अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

काँग्रेसको महाधिबेशनमा डिजिटल प्रबिधिको प्रयोग गरिने

बिआरटीनेपाल २०७८ साउन ५ गते ७:२२ मा प्रकाशित

नेपाली काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले जिल्लाबाटै डिजिटल माध्यमबाट मतदान गर्न मिल्ने प्रविधिको विकास गरेको छ । १४ औं महाधिवेशनलाई लक्षित गरी यो प्रविधि तयार गरिए पनि प्रयोग गर्ने वा नगर्नेबारे केन्द्रीय समितिले निर्णय गर्नुपर्ने छ । विभागका संयोजक एवं पार्टीप्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय समितिले आवश्यक ठानेमा डिजिटल भोटिङका लागि प्रविधि तयार रहेको बताउनुभएको छ ।

विभाग सचिव दिनेश थापा मगरले आज विज्ञप्ति निकालेर कोरोना महामारीका कारण भौतिक उपस्थितिमा महाधिवेशन गर्न नसकिने अवस्था आएमा जिल्लाबाटै मतदान गर्न सक्ने गरी प्रविधि तयारी अवस्थामा राखिएको जानकारी दिनुभएको छ । केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शून्यबाट शुरु गर्नुनपर्ने गरी प्रविधिको विकास गरिएको उहाँले बताउनुभयो ।

सचिव थापाका अनुसार ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशन प्रतिनिधिले मतदान गर्न सक्ने गरी प्रविधि विकास गरिएको छ । प्रविधि मार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको विज्ञप्तिमा भनिएको छ । काँग्रेसले वेवसाइटबाटै पार्टी सदस्यता लिन मिल्ने व्यवस्था गरेको छ । काँग्रेसको १४ औं महाधिवेशन भदौ १६–१९ सम्म काठमाडौंमा हुने भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू