अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१५ | Colorodo: 19:30

“संसदीय समितिको निर्देशन सरकारले मान्नैपर्छ – सभापति शशी श्रेष्ठ

बिआरटीनेपाल २०७७ मंसिर २६ गते ७:२९ मा प्रकाशित

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले समितिले दिएको निर्देशन सरकारले पालना गर्नैपर्ने बताउनुभएको छ ।समितिले दिएको निर्देशनविपरीत सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेपछि समिति सभापतिले यस्तो बताउनुभएको हो ।

सभापति श्रेष्ठले जनताप्रति उत्तरदायी हुन पनि सरकारले समितिका निर्देशनहरु पालना गर्नुपर्ने बताउनुभएको हो ।समितिले निर्देशन दिएपछि सरकारले आफ्ना भनाइ राख्नुपर्ने भए समितिमा नै राखेर स्पष्ट पारी कार्यान्वयनमा जानुपर्ने उहाँले बताउनुभयो ।संसद सचिवालयका पूर्वसचिव मुकुन्द शर्माले भने कुनैपनि समितिले दिएका निर्देशनहरु सरकारले पालना गरे नगरेको भन्ने सम्बन्धमा समिति आफैंले कार्यप्रगति मूल्यांकन गरी संसदसमक्ष पेस गरी छलफल गराउन सक्नुपर्ने बताउनुभयो ।

तर, सरकारले कुनै निर्देशनहरु कार्यान्वयन नगरेमा समितिका सभापतिहरुले विभिन्न मिडियामा कुरा उठाउने तर नियमावलीले दिएको प्रावधानअनुसार कार्यप्रगति मूल्यांकन गरेर संसदमा छलफल गराउन नसक्दा समितिका निर्देशनहरुलाई सरकारले बेवास्ता गरिरहेको उहाँले बताउनुभयो ।

समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न गएको बुधबार निर्देशन दिएको थियो । गृहमन्त्री रामबहादुर थापालाई निर्देशन दिएको भएपनि सरकारले बिहीबार प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू