अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०८ | Colorodo: 02:23

एनआरएनए एमालेको भातृ सङ्गठन होइन सबैको साझा हुनुपर्छ

भक्त थापा २०७८ जेठ ८ गते १८:१४ मा प्रकाशित

एनआरएनएको नाम नसुन्ने प्रवासी नेपालीहरू अहिले बिरलै होलान् । झन्डै ४० लाख प्रवासी नेपालीहरूलाई जोड्न अगाडि बढिरहेको यो संस्थाको परिकल्पना कुन परिवेश र धरातलमा भएको थियो भन्ने चाही थोरै मानिसलाई मात्र थाहा छ ।

पृष्ठभूमि
अमेरिका र रुसको लामो सित युद्ध १९९१ मा आएर सोभियत सङ्घको विघटन पछि मथ्थर भयो । बेलारुस स्वभियत सङ्घबाट अलग भएर स्वतन्त्र राज्यको रूपमा देखा पा¥यो । संक्रमणकालको अवधि बेलारुसका व्यापार व्यवसाय गर्नेहरूका लागि उर्वर समय थियो । विद्यार्थीको रूपमा त्यहाँ पुगेका केही नेपालीहरू पनि व्यापार व्यवसायमा लम्किए । छोटो समयमा नै उनीहरूको आर्थिक प्रगति भयो । त्यहाँको अस्थिरता र कम्युनिस्टको केन्द्रीकृत प्रणालीका कारण आर्जित सम्पत्ति कुनै पनि बेला गुम्ने डर नेपाली व्यापारीहरूमा थियो । उनीहरू बेलारुसका आर्जित केही धन सम्पत्ति नेपालमा पु¥याएर लगानी गर्न र ढुक्कसँग बस्न चाहन्थे । बेलारुस मात्र होइन अरू देशमा राम्रो प्रगति गरिरहेका कतिपय नेपाली व्यवसायी पनि नेपालमा सुरक्षित ढङ्गले लगानी गर्न सक्ने वातावरणको खोजी गरिरहेका थिए ।

यसका लागि नेपालको आर्थिक नीति नियम र कानुन अनुकूल थिएन । राजनीतिक शक्तिहरुकोसँगको दरिलो सम्बन्ध र राजनीतिक संरक्षण जरुरी थियो । नेपालका कम्युनिस्ट पार्टीहरूसँग राम्रो सम्बन्धले नेपाली मूलका रसियन व्यापारीहरूलाई यसमा सहज भयो । अरू देशमा राम्रो व्यापार व्यवसाय र आय आर्जन गरिरहेका व्यापारीहरूले पनि साथ दिए ।

एमालेको पार्टी कार्यालय बनाउने देखी नेताहरूलाई गाडी किनिदिनेसम्म काम गरेको भन्ने समाचार पत्रपत्रिका पढिएको हो । आफ्ना नातागोता र आफन्तहरूलाई एमाले पार्टीको माथिल्लो तहमा पु¥याएर मन्त्री बनाउनेसम्म उनीहरू सफल भए भन्ने कुरा त सबै सामु छँदैछ । राजनीतिक हिसाबले उनीहरूले लाभ हानीका काम जे जस्तो गरे पनि विदेशमा बस्ने नेपालीहरूको पहिचान र अधिकारका लागि नेपालको नीति परिवर्तन गराउन दबाब सिर्जन गरे ।

अहिलेको अवस्था
विदेशमा बस्ने नेपालीहरूलाई एकजुट गराएर अगाडि बढ्न तीनै व्यापारीहरूको पहलमा २००२मा एनआरएनए संस्था औपचारिक रूपले दर्ता भयो । यो संस्थाको उद्देश्य र लक्ष प्रवासी नेपालीहरूको लगानी नेपालमा ल्याउने र त्यसका लागि नेपाल सरकारसँग अधिकार सुनिश्चित गराउने थियो । एनआरएनए प्रस्ट लक्ष र पवित्र उद्देश्यका साथ गठन भए पनि कम्युनिस्ट पृष्ठभूमि र एमाले पार्टीसँगको सम्बन्ध भएका व्यापारीहरूको हालीमुहालीको कारण यो संस्थाले स्वतन्त्र भएर काम गर्न सकेन । जन्म देखि अहिलेसम्म एमाले पार्टीको छाया यसमा परिरहेको छ । यसलाई सहिबाटोमा ल्याउन गरिएका प्रयास अहिलेसम्म सफल भएका छैनन् ।

एमाले पार्टीको भातृ सङ्गठन जस्तो देखिने अवस्थाबाट बाहिर निकालेर सबैको एनआरएन बनाउन सकेमा स्थापनाको उद्देश्य र लक्ष हासिल गर्न सहज हुने छ । तर सधैँ गुमहराहमा राखेर एनआरएनए आइसिसीको नेतृत्वमा नेपाली मूलका रसियन व्यापारीहरूको इच्छा चाहाना भन्दा थोरै पनि पर जान नदिने हतकण्डाहरुले यो संस्थाको मर्म र भावना ठेस पुर्‍याएको छ । स्वतन्त्र भएर काम गर्न खोज्दा शेष घलेले भोगेको पिडा न्युयोर्कमा हामीले सुनेकै हो । भवन भट्ट माथि गरिएका छानबिन र अपमानजनक व्यवहारहरूले पनि यो संस्था कम्युष्टि सिन्डिकेटबाट चलेको छ भन्ने सबैले बुझिसकेका छन् ।

नेपाली काँग्रेसले लामो समय यो कुराको भेउ पाउन सकेन । गत निर्वाचनमा मात्र नेपाली काँग्रेसले कम्युनिष्टहरुको जन्जिरबाट एनआरएनएलाई बाहिर निकाल्नु पर्ने रहेछ भन्ने बुझ्यो । नेपाली काँग्रेसले पनि यसमा चासो देखाएपछि कम्युनिस्ट प्रभाव कम हुने भयो भनेर खैलाबैला मच्चिएको छ ।

कम्युनिस्ट पार्टीको छत्रछायामा परेकै कारण अमेरिकाको एनआरएनए सन् २०१२ सम्म नाममा मात्र सीमित भयो । लामो समय अमेरिकाबाट उनीहरूले आफ्नो अनुकूलका व्यक्तिलाई एनआरएनए अमेरिकाको प्रतिनिधिको रूपमा लाने गर्दथे । खगेन्द्र जी सी र डाक्टर केशव पौडेलले एनआरएनए अमेरिको नेतृत्व लिएपछि अमेरिका विश्वको सबैभन्दा ठुलो एनसीसी बन्न पुग्यो । यो नेपाली मूलका रसियन व्यापारीहरूलाई असहैय भएको छ ।

एनआरएनए अमेरिकालाई कठपुतली बनाउन उनीहरूको इसारामा चल्ने व्यक्तिहरूलाई उचालेर अनेक तरहले हस्तक्षेप गरिरहेका छन् । एनसीसी अमेरिकाले स्वतन्त्र पूर्वक काम गर्न पाएको छैन । आइसिसीले हस्तक्षेपकारी पटक पटक पत्र पठाउँदै आएको सार्वजनिक भइरहेको छ । आईसीसीलाई सबै भन्दा बढी आर्थिक सहयोग गर्ने संस्था एनसीसी अमेरिका हो । पछिल्लो ६–७ वर्षमा एक मिलियन डलर अर्थात् १० करोड नेपाली रुपैयाँ भन्दा बढी एनआरएनए अमेरिकाले आईसीसीलाई पठाएको छ । तर अमेरिकाको कामको लागि प्रशंसाको एक शब्द खर्च गर्दैन आइसिसीले ।

झन्झट र उल्झनमा फसाउन हस्तक्षेप गर्ने धम्किदिदै पत्रहरू थमाउँछ । एनसीसीको लिस्टबाट हटाउने धम्की पटक पटक दिइरहेको छ । अव यो धम्की सहेर बस्ने दिन गए । अमेरिकाको आउँदो नेतृत्वले दह्रोसँग खुट्टा टेक्नुपर्छ । एनआरएनए अमेरिकाको नेतृत्व कसैको लोलो पोतो र प्रलोभनमा नपर्ने खालको हुनुपर्छ । एनआरएनएलाई एमाले पार्टीको भातृ सङ्गठनको रूपमा चल्न दिनु हुँदैन । सबै प्रवासी नेपालीहरूको भावना र चाहाना अनुरूपको साझा संस्था बनाउनु पर्छ । यसका लागि अध्यक्षका प्रत्याशी बुद्धिजी लगायत सबै उम्मेदवारलाई शुभकामना ।

प्रतिक्रिया