अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 22:10

हिमाली संरक्षण समूहको “माटो, मानव र सिर्जना” लोकार्पण कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७७ असोज १३ गते ६:२४ मा प्रकाशित

आश्विन ११, २०७७ (सेप्टेम्बर २७, २०२०) अन्तर्राष्ट्रिय नदी दिवसको अवसरमा विशेष अतिथि वरिष्ठ साहित्यकार सरुभक्तले हिमाली संरक्षण समूह पोखराको स्मारिका “माटो, मानव र सिर्जना” एक कार्यक्रमको बिच लोकार्पण गर्नुभयो । “माटो, मानव र सिर्जना” हिमाली संरक्षण समूह र “सिर्जना र असार” को सहकार्यमा मिति २०७७ श्रावण २५ (अगस्ट ९ , २०२०)मा अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित “सिर्जनात्मक अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रम” मा प्रस्तुत रचनाहरूको सँगालो हो ।

हिमाली संरक्षण समूहका अध्यक्ष महेश्वर पहारीको सभापतित्वमा भएको सो अनलाइन कार्यक्रममा नेपाल, अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका देशहरूबाट प्रतिनिधिहरू सहभागी भएका थिए | गत आदिवासी दिवसको कार्यक्रममा कविता वाचन गर्ने मध्य अरुण श्रेष्ठ, मुक्ति गौतम, सुरेन उप्रेती, गोपीकृष्ण काफ्ले, ईश्वरी भट्ट लगायत श्रस्टाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा डा. ज्योति भण्डारी, डा. बेन्कटेश शर्मा, उमा शर्मा, राजु महर्जन लगायत साहित्यकार र सम्रक्षणविदहरुको उपस्थिति रहेको थियो ।

रेडियो हिमालयबाट प्रत्यक्ष प्रसारण भएको उक्त कार्यक्रमको सञ्चालन डा. हिम लाल श्रेष्ठ तथा डा. ऋषि बस्ताकोटीले संयुक्त रूपमा गर्नुभएको थियो | “सिर्जना र असार” अभियानका धन प्रसाद तामाङले स्वागत गर्नुभएको कार्यक्रममा हिमाली संरक्षण समूहका संस्थापक अध्यक्ष डा. भरत मान श्रेष्ठले स्मारिका प्रकाशन बारे बोल्दै मानव र माटोको अन्योन्याशृत सम्बन्धबारे प्रकाश पार्नुभएको थियो |

प्राध्यापक एवं गीतकार डा. अच्युत शर्माले स्मारिकामा समावेश रचनाहरूको विस्तृत समीक्षा गर्नुभएको थियो | नदी र मानव सभ्यताको प्रगाढ सम्बन्धबारे प्रकाश पार्दै उहाँले नेपाल मात्र नभएर विश्वकै पानीको श्रोतहरूको संरक्षण गर्नुपर्ने र सबैले मिलेर जन-चेतना जगाउनु पर्ने दायित्व भएकोले यस्ता कार्यक्रम र प्रकाशनको ठुलो महत्त्व भएको कुरा उल्लेख गर्नुभयो ।

कार्यक्रमको दोस्रो चरणमा डा. ऋषि बस्ताकोटीले स्मारिका प्रकाशनको विषयवस्तुमा केन्द्रित रहेर एक अन्तर्कृया कार्यक्रम सन्चालन गर्नुभएको थियो । सो अन्तर्कृयामा आफ्ना विचार राख्दै संरक्षण कविता आन्दोलनका परिकल्पनाकार तथा वरिष्ठ साहित्यकार सरुभक्तले साहित्यले प्राकृतिक संरक्षणमा अत्यन्तै सकारात्मक रूपमा जनचेतना फैलाउने भएकोले हरेक साहित्यकारले कलम चलाउनुपर्ने बताउनुभयो । लेखनको सुरुमा आफू अल्लि बढी प्रयोगवादी धारको भए पनि पचासको दशक देखी ग्रामीण जनताले पनि बुझ्ने भाषामा प्रकृति, संस्कृति र मानव जीवनका विविध पाटाहरू समेटेर साहित्य सिर्जना गर्न थालेको र यो क्रममा सम्रक्षण कविता आन्दोलन एउटा नवीन चेत सहित नयाँ साहित्यिक आन्दोलनको रुप्मा विस्तारित भएको कुरा उल्लेख गर्नुभयो । साहित्यकार सरुभक्तले यस्ता कार्यक्रमहरू विश्वव्यापी आन्दोलनको रूपमा अन्य देशका साहित्यकारहरुसंग पनि सहकार्यमा गर्ने पहल भइरहेको उल्लेख गर्नुभयो ।

हिमाली संरक्षण समूहका संस्थापक अध्यक्ष डा. भरत मान श्रेष्ठले वातावरण संरक्षण गर्न अनुसन्धान र जनजागरण साथसाथै अघि बढ्नुपर्ने हुनाले यस्ता कार्यक्रम र प्रकाशनहरूले महत्त्वपूर्ण योगदान दिन सक्ने बताउनुभयो । भविष्यमा यस्ता प्रकाशनहरू अङ्ग्रेजी समेत उल्था गरी अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउनुपर्ने धारणा राख्नुभयो । सिर्जना र असार का पूर्व संयोजक एवं कवि धन प्रसाद तामाङले साहित्यले माटो र मुटुको अन्तर-सम्बन्ध झन् कसिलो बनाउने हुनाले भविष्यमा पनि यस्ता कार्यक्रमहरूमा सहकार्य गर्न तत्पर रहेको उल्लेख गर्नुभयो । हिमाली संरक्षण समूहका अध्यक्ष महेश्वर पहारीले फेवातालको प्रदूषण अवस्थाको उदाहरण दिँदै वातावरण संरक्षण स्थानीय मात्र नभएर विश्वव्यापी सरोकार भएकोले अन्तर्राष्ट्रिय संघसंस्थाहरुसंग सहकार्य गर्नुपर्ने बताउनुभयो । कवि ईश्वरी भट्टले साहित्यकारहरूले हरेक विधामा रचना मार्फत चेतनाको बिगुल फुकी रहनुपर्ने आवश्यकता रहेको र सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । स्मारिकाको आवरण कला तयार पार्ने रवि श्रेष्ठले कला पनि अभिव्यक्तिको सशक्त माध्यम रहेको र आफूले यो आवरण चित्रमा माटो मानिस र सिर्जनाको संयोजन गर्ने प्रयास गरेको बताउनुभयो ।

हिमाली संरक्षण समूह सन् १९९६ (बि.स्.२०५३) देखि पोखरा तथा वरपरको वातावरण, बन विज्ञान तथा साहित्यको क्षेत्रमा अनवरत काम गर्दै आएको नाफारहित गैर सरकारी संस्था हो | “सिर्जना र असार” मानव र माटोको अन्योन्याश्रित सम्बन्धलाई संवर्धन गर्न लागिपरेको श्रष्टाहरूको साहित्यिक आन्दोलन हो। यस आन्दोलनले हिमाली संरक्षण समूहको सहकार्यमा वि.सं. २०५० को दशकमा साहित्यिक कार्यक्रम पोखरामा सुरु गरेको थियो। तत्पश्चात्, हालसम्म दुई दशकको अवधिमा नेपालको विभिन्न स्थानमा कार्यक्रमहरू सम्पन्न भइसकेको छ।

हाल डिजिटल कपी प्रकाशित गरिएको यस स्मारिकामा नेपाल, अमेरिका, क्यानडा, पोर्चुगल निवासी २७ साहित्यकारका कविता मुक्तकहरू समेटिएका छन् । अनुकूल समयमा यसलाई मुद्रण गरी वितरण गरिने कुरा प्रकाशक हिमाली संरक्षण समूहले जनाएको छ । स्मारिकाको डिजिटल कपी हिमाली संरक्षण समूहको वेब-पेज (https://hicogpokhara.wordpress.com/) मा उपलब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू