अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४३ | Colorodo: 22:58

मुख्यमन्त्रीको उपस्थितिमा धनगढीमा अस्पताललाई भेन्टिलेटर र सुरक्षा सामग्री हस्तान्तरण

बिआरटीनेपाल २०७७ मंसिर १४ गते १९:०५ मा प्रकाशित

धनगढी, कैलाली । सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री माननीय त्रिलोचन भट्टले कोभिडको संक्रमण अझ फैलन सक्ने भएकाले थप सजग हुँदै तयारीलाई बढाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । कोका—कोला र नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को साझेदारी अन्तर्गत कोभिड–१९ को महामारीमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकहरूको सुरक्षा अभिबुद्धिको लागि सेती प्रादेशिक अस्पताल धनगढी, कैलालीको प्राङ्गणमा सुरक्षा सामग्री तथा उपकरण अस्पताललाई हस्तान्तरण गर्दै बताउनुभएको हो ।

सेती प्रदेश अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेलाई सामग्री हस्तान्तरण गर्दै उहाँले भन्नुभयो : “रेडक्रसले सरकारको सहयोगीको कार्य गर्दैछ र निश्पक्षतालाई ध्यान दिँदै थप सहयोग गर्न रेडक्रस लगायतको संस्थालाई अनुरोध गर्दछु । ”

आज हस्तान्तरण गरिएका सामग्रीमा रु. १६ लाख ३२ हजार आठ सय पचास मूल्यको आइसियुमा प्रयोग हुने एक भेन्टिलेटरका साथै ६ हजार सर्किजल मास्क, २५०० जोडी सर्किजल पन्जा, ५० थान सुरक्षा पोसाक, केएन ९५ मास्क २०० थान र २५ थान सुरक्षा चस्मा वटा रहेका कार्यक्रमको सञ्चालन गर्दै नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिनुभयो । ती सामग्रीहरूको जम्मा मूल्य १८ लाख ५१ हजार एक सय रहेको छ ।

नेरेसोका केन्द्रीय महामन्त्री पीताम्बर अर्याल, केन्द्रीय सदस्य द्वय जीवन राना र उद्धव भट्टराई, विपद् व्यवस्थापन निर्देशक बिपुल न्यौपाने, सञ्चार विभागका निर्देशक दिव्यराज पौडेल, स्वास्थ्य सेवा विभागका उप निर्देशक शिवराम गौतम र कोकाकोलाका प्रतिनिधि सुभाष दाहालको समुपस्थितमा भएको कार्यक्रममा नेरेसो कैलाली शाखाका सभापति उत्तम जोशीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रसका केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक राजु राउत, नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका पदाधिकारी एवं कर्मचारी र अस्पतालका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

यस अघि गत असारमा पहिलो चरणमा मास्क, सुरक्षा बुट, स्यानिटाइजर, क्लोरिन झोल र साबुन अस्पताललाई उपलब्ध गराइएको थियो ।

नेपाल रेडक्रस र कोकाकोला नेपालको यो साझेदारी केन्द्रीय स्तरमा मात्र नभई प्रदेश र जिल्ला तहमा पुग्न पाएकोमा खुसी व्यक्त गर्दै नेपाल रेडक्रसका केन्द्रीय महामन्त्री पीताम्बर अर्यालले भन्नुभयो: ”कोरोना सङ्क्रमणको जोखिममा रही अग्रपङ्क्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मीको सुरक्षा र बिरामीको सघन उपचारमा मद्दत पुर्‍याउने यो एउटा प्रयास हो । ”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू