अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०२ | Colorodo: 04:17

सत्ताका किनाराहरू

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा २०७७ मंसिर ६ गते ८:५१ मा प्रकाशित

तिम्रो सत्ता लघुगणितको खेल हो झेल एक
ठान्छौ आफैँ अतिप्रबलको मन्द कस्तो विवेक ?
तिम्रो सत्ता क्षणिक पलको राग हो घामपानी
हिँड्दा हिँड्दै अनल पथमा शेष बन्छौ खरानी ।१।

तिम्रो सत्ता कति जहरिलो आसमा त्रास भर्छ
फक्री फुल्ने अधरभरिका मन्दमुस्कान हर्छ
बोक्छौ भारी कल र छलको भारले थुन्छ बाटो
तिम्रो यस्तै अधममतिले जन्मको गुम्छ माटो ।२।

चिल्लो बोक्रा फल विफलको भित्रभित्रै छ खोक्रो
थुप्रो मात्रै सकल भुसको अर्थ के राख्छ धोक्रो ?
अन्धो सत्ता समर सपना फूलमा मूर्त पारी
गाल्दै झार्दै प्रकृति सुषमा पाल्छ उल्टै मदारी ।३।

घेरा कोर्दै मधुमिलनमा नित्य धाँजा फटाई
अन्यायीका चरण रजमा माथ आफ्नो चढाई
नङ्ग्रा धस्दै मनुजसरिको पाउले टेक्छ चार
तिम्रो सत्ता कहरतिरका सुन्छ कसको गुहार ?४।

भाषा मीठो वचन “जनता” बोल्न छोड्दैन कैल्यै
लुट्दै उल्टो सकल “जनता” भुट्न छोड्दैन कैल्यै
तिम्रो सत्ता असुर बलको मानवी भाव शून्य
बाँच्ने मार्दै बगरतिरका लासको तोक्छ मूल्य !५।
x x x

मेरो सत्ता समहृदयले भाव संसार बोक्छ
अग्ली अग्लो शिखर शिरमा भासको बास रोक्छ
मेरो सत्ता सकल जनको प्रीत हो जिन्दगानी
तारा बल्छन् तिमिर पथमा खोजमा छन् बिहानी ।६।

बाँच्ने आशा कुसुम कलि छन् हाँस भन्छन् रमाऊ
बाँच्यौ जसका सरस रसले मृत्तिका त्यै सजाऊ
आस्था मेरा अटल गिरि हुन् शान हुन् सत्य शोभा
हाँस्ने खेल्ने महक मनको भाव वैलिन्न आभा ।७।

चढ्दै चढ्दै मन लहरिँदै दूरको स्वर्ग चुम्छु
झर्दै झर्दै क्रमसित यतै लोक आलोकमा छु
मैले खोल्दा सरसर गला लाखले साथ दिन्छन्
मेरो सत्ता नजिक तमका जाल जन्जाल टुट्छन् ।८।

तौली हेरेँ समय सरणी बासमा को छ रानो ?
आस्था जाँचेँ मन महलको बन्न को सक्छ छानो ?
बन्दा ध्यानी कसर मनको क्लेश सन्ताप भाग्यो
दाना मीठा अधिक रसिला शब्दमा स्वाद जाग्यो ।९।

देख्दा सानो कलम तर यो गर्छ सारा चिकित्सा
केस्रा केस्रा पद वचनको राख्छ लेखा अभीप्सा
उन्मादीमा जलन अति छन् जल्नलाई डराऊँ
सत्ता आफ्नै मगमग अहा ! फूलझैँ ज्यून पाऊँ ।१०।
**

गोरखा, लप्सी बोट; हाल: सरस्वतीनगर , काठमाडौँ – ६ ।