अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५७ | Colorodo: 06:12

चिरिएका पैताला

रोशन तिमिल्सिना २०७७ असोज १३ गते ७:१२ मा प्रकाशित

कविता

वर्षौँदेखि दौडिरहेको युग
आज रोकिएको छ पैताला चिरिएर ।

एकान्तमा उभिएर टोलाउँदा
बादल सन्तापको भुमरीमा मडारिन्छ
र पनि आँसु खसाउँदैन आजकल
प्रविधिको युगमा वर्षा नभएपछि
विशाल फाँटका पैताला चिरिएका हुन् ।

 

नारा लगाउँदा प्रदुषण विरुद्ध
तिमी यतिसम्म उफ्रियौ
सहर अन्धकार भयो टायरको मुस्लोले
त्यही उग्ररूपको धुवाँमा जलेर
अदालतका पैताला चिरिएका हुन् ।

समृद्धिको आश्वासनमा
पोतिएको थियो गाउँ चुनावी माहोलले
सपनाहरू सज्जिएका थिए
समयसँगै जितेर पनि जनता हारेपछि
विश्वासका पैताला चिरिएका हुन् ।

ईश्वरको नाममा
पैसाले किनिरहेका छन् धर्म
तिमीले मस्जिद फोरेर
चर्च बनाउने आदेश दियौ
नीच सोचमा अमानवता भरिएपछि
चिरिएका हुन् एकताका पैताला।

हरचिजका पैताला चिरिएपछि
मलम खोज्न हिँडेको यो युग
भ्रम भ्रमको सहरमा पसेको छ ।।।


==========
पोखरा,कास्की

प्रतिक्रिया