अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

आस्था र अहम्को द्वन्द्वमा ‘पागलस्ती’

गोपी मैनाली २०७८ साउन १ गते १०:५३ मा प्रकाशित

(समालोचना)
‘पागलवस्तीको कथा नौलो छ, एकवार पढ्नुस् है ।’
‘पागलवस्तीले मदन पुरस्कार पायो, त्यो राम्रो छ ।’
‘पागलवस्ती एकदमै प्रयोगवादी उपन्यास हो ।’
‘पागलवस्तीको शैली अति राम्रो मात्र होइन, नौलो पनि रहेछ ।’

साहित्यानुरागी मेरा साथीहरूको विविध प्रतिक्रियामा ‘पागलवस्ती’ हेर्नु अघि नै मेरो कानमा उल्लिखित शब्दहरू गुन्जिरहेका थिए । के तिनमा सत्यता छ ? वा अतिशयोक्ति ? कतै पूर्वाग्रही भएर त पढिँदैन चर्चित कृति ? विविध प्रश्नहरूको दोभानमा मैले पढेको पागलवस्ती प्रतिक्रियासँग मिल्दो वा अमिल्दो भन्दा मेरा छुट्टै दृष्टिगवेश रहेछ, ममा छुट्टै अनुभूति जन्मिएछ, जुन अभिव्यक्तिको पूर्णताभन्दा एकालापको अनभिव्यक्तिमा गाढा र बृहत्तर रह्यो ।

वस्तुतः ‘पागलवस्ती’ कथा संरचनाभन्दा यसमा प्रयुक्त भाषिक नैसर्गिकता र वैचारिक उद्वेलनबिच दोलायमान छ भन्नु पर्दा मलाई सन्तोष लाग्छ । ‘यो विचार कथा हो ।’ तर यसमा धर्मक्षेत्र, कुरुक्षेत्रबाट लेखक नभागीकन ‘कि युद्ध हारेको वा जितेको’ ठोकुवा गर्नु भए झैँ निचोड भने पाइएन । यसमा युद्ध जितिएको पनि छैन र हारिएको पनि छैन । उपन्यासको सोलोडोलो वृत्ति असंपृक्त मानिस भएकाले त्यो जीवनले हार्ने जित्ने प्रश्न भन्दा नियतिको मौजुदा परिवेशलाई अंगाल्न पुगेको छ ।

यहाँका विशृङ्खलित जिन्दगीले सरलतासँग जीवनलाई युद्ध भूमिमा ओरालेको छैन, न त्यो युद्ध जित्नु वा हार्नुलाई यसको सार्थकतामा नै लिन मनसुवा राख्दछ, बरु आशक्ति र अहम्को मनोभूमिमा जटिलता वरण गरिएको छ । प्रथमतः विखण्डित मनोदशाका पात्रहरू विकृत मनोग्रन्थीलाई अहम् र निराशाका साथ स्विकार्न बाध्य छन् भने यदाकदा शून्यवादभित्र हराएको अस्तित्वको खोजी गर्न पुग्नु पनि अर्को प्रयोगमा देखा पर्दछ । अस्तित्वलाई शून्यसँग पृथक् हेरिनुपर्ने अस्तित्ववादी प्रवृत्ति पनि यसले दमित रूपमा मात्र राखेको छ ।

तर बुद्धवादी जीवन दर्शनलाई भने उजागर गर्न यहाँका पात्र सर्वत्र वकालत गर्न अभिमुख छन् । अन्तर्मुखी प्रवृत्तिले बुद्धवादी शून्यलाई थप पुष्टि दिएको छ । तर बुद्धको प्रवृत्तिले पनि बुद्धवादी शून्यलाई थप पुष्टि दिएको छ । तर बुद्धको शून्यवाद पूर्ण शुन्यता वा निराशा होइन, जीवनको बुद्धत्व सांसारिक अंशपृक्तताका साथ मुक्तिको खोजी पनि हो । आदिमाता, आदिगुरु, जमुना, प्रेममूर्ति, मैचाङ, विन्दु सवैमा जैवनिक मुक्तिको धिमा भावना माग छ, मुक्ति गवेषको सामर्थ्य छैन, वैचारिक उद्वेलन छ, निष्कर्ष छैन, नियात्रा छ, निर्दिष्टता छैन । सम्पूर्णतः दमित भावनाका सिकार यी पात्रहरू भनिए झैँ ‘पागलवस्ती’ का पागल पनि होइनन् । भिक्षुको साधना र अनागारिकाहरुको दिनचर्याले आधुनिकता पाएको छ । दिनचर्या नियमित छन्, परम्पराकै विरोधको एक परम्परा छ तर औपचारिकताले स्थान पाएको छैन । त्यसैले वैचारिक सङ्कटमा बिथोलिएका प्रशान्त–मार्था, प्रेममूर्ति जस्ता चरित्रले वैचारिक पलायनलाई अंगलेका छन्, कारणतः यो ‘पागलवस्ती’ भनिएको हुनुपर्छ । मनोदशालाई कारण–फल–शून्यता आदिसँग समान्तर लानु जीवनको जटिलताको मार्ग मात्र हो । सन्यास कुन पात्रले लिएको छ र ?

औपन्यासिक आवृत्ति पूर्णतः बृत्तात्मक विचार आवृत्ति हो । लेखकीय सफलताको शीर्षस्थता पनि यही पक्षले अंगालेको छ । ‘महत्ताहीन’ वा ‘सिरिसको फूल’ को नारी मनोदशालाई ‘पागलवस्ती’ले पुरुष हृदयसम्म पु¥याएको छ । फलतः सरुभक्त पनि झन्डै ‘कथाहीन कथा’ को प्रयोगमा देखा पर्छन् ।

उपन्यासको सबै चरित्रहरूको आआफ्नो झिनो (कथा प्रेम कथा) सँग मूल कथासँग नाता जोड्न आदिमाता–आदि गुरुसम्म आइपुग्छन् । यस प्रकार ‘उपकथाहरूको कथा संगाल्ने’ सम्भवतः प्रथम प्रयोग पनि हो यो ‘पागलवस्ती’ । यस काल्पनिक ‘बस्तीका प्रत्येक व्यक्ति परिवार वा समाजबाट परित्यक्त, लाञ्छित र अपमानित छन् ।’ कारणतः स्थिति विपर्ययबाट आजित पात्रहरू दमित इच्छा र आशक्तिका वृत्तिमा घुमिरहन्छन् । प्रशान्त अहम्का साथ घुम्छ, मार्था प्रेमको वकालतमा घुम्छिन्, दुवै जना आआफ्नै मनोदशा र विचार शृङ्खलामा अन्तर्मुखी छन् ।

समर्पण र सम्पृक्तता पहिला मार्थामा थिएन, अव प्रशान्तमा भएन । त्यसैले उनीहरू र आआफ्ना कथाहरू बापत सहायक चरित्रहरू स्वैच्छिक दुःखको ‘पागलवस्ती’ निर्माण गर्न पुग्छन् । अन्तर्मुखी चरित्रले उद्देश्यको निर्माण गर्न सकेको छैन, निर्वाण र अवसान मात्र खोज्दछ । ध्येयित मुक्त अवसान हो भन्ने कुरा पनि कृतकृत्य छैन, केवल पीडा, अपमानवोध र पश्चातापमा विभाजित छ यस बस्ती । त्यसैले यस विभाजित बस्तीमा उपन्यासकारले युद्ध नजितेका नभै जित्नु र हार्नुको दोसाधमा असमञ्जस उभिएका छन् । प्रायोजित झैँ देखिने चरित्र यसमा कतै अपवाद बन्लान् कि ?

उपन्यासकार यस बस्तीलाई ‘प्रेम र घृणाको’ बस्तीका रूपमा हेर्दछन् । उपेक्षालाई घृणा नगर्ने, समर्पणलाई वास्ता नगर्ने, अहम्लाई अहम् नमान्ने र प्रेमलाई प्रेम नभन्ने चरित्रले बौद्धिक चरमोत्कर्षमा वादविवाद भने गर्न पुग्छ । ‘संसारभरि थरिथरिका प्रेम र घृणाका कथाहरू छन् । तर सबैलाई आफ्नै कथा पर्याप्त छ ।’‘सबै प्रेम अहम्युक्त हुन्छन्, सबै अहम् प्रेमयुक्त हुँदैनन् ।’ अपेक्षा भावलाई शीर्षमा राख्ने मार्था र अहम्को व्याख्या गर्ने प्रशान्तको विभाजन भनौँ वा विषयान्तरले उपन्यासलाई प्रभावशील बनाएको छ । उपन्यासले चाहेको एउटा नयाँ जीवन दर्शन, एउटा नयाँ जीवनशैली मनोविकारले जटिल र आक्रान्त छ । अहम्पूर्ण जीवन र प्रेमपूर्ण आशक्तिको दुई किनारा आपसमा समान्तर विषयान्तर भएका छन् । ‘मान्छेको सम्पूर्ण चेतना, चाहे त्यसको सम्बन्ध ज्ञानसित होस, चाहे विज्ञानसित, अहम्पूर्ण नै हुन्छ । मान्छेको अचेतना पनि अहम्युक्त हुन्छ । …….मान्छेको जीवन सिर्फ अहम् सन्तुष्टिको खोज गर्छ–चाहे यसलाई मूल्यको खोज भनियोस्, चाहे स्वतन्त्रता र अस्तित्वको खोज भनियोस् ।’ तर मार्था मान्न तयार छैनन् र प्रेम समर्पणमा अघि बढ्छिन् मनोलापमा भए पनि । तर आदिगुरु जमुनालाई धन्यवाद दिन्छ । ‘उसले प्रेम गरेर घर गृहस्थीको झन्झटमा फस्न चाहने एक युवकलाई थुकी थुकी ज्ञान मार्गमा धकेलिदिई ।’ मनौ प्रेम सरलता र भोगिदो जीवन झन्झट मात्र हो । सिर्जनालाई बौद्धिक व्यङ्ग्य गर्ने प्रशान्तको अहम् निराशाको उपज हो । त्यसैले उ जीवनको युद्धलाई जटिलतासँग हेरी पलायन भैदिन्छि । तर मार्था उनका यस भावनालाई असहमति जनाउँछिन्–‘प्रेमभन्दा ठुला कुरा केही हैन भन्ने कुरामा मलाई शङ्का छ्रैन । नारी–पुरुष सम्बन्धको जटिल गणित नमिलेर सफल हुनुपर्ने प्रेमकथाहरू असफल हुन्छन् । यो हाम्रो समयको सबैभन्दा ठुलो दुर्भाग्य हो ।’ तर प्रशान्तको अहम् दर्शनको धरातल ज्यूँका त्यूँ रहन्छ । उसको यस दर्शनले विकर्षण र विरक्तिलाई मात्र वरण गर्न पुग्छ । विफलता र वितृष्णा मात्र पाउछ र सम्पूर्ण परित्यक्तता अँगाल्नपर्ने विवशता सिर्जना हुन्छ औपन्यासिक बस्तीमा ।

उद्देश्यमूलक जीवनको विफलताका साथ यस आदिवस्तीका आदि मानवमा आज्ञाकारिताको पनि शीर्षस्थ प्रयोग देखा पर्दछ । आदिगुरु र आदिमाताका तालिकाबद्ध दिनचर्याप्रति पुत्र पुत्रीसँगका सबै सदस्यहरूमा असीम आज्ञाकारिता छ । आक्रमणको प्रत्याक्रमण त्यस बस्तीले गर्दैन, पीडावोध गर्छ, प्रतिशोध लिदैन । प्रशान्त आप्mना शिष्यहरूप्रति भएको आक्रमणमा प्रतिक्रिया व्यक्त गर्दछ–‘बन्धुहरू यहाहरुले ढुङ्गा मुढा र लाठी प्रहार गरेर मेरा पुत्रपुत्रीहरुको पवित्र रगत बगाउन सफल हुनु भयो तर यो सफलता यहाहरुको अज्ञानता हो, कृपया हृदयङ्गम गर्नुहोला १ढुङगामुढा र लाठी प्रहार गर्न हामीहरूसँग पनि हातहरू छन् तर हामीले यस आदिम अहङ्कारलाई बिदा गरिसकेका छौ । मेरा पुत्रपुत्रीहरुलाई थाहा छ–राष्ट्र, धर्म जाति वा मानव सम्बन्धको नाममा रगत बगाएर, रगत पिएर, रगतको होली खेलेर मानव सभ्यता र इतिहासमा अमेट दाग मात्र लाग्यो ।  ……..हामी यस्तो कलङ्को टिका लगाउन जन्मेका होइनौ ।’ मौजुदा इतिहास र परम्पराको विद्रोहमा सङखघोष गर्ने यस उपन्यासको अहम् भने मानव सत्ताको निर्वैयक्तितामा छ । विभाजित मानसिकताको सङ्कलित स्वर जीवनलाई अहमत्याइएको विरोधमा हेर्ने अहम् राख्दछ । त्यसैले प्रशान्तको अहमपूर्ण जीवन व्याख्या आदिमाताको प्रेमपूर्ण आशक्तिको मनाृभाव मानवसत्ता भन्दा कुनै न कुनै विन्दुमा पूर्वाग्रही र असमञ्जस छन् । एकसाथ ‘प्रेमको जेरुसेलम’ र ‘घृणाको जेरुसेलम’ यसैले स्थापित भएका हुन् भन्न सकिन्छ ।

पूर्णतः हीनमनोग्रन्थीलाई वरण गर्ने औपन्यासिक कथाबृत्तिमा मनोविज्ञानको दृष्टिमा लिविडोले नजानिदो रूपमा वैकासिक धरातल पाएको छ । ‘आदिमाता म छोरीलाई माया गर्छु, …….म जन्मेका मात्र हैन, नजन्मेका छोरीहरूलाई पनि माया गर्छु । सपनामा म सधैँ छोरीलाई माया गरिरहेको हुन्छु । ….म आफैलाई दुःख दिएर सुख अनुभव गर्न सक्छु । तर छोरीलाई सताएर सुख अनुभव गर्न सक्तिन ।’ प्रशान्तका यी भावना हार्दिकताभन्दा मनोग्रन्थीसँग सक्रिय छन् । उ दमित प्रेमको रोगी हो । त्यसैले प्रेमको घाँटी निमोठ्छ, शाब्दिक सद्भावना सम्म दिँदैन । बरु आफैमा अस्रल्ल रहन्छ ‘मनोरति’मा । उसमा लघुताभास छ, कुण्ठा छ, वैराग्य छ फलतः उ अर्को बुद्ध, अर्को नेपोलियन र अर्को जिससमामात्र होइन, बुद्धजस्तै नेपोलियन जस्तै र जिससजस्तैमा पनि विश्वास गर्दैन । मानव सत्ताको ‘स्व’ बोधको नैसर्गिकता तर अहम्वोेधमा आदि गुरु दर्शनको सहारा लिन्छ । कारणतः त्यो प्रतिक्रिया र विकर्षणको दर्शन भइदिन्छ । र, अन्ततः महानताबोध गर्न थाल्दछ । जीवनका हरेक कार्यको मूल्याङ्कन सापेक्ष रूपमा गर्दछ । प्रेम व्यक्ति सापेक्ष भाव हो । सामर्थ्य अनुरूप व्यक्तिको निययात्रा हुन्छ, सफल–असफल सापेक्षिक भाव हो । मैचाङ–प्रेममूर्ति प्रशान्त र मार्थाको सामर्थ्यमा पररहनु सापेक्षिक कुरा हो । तर उपन्यास विचारको उत्कर्ष सङ्घर्षमा पुग्छ । उपन्यास भन्छ–‘अहङ्कारले यस्तो महानताको दाबी गर्दैन किनभने योभन्दा महान् र तुच्छ, सरल र जटिल, कोमल र कठोर अरू केही छैन ।

परम्पराहरू भन्छन्–जीवन प्रेम र अहङ्कारको द्वन्द्व हो ।….प्रेम र अहङ्कारमा द्वन्द्व छैन ।’ अहङ्कारले महानताको दाबी नगर्नुपर्ने हो तर महानताको दाबी गर्दछ सम्पूर्ण कथाहरूमा । आदिगुरुको दर्शन नै ‘अहम्’ को हो र त्यो अमानवीकृत पनि छ । अतः परम्परा वोले झैँ अहङ्कार र प्रेमको द्वन्द्व यस बस्तीले बोल्छ । बस्तीवालहरू यसैलाई आत्मसात् गर्न पुग्छन् । आआफ्नो अहमले बस्तीबालका प्रेम निष्फल छन्, ‘निष्फल प्रेमीहरू अरूको प्रेमलाई निष्फल देख्न चाहन्छ’ । ‘मानिसहरू आस्था विश्वासका नाममा अहम्को पूजा गर्दछन् ।’ पुजनीय अहम्हरु ठेस लागेर ढल्दैनन्, ढलेका अहमहरु प्रार्थनीय हुँदैनन् ।’ जिसस र बुद्धका अहम्हरु ढल्दो थिए त दृष्टान्त आजका जिससहरु हुने थिएनन् । विचार र दर्शनको आरोह अवरोहमा छ सम्पूर्ण उपकथाहरूको कथा । समर्पणको सट्टा पलायन र उपेक्षाभावले विकसित मनोग्रन्थी यहाको मूल कथालाई परिद्वेलित छ ।

कलावादिताका दृष्टिमा ‘पागलवस्ती’ प्रयोगवादी नयाँ धरातल सिर्जना गर्न भने औधी सफल छ । तीसको दशकबाट देखा परेको नवप्रयोगमा सरुभक्त, पारिजात, ध्रुवचन्द गौतम बानिरा गिरी झैँ अग्रगामी छन् । प्रस्तुति प्रवाहशीलतामा भने पारिजातसँग तुलना गर्न यही कृतिबाट मिल्दैन । उपन्ययासभित्रकोे मानसिकता भने पारिजातीय परम्परालाई सरुभक्तले पनि वरण गरेका छन् । त्यसैले त्यहाँको मानबृत्ति आशक्ति र उपेक्षामा उद्वेलित भएको छ । तर वैचारिक वकालतको सतह सरुभक्तमा पारिजातीय परम्पराभन्दा उच्च छ र स्थितिको विश्लेषण गर्न सम्पूर्ण सफल छन् । अहम्–पीडा, पश्चात्ताप र पलायन ग्रसित चरित्रले आफू बोध भने गरेका छन् । ‘स्व’को झिनो स्वर पाइन्छ । उपमा–उपमेयको शास्त्रीय निर्वाहलाई पूर्णतः परित्याग गर्न खोजिएको छ, र आंशिक वैशिष्ट्य पनि देखा पर्दछ । कलाकारितालाई सौन्दर्यगत मूल्यमा भन्दा जैवनिक यथार्थको जटिलतासँग बरण गरिएकाले यसको सामयिकभन्दा दूरगामी मूल्य र आस्वाद छ । सम्प्रेषण ग्रहणशीलतामा प्रयोगवादिता बाधक झैँ देखा परेको छ । यस प्रवृत्तिमा सरुभक्त ध्रुवचन्द्रभन्दा अघि भए पनि बानिरा र पारिजातभन्दा पछि नै छन् । जटिल कथा क्रम (जटिल जीवनको नियति प्रायोजन) ले सम्प्रेषण कुशाग्रता अंगाल्न दिएको छैन । प्रवाह शृङ्खला उपकथाको क्रमले टुक्रिएको तर सिङ्गो कथाबृत्तिमा जोडिन पुग्नुपर्ने औपन्यासिक निवृत्तिले गर्दा पनि संप्रेष्यता–संवेद्यतामा पूर्णता मिलेको छैन । उपन्यासकारकोभन्दा कथावस्तु प्रायोजनको दोषी छ यसमा । मनोरोगी पात्रहरूले आत्मपीडनका साथ बोल्ने संवादमा अन्तर्मुखी प्रवृत्ति भए पनि विचार निर्माणमा आदिमाता–आदिगुरु दुवै मुख पात्रका रूपमा निर्वाहित भएको र लेखकले असमान विचार द्वन्द्वमा दोलायमान हुनुपरेकोले संवेद्यतामा पछि परेको हो, अरू मूल्यमा उपन्यास सफलतासाथ खरो उत्रिएको छ ।

मैनाली निवास
क्षितिज मार्ग, शंखमूल ।