अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 05:35

कुलमानको ठाउँमा बिद्युत प्राधिकरणमा हितेन्द्रदेव शाक्य नियुक्त हुने प्रवल संभावना

बिआरटीनेपाल २०७७ कार्तिक २४ गते ६:३१ मा प्रकाशित

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई दिएको छ । मन्त्रालयले शाक्यलाई दिएको यो जिम्मेवारीको खबरलाई धेरैले सामान्य रुपमै लिए । किनकि यो कुनै अनौठो निर्णय थिएन, हल्ला पहिलेदेखि नै चलेको थियो ।

कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणबाट गएको भदौ २९ गते अवकाश पाएपछि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद खाली रहेको छ । व्यापक जनदबाबलाई बेवास्ता गर्दै सरकारले कुलमान घिसिङको कार्यकाल नदोहोर्याएपछि शाक्यको नाम चर्चामा आउन थालेको हो ।

कुलमान प्राधिकरणबाट बाहिरिएपछि ऊर्जामन्त्री वर्षमान पुनले प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उप–कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई दिनुभएको थियो ।वरिष्ठताका आधारमा हितेन्द्रदेव शाक्यले नै निमित्तको जिम्मेवारी पाउनुपर्ने भए पनि शाक्य नेपाल विद्युत् प्राधिकरणकै सहायक कम्पनी एनईए इन्जिनियरिङमा प्रबन्ध निर्देशकको रुपमा रहेकाले कोइरालाले निमित्तको जिम्मेवारी पाउनुभएको थियो ।

तर शुक्रबार ऊर्जामन्त्रीले एनईए इन्जिनियरिङबाट शाक्यलाई काज फिर्तामा प्राधिकरण तानेर आइतबार बेलुकी निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिनुभएको छ । शाक्यलाई प्राधिकरणमा काज फिर्तामा बोलाएर निमित्तको जिम्मेवारी दिइनु नै कार्यकारी निर्देशककै जिम्मेवारी दिने तयारी भएको बुझ्न सकिने ऊर्जा मन्त्रालय स्रोतले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू