पाएन केस अझै अदालतमा पेन्डिङ छ यसमा मलाई तपाइहरू सबै जनाको सहयोग चाहिएको भन्दै सहयोगको अपेक्षा गरेकी थिइन ।

कार्यक्रमलाई नेपाली घरका अध्यक्ष लछुमन राना, एनआरएनए केन्द्रीय उपाध्यक्ष विकास उप्रेती, वासिङ्टन सियाटलबाट महा-बाणिज्यदूत एसी शेर्पा, एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष सोफीन थापा, आइसिसी मानार्थ सदस्य प्रकाश सापकोटा लगायतका ब्याक्तिहरुले सम्बोधन गरेका थिए ।

घुम्ती कन्सुलर सेवा शिविरको अन्तिम दिन आइतबार स्वयंसेवी सबैलाई राजदूत खतिवडाले प्रमाण-पत्र प्रदान गर्दै सबैको साथ र सहयोगले शिविर सफलताको साथ सम्पन्न भएकोमा आयोजक संस्थाहरू तथा सहभागी सबैलाई धन्यवाद दिएका थिए ।

त्यसै गरी आइतबारको कन्सुलर सेवा समाप्त पछि राजदूत तथा एनआरएन पदाधिकारीहरूलाई नेपाली सामुदायिक भवन निर्माणको लागी खरिद प्रक्रियामा रहेको भवनको अवलोकन नेपाली घरका उपाध्यक्ष जगदीशचन्द्र ढकालको संयोजनमा भ्रमण गराइएको थियो । कोलोराडोमा सबै सङ्घ संस्था र समाजसेवी दाताहरूको सहयोगमा सामुदायिक भवन प्रक्रिया अघि बढेकोमा राजदूत खतिवडाले खुसी व्यक्त गरेका थिए । उनले कोलोराडो गभर्नर जेरिड पोलिससँग पनि नेपाली कम्युनिटी घरको लागि सहयोगको अपिल गरेको भनेर जानकारी पनि दिएका थिए ।

फोटो: भरत श्रेष्ठ

 

फोटो: भरत श्रेष्ठ (Above)

Photo: Shailesh Pokharel (Down)

 

प्रतिक्रिया