अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३८ | Colorodo: 00:53

‘प्रचण्डले पठाएको चिर्कटो नहेरी ओलीले हस्ताक्षर गरेर पार्टी एकता गर्नुभयो’– उपप्रधानमन्त्री पोखरेल

बिआरटीनेपाल २०७७ पुष २९ गते ८:१० मा प्रकाशित

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकताका लागि पुष्पकमल दाहाल (प्रचण्ड) ले पठाएको चिर्कटो नहेरी प्रधानमन्त्री केपी शर्मा ओलीले हस्ताक्षर गरेको बताउनुभएको छ । झापाको विर्तामोडमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहको अगुवा कार्यकर्ता भेलामा बोल्दै पोखरेलले दाहालले पठाएको पत्र नहेरी ओलीले हस्ताक्षण गरेर पार्टी एकता गरेका कारण अहिले आधा–आधा प्रधानमन्त्रीको कुरा आएको बताउनुभएको हो ।

उहाँले नेकपा अध्यक्ष दाहाल पार्टी एकता अघि नै कांग्रेस र साना दलसँग मिलेर प्रधानमन्त्री बन्न खोजेको आरोप समेत लगाउनुभयो । तत्कालीन समयमा वाम गठबन्धनलाई धोका दिएर दाहाल पाँच वर्षे प्रधानमन्त्री बन्न खोजेको पोखरेलको आरोप छ । उहाँले भन्नुभयो, ‘प्रचण्ड सधैँ पदका लागि मात्र अघि बढ्न खोज्नुहुन्छ । वाम गठबन्धन गरेर एउटै चुनाव चिह्नमा साझा उम्मेदवार बनाएर एउटै घोषणा पत्रमा चुनाव लड्ने सहमति भएको २४ घण्टा पनि बित्न नपाउँदै प्रचण्डजी साना दल र कांग्रेसँग मिलेर पाँच वर्षे प्रधानमन्त्री हुन तिर लाग्नुभयो ।’

उपप्रधानमन्त्री पोखरेलले माधव नेपाल र झलनाथ खनालको कुण्ठाका कारण पार्टी फुटेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हिजो प्रतिपक्षमा भएको केपी ओलीलाई आज नागरिकले ‘केपी बा’ भनेर सम्बोधन गर्ने वातावरण बनेकाले माधव, झलनाथहरु जल्नुभयो । र सत्तामा हुँदा केपी ओलीको तेजलाई देख्न नसकेर उहाँहरूमा कुण्ठा पलायो ।’

उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड–नेपालले प्रधनानन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउन खोजेकाले संसद् भंग गर्नुपरेको स्पष्टिकरण दिनुभयो । उहाँले आफूहरूको पार्टी आधिकारिक हुने र चुनाव चिह्न ओली समूहले पाउने दाबी समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू