अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२२ | Colorodo: 21:37

मन्त्रीलाई बोलाएर विपद्सम्बन्धी विषयमा छलफल गर्ने राज्य ब्यवस्था समितिको निर्णय

बिआरटीनेपाल २०७८ साउन ५ गते ७:३३ मा प्रकाशित

राज्य व्यवस्था तथा सुशासन समितिमा विपद् र दैविक प्रकोप सम्बन्धी विषयमा मन्त्रीलाई बोलाएर छलफल गर्ने निर्णय भएको छ । समितिको मङ्गलवारको बैठकमा सभापति शशि श्रेष्ठले यही शुक्रवार मन्त्रीलाई बोलाएर यस विषयमा छलफल गर्ने बताउनुभयो ।समितिको बैठकमा सांसदहरूले बाढी, पहिरो तथा डुबानबाट पीडित भएका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनापछिको विषयमा जनस्तरबाट गुनासो आएको बताएका थिए । कतिपय ठाउँमा सरकारको उपस्थिति नै नभएको भन्दै गृह मन्त्री बालकृष्ण खाँडलाई बोलाएर जानकारी लिन माग गरेका थिए ।

छलफलमा विपद् तथा दैविक प्रकोप सम्बन्धिका कुरामा सांसदहरूले आफ्नो धारणा राखेका थिए । सांसद दिलेन्द्रप्रसाद बडुले प्रतिवेदनमा रहेका प्रमुख बुँदा सचिवालयले उल्लेख गरेर आफ्नो भाषामा राख्न अनुरोध गर्नुभयो ।छलफलमा बोल्दै सांसद विजय सुब्बाले प्रतिवेदन आफूले पढ्न पाउने माग राख्दै अध्ययनपछि मात्रै यसमा सुझाव दिन सक्ने बताउनुभयो ।

सांसद प्रेम सुवालले समितिमा पेस भएको प्रतिवेदनमा सुझाव नपुगेको गुनासो गर्नुभयो । तीन वटै उपसमितिले बनाएको प्रतिवेदन अर्को एक समितिले हेर्दा उपयुक्त हुने उहाँको धारणा थियो ।त्यस्तै सदा सुवेदी गुरुङले मनाङ र सिन्धुपाल्चोकका प्राकृतिक प्रकोपबाट पीडितलाई अझै राहत दिन नसकेको बताउनुभयो । उहाँले राहतमा खसी देखाएर फर्सी दिने त्यो पनि आज, भोलि नभएर पर्सि भएको बताउनुभयो ।

सांसद डा. डिला संग्रौलाले उपसमितिले दिएको प्रतिवेदन स्वीकार्दै समितिका सुझावलाई प्रतिनिधि सभामा लैजाने वातावरण मिलाउन सुझाउनुभएको छ । त्यस्तै लालबाबु पण्डितले उपसमितिको विषयमा छलफल मात्रै भएको तर समितिले प्रतिवेदन तयार नगरेको बताउनुभएको छ । सुशासन समितिको बैठकमा बोल्दै पण्डितले समितिले प्रतिवेदन ड्राफ्टमा ल्याएर छलफल गर्नुपर्ने धारणा राख्नुभएको छ । प्रतिनिधि सभा पुनर्स्थापना भएपछि संसदीय राज्य व्यवस्था तथा सुशासन समितिको पहिलो बैठक बसेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू