अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

शताब्दी वाङ्मय पुरुष जोशीद्वारा दुई पुस्तक र एक गीति एलबमको लोकार्पण

बिआरटीनेपाल २०७७ मंसिर ६ गते १०:५२ मा प्रकाशित

२०७७ मङ्सिर ६, काठमाडौँ । शताब्दी वाङ्मय पुरुष डा. सत्यमोहन जोशीले साहित्यकार डी. आर. द्वारा लिखित यात्रा संस्मरण “सेन्टोसा”, “पेसागत अनुभव एवम् अनुभूति”को सङ्ग्रह समयको “डोब” र गीति एल्बम “भूइँचम्पा”को आज एक विशेष कार्यक्रमबिच लोकार्पण गर्नुभयो ।

शङ्कर लामिछाने प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रम शताब्दी वाङ्मय पुरुषकै मंगलबजार, ललितपुरस्थित निवासमा भएको थियो ।

सो अवसरमा प्रमुख अतिथि जोशीले नेपाली साहित्यलाई अनुवादका माध्यमबाट विदेशमा पुर्‍याउनुपर्ने आवश्यकतामाथि जोड दिँदै त्यसो भएमा मात्र नेपाली साहित्यका माध्यमबाट हामीले देशको पहिचानलाई विश्वव्यापी गर्न सक्छौँ भन्नुभयो ।

यात्रा लेखन अत्यन्त उत्तरदायी पूर्ण लेखन भएको उहाँको धारणा थियो । उहाँले कोरोनाका कारण अन्य गतिविधिजस्तै नेपाली साहित्यिक गतिविधिहरू केही समय रोकिए पनि फेरि चहलपहल बढेकोमा खुसी व्यक्त गर्नुभयो ।

प्रमुख वक्ता समालोचक प्रमोद प्रधानले साहित्यकार डी. आर. का कृतिहरूको समीक्षा गर्दै अघिल्लो यात्रानिबन्धकृति कान्तिपुरदेखि सन्दकपुरसम्मभन्दा सेन्टोसा विषयवस्तुको चयन, त्यसको प्रस्तुति र भाषा सबै दृष्टिकोणबाट महत्त्वपूर्ण भएको र समयको डोबले फोटोग्राफी पेसामा संलग्न हुँदाका सङ्घर्षलाई अभिलेखन गरेको बताउनुभयो ।

सभापतिको आसनबाट शङ्कर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले प्रतिष्ठानले अहिले नेपाली निबन्ध र यात्रालाई अङ्ग्रेजीमा अनुवाद गर्ने कामलाई अघि बढाएको बताउनुभयो ।

उहाँले लामिछानेको एब्स्ट्रयाक्ट चिन्तन प्याजको अङ्गे्रजी अनुवाद प्रकाशनको क्रममा रहेको र नेपाली नियात्राको प्रतिनिधिमूलक अङ्गे्रजी अनुवादको काम अघि बढेको जानकारी पनि दिनुभयो ।

कार्यक्रममा वरिष्ठ कथाकार किशोर पहाडी, प्रसिद्ध निबन्धकार युवराज नयाँघरे, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष साहित्यकार बाबा बस्नेत, सङ्गीतकार तथा सञ्चारकर्मी सरोज कोइराला, पुष्पा खनाल र प्रकाशक बीएन पुस्तक संसारका सूर्य बिसीले पनि लोकार्पित कृति र कृतिकारबारे आ–आफ्ना धारणा राख्नुभएको थियो भने स्रष्टा डी. आर. ले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

स्रष्टा डीं. आर. को सेन्टोसा दोस्रो यात्रानिबन्धकृति हो । समयको डोबमा भने उनको फोटोग्राफी यात्राको कथासँगै विभिन्न व्यक्तिहरूको विचारहरू समेटिएका छन् ।

छैटौँ गीति एल्बम भूइँचम्पामा विभिन्न सङ्गीतकारको सङ्गीतमा विभिन्न गायक गायिकाले गाएका सात ओटा गीत छन् । गीतहरूमा सङ्गीतकारहरू सन्तोष श्रेष्ठ, मनराजा नकर्मी, ज्योतिप्रकाश, महेश खड्का, कुवेर राई र सरोज कोइरालाको सङ्गीत रहेको छ भने सञ्जीवनी, सङ्गीता प्रधान, उदय सोताङ र मनिला सोताङ, अन्जु पन्त र यम बराल, कुवेर राई, आनन्द कार्की र मेलिना राईले स्वर दिनुभएको छ ।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीको विशेष सम्मान पनि गरिएको थियो । यसै गरी प्रमुख वक्ता प्रमोद प्रदान र सर्जक राईलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा साहित्यकारहरू मन्जिला शर्मा, अनिल शर्मा, कमला रिसाल, प्राज्ञ ज्योति प्रकाश, पत्रकार तुलसी भावुकलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू