अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५० | Colorodo: 23:05

ग्याली प्रुफ: मेरो रहरको पत्रकारिता

पेशल आचार्य २०७७ फागुन १९ गते ८:४० मा प्रकाशित

अनुभूति
रहरले पत्रकारिता सिकायो अफसोस बाध्यताले लेखक बनायो । मेरा पत्रकारिताका गुरु रवीन्द्र चक्रवर्ती हुन् । जो सुनसरी क्याम्पसमा राजनीति शास्त्र पढाउने प्राध्यापक समेत थिए । इनरुवामा नारायण राजभण्डारीद्वारा प्रकाशित तथा सम्पादित ‘समाचार जगत्’ साप्ताहिक पत्रिकामा मित्र सुविद् गुरागाईं र मैले २०४१ सालतिर ग्याली पुफमा पत्रकारिता सिकेका थियौँ । जानी नजानी हामी केही लेख्ने कोसिस गर्दथ्यौँ आदरणीय नारायण दाइ र रवीन्द्र गुरु छापिदिनु हुन्थ्यो । हामीले हप्ताको एक पटक लेख्ने कोलमको नाम थियो –‘थाहा छ भने सम्झनुहोस्’ ।

अलिपछि मैले इटहरीबाट निस्कने ‘सप्तकोसी’ साप्ताहिकको सम्वाददाता बनेर केही समाचारहरू लेख्ने जमर्को गरेँ । त्यतिखेर म सुनसरी क्याम्पसमा बिए पढ्थेँ । यो लगभग २०४४–२०४६ सालको समय थियो । त्यस बेला इनरुवामा साहित्य गोष्ठीहरू धेरै हुन्थे । मित्र सुविदजी र मेरो हिमचिम बढाएको पनि त्यस्तै साहित्य गोष्ठीहरूले नै हो । यता मैले बाए पास गरेँ उता २०४६ साल चैत्र निगल्दो देशमा जनआन्दोलन सफल भयो । बाए पास भएपछि मैले जागिर खाने इच्छा गरेँ । करिब २ वर्ष जति मैले त्यस बेला जिल्ला प्रशासन कार्यालय ललितपुरमा जागिर खाएँ । सोही जागिरले मलाई काठमाडौँमा पढ्न टिकायो । मैले धेरै साहित्यकार र लेखकहरू चिनेको समय त्यही थियो ।

२०४८ साल मङ्सिरको अन्तिम सातातिर म मित्र कृष्ण कोइरालाको सल्लाहमा रामेछाप आएँ । मलाई लिन ठिक्क परेर बसेका रहेछन् – हेडसर केदार चौलागाईं । उनले मलाई सोझै काकलिङ मावि दोरम्बा लगेर मावि, नेपालीको अस्थायी शिक्षकमा नियुक्ति दिए । त्यो बेला जिल्ला शिक्षा कार्यालयले अस्थायी नियुक्ति सदर गर्नु पर्दथ्यो । नियमानुसार मेरो नियुक्ति सदर भयो । म कानुनी हिसाबले समेत शिक्षक भएँ । लगभग म १६ महिना जति दोरम्बा बसेँ । मैले नाङ्गो आँखाले हिउँ परेको देखेको पहिलो चोटि दोरम्बा मै हो । मैले गुराँसको फूल देखेको पनि पहिलो चोटि दोरम्बा मै हो । धेरै कुरा मैले दोरम्बामा पहिलोचोटी देखेँ । ती कुराहरू पछिपछि लेख्ने विषय पनि बन्लान् ।

अहिलेको भने कुरो पत्रकारिताको छ । १६ महिनाको दोरम्बा बसाइपछि मेरो सरुवा ओखलढुङ्गाको सिमानामा पर्ने साँघुटार बजारमा अवस्थित हिमगंगा माविमा भयो । त्यहाँ बस्दा मैले आफ्नो लेखनलाई अझ खार्ने कोसिस गरेँ । स्थानीय अशोक भौकाजी दाइको पुस्तकालयको धेरै सहयोग लिएँ । सोही स्थानमा बसेर लेखेको मेरो कविता बिबिसी नेपाली सेवाको ‘युवा कविता महोत्सव’ मा चुनिएछ । अहिलेजस्तो सञ्चार सुलभताको जमाना थिएन । प्रतियोगिता सकिसकेपछि मैले बल्ल साहित्यकार विजय चालिसेको हस्ताक्षरबाट आएको औपचारिक निम्तो पाएँ । जमाना हुलाककै थियो । सामान्य चिठी आउनका लागि हप्ता दस दिन लाग्थ्यो । म छक्क परेँ । पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता त्यसै हुस्सियो । तर मैले लेखनमा हिम्मत हारिनँ ।

साँघुटार पनि म धेरै बसिनँ । १३ महिनामा मेरो सरुवा मन्थलीमा भयो । यो २०५० साल चैत्रको कुरा हो । म साहित्य लेखन र साहित्यिक पत्रकारिता गरिरहेकै थिएँ । मन्थलीमा मैले पहिले चिनेको लेखक भरतराज मन्थलीय हुनुहुन्थ्यो जो धेरै राम्रा राम्रा कविता लेख्नुहुन्थ्यो । त्यसपछि मैले माधव सयपत्री, बाबुराम श्रेष्ठ, नवराज पथिक र कृष्ण उफानजस्ता नवोदित लेखकहरूलाई चिनेँ । गिरिदास श्रेष्ठका जेठा छोरा गणेश श्रेष्ठसँग मेरो राम्रो दोस्ती जम्यो । उनको पत्रिका पसल थियो अनि मलाई पत्रिका नभई नहुने । पत्रकारितातिर मेरो पहिलो सङ्गत टीकाप्रसाद भट्ट, नवराज पथिक, दिनेश गाउँले, बद्री नयाँ घरे र दीपक भट्टहरूसँग भयो । पछिपछि हिमाल ढुङ्गेल, रमेश ढुङ्गेल, दीपक घिमिरे र दीपेश घिमिरेहरूलाई चिने । मैले ‘आजको समाचारपत्र’ दैनिक र ‘जनमञ्च’ साप्ताहिकमा करिब ४ वर्ष जति समाचारदाता भएर मन्थलीबाट समाचारहरू पठाएँ । आजको समाचारपत्र दैनिकमा मेरा लेखहरू नै त्यो बेलामा विचार पृष्ठमा छापिन्थे । एउटा लेखको त्यो बेलामा ४ सय दिने गरिन्थ्यो ।

लगभग २०५४ पुसको दोस्रो हप्तातिरको समय हुनुपर्छ । गते बार बिर्सिएँ । हामी मन्थलीबाट डेट लाइन राखेर समाचार लेख्नेहरू करिब ८/१० जना जिरीमा भएको दोलखा रामेछापको संयुक्त पत्रकार भेलामा गयौँ । जहाँ प्रमुख अतिथिका रूपमा तत्कालीन कानुन तथा न्याय मन्त्री भीमबहादुर तामाङ आउनु भएको थियो । हामी दुई दिन जति जिरी बस्यौँ । दोलखा रामेछापको संयुक्त उपशाखा गठन भयो । देवदास श्रेष्ठ दोलखाबाट संस्थापक सभापति भए भने दुवै तिरका साथीहरूले मलाई संस्थापक उपसभापति चुने ।

पत्रकारितामा मेरो पहिलो र हालसम्मको एक मात्र पद त्यही नै हो । मैले लगभग २३ वर्षको दौरानमा मैले मन्थलीमै बसेर हजारौँ लेख रचना, समाचार, कविता र कथाहरू लेखेँ हूँला । किताबका हकमा भन्नु पर्दा मेरा ७ वटा बाल साहित्यका कथा, कविता र निबन्धका पुस्तकहरू प्रकाशित भएका छन् भने ४ वटा प्रौढ साहित्यका पुस्तकहरू प्रकाशित छन् । बाह्रौं किताब म यतिखेर आफैँ सम्पादन गरिरहेको छु । सायद त्यो आउने साल २०७८ मा छापिन्छ होला ।

मैले आफूलाई ग्याली प्रुफ हुँदै ब्रोडसिट दैनिकहरू र चर्चित साप्ताहिकहरूमा समेत काम गर्ने मौका पाएँ । मन्थलीबाटै मैले पत्रकार सुरेश आचार्यको चर्चित पत्रिका ‘रविबार’ साप्ताहिकमा केही वर्ष ‘सोझो÷घुमाउरो’ नामक स्तम्भ समेत लेखेँ । मन्थलीबाट निस्किने साप्ताहिक र मासिक पत्रपत्रिकाहरू मैले भाषा सम्पादन नगरेका कुनै पनि पत्रिकाहरू छैनन् । सबै पत्रिकाहरूमा मैले स्वयंसेवी भएर सहयोग गरेको छु । धेरैलाई पत्रकारितातिर डोहो¥याएको छु । यसै बिच मैले छापा पत्रकारिताबाट अनलाइन पत्रकारितामा फड्को हानेको छु । अहिले मलाई अनलाइन पत्रकारितामा लेखन, सम्पादन र स्तम्भकारका रूपमा आफ्नो लेखन रुटिन मिलाउन हम्मे हम्मे पर्छ ।

वर्तमान समयमा म देश विदेशबाट पोस्ट हुने ६ वटा अनलाइनहरूमा नियमित रूपमा लेख्ने गर्छु । मेरो ग्याली प्रुफ पत्रकारिताका गुरु मैले माथि भनेझैँ साहित्यकार तथा पत्रकार रवीन्द्र चक्रवर्ती हुन् भने अनलाइन पत्रकारितामा मलाई डोहोर्याउने मित्र चाहिँ कवि तथा पत्रकार ठाकुर बेल्बासे हुन् । उनको आग्रहमा मैले करिब चार वर्ष अघिदेखि ‘इमेज खबर डटकम’ मा हप्ताको एउटा लेख लेख्न थालेँ । जसले मलाई नियमित राजनीतिक र समसामयिक राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाहरूमा अपडेट हुन सिकायो । अहिले पनि म नियमित जसो ३÷४ घण्टा बिहान बेलुकी अनलाइनहरूका लागि केही न केही लेखिरहेको हुन्छु ।

पत्रकारिता गरेर मैले कमाएको भनेका साथीभाइहरू हुन् । लेखेर मैले कमाएको भनेको आत्मसन्तुष्टि हो । मैले लेखेका दुई वटा बालकथाहरूमध्ये एउटा ‘डुसी बाछी र भाइटिका’ नामको कथा १३ वर्षदेखि कक्षा: ५ मा र अर्को ‘किस्ताको कम्प्युटर’ भन्ने कथा ३ वर्षदेखि कक्षा: ६ मा बोर्डिङ् स्कुलहरूमा पढाइ हुन्छन् । लेखेर मैले पाएको भनेको सबैभन्दा ठुलो सन्तुष्टि भनेकै यही हो । जिल्लाभित्र र जिल्लाबाहिर मलाई लेखक, साहित्यकार र पत्रकारहरूले चिन्छन् । मेरो सम्पत्ति भनेकै यही हो । एउटा कुरा मलाई छक्क लाग्छ समय कति चाँडो बद्लिएको ? हामीले सिकेको अक्षर अक्षर जोडेर छाप्ने अनि अक्षर फुकाल्ने प्रविधि (ग्याली प्रुफ) हुँदै छापाका ब्रोडसिट पत्रिकामा लेख्ने गर्दागर्दै फुत्तै अनलाइन पत्रकारितामा समेत प्रवेश गरिसकिएछ ।

कहिलेकाहीँ आफ्नो विगत् सम्झेर म आफैँ रोमाञ्चित हुनेगर्छु । समय म भन्दा अघिअघि बुर्कुसी मार्दै कुद्दै छ, कुद्दै छ । म पनि समयका पछिपछि घस्रिँदै घस्रिँदै अघि बढिरहेको छु । लेख्ने धीत अझै मरेको छैन ।

लेखक नेपाल पत्रकार सङ्घ, दोलखा–रामेछाप उपशाखा संस्थापक उपाध्यक्ष हुन ।