अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४० | Colorodo: 04:55

प्रधानमन्त्रीज्यू, सकुनीले जसरी पासा फाल्ने काम नगर्नुस्, संसद् भङ्ग गर्ने बाटोमा नगइदिनुस् – प्रदीप गिरी

बिआरटीनेपाल २०७७ चैत ३० गते ९:०९ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले दोस्रो पटक पनि संसद् भङ्ग गर्ने बाटोमा अघि नबढ्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले सकुनीले जसरी दोस्रो पटक पासा फाल्ने काम नगर्न प्रधामन्त्रीलाई आग्रह गर्नुभएको हो ।

उहाँले सकुनीले जस्तो दोस्रो पटक पासा फ्याँकेर संसद् विघटन गर्ने दिशामा अघि नबढ्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो । गिरीले संसद्लाई पूरा कार्यकाल काम गर्न दिने अवस्था सिर्जना गर्न आग्रह गर्नुभयो ।
उहाँले राष्ट्रिय नीतिलाई आफ्नो तजबीजको कुरा नमानिकन संसद्का प्रत्येक पार्टीले उठाएका र नागरिक समाजले उठाएका ज्वलन्त सवाललाई सम्बोधन गरी नयाँ उचाइ प्राप्त गर्न पनि सुझाव दिनुभयो ।

व्यवस्था र व्यक्ति फरक कुरा भएको भन्दै व्यवस्थामा भएका त्रुटिलाई व्यक्तिले सही नियतका साथ परिष्कार र परिमार्जन गर्नुपर्नेमा प्रधानमन्त्रीले संसद् नै भङ्ग गरेको सांसद गिरीले टिप्पणी गर्नुभयो । शनिवार काठमाण्डौमा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घको ५५ औँ वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद्को अङ्क गणितलाई आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न खोजिए ‘सकुनीका गोटी’ नै फ्याँक्ने बताउनुभएको थियो ।

सभामुखलाई समेत विश्वासमा लिन नसकेको भन्दै सांसद गिरीले विभिन्न समयमा र परिस्थितिका राजनीतिक असन्तुष्टिहरू थपिँदै आएर चरम राजनीतिक सङ्कटको रूपमा देखापरेको टिप्पणी गर्नुभयो । अरूलाई दोषारोपण गर्नुभन्दा आफै भित्र चिन्तन गरेर सङ्कटको घडीमा सबै एक भएर राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । म मेरै गोरुको बाह्रै टक्का भन्ने अडानबाट पछि हटेर सबै विकल्पहरूमा गम्भीर छलफल र परामर्श गरी चुनावमा जाने भए पनि राष्ट्रिय सहमतिको चुनावी सरकार बनाउन लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद गिरीले २०४७ सालको जस्तो संविधान वा चुच्चे नक्सा जस्तो अवस्था संविधानको नबनाउन ध्यानाकर्षण गराउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू