अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५५ | Colorodo: 21:10

कात्तिक ७ गतेदेखि विदेशी च्यानलका प्रसारण विज्ञापनरहित नभए कार्बाही – सरकार

बिआरटीनेपाल २०७७ असोज २८ गते ७:२३ मा प्रकाशित

सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले सम्झौताबमोजिम आउने कात्तिक ७ गतेदेखि विज्ञापनरहित (क्लिन फिड) नीति पालना नगरे कार्बाही गर्ने चेतावनी दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधाबर विज्ञप्ति जारी गरी इन्डियन ब्रोडकास्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बिबिसी न्युज, नेपाल केबल टेलिभिजन महासंघलगायत संघरसंस्थाले क्लिनफिड नीति सुरु गर्ने अवधि थप्न आग्रह गरेको भए पनि तोकिएकै मितिदेखि विज्ञापनरहित प्रसारण गर्नुपर्ने जानकारी गराएको हो।

अन्यथा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी पनि मन्त्रालयले दिएको छ। ‘विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ६ (१) अनुसार नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने र ऐन प्रारम्भ हुँदाको बखत विदेशी च्यानलसँग डाउनलिङ गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरूले ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र अर्थात् मिति २०७७ साल कात्र्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको सर्वविदितै छ,’ मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘कात्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारण नभएमा प्रचलित कानुन बमोजिम हुने बेहोरासमेत जानकारी गराइन्छ।’

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू