अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१९ | Colorodo: 19:34

‘बयलगाडेहरुको हातमा संविधान सुरक्षित छैन’– पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई

बिआरटीनेपाल २०७७ असोज १ गते २२:५१ मा प्रकाशित

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेपालको संविधान असुरक्षित रहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सुरक्षित नरहेको बताउनुभएको हो । संविधान दिवसको सेरोफेरोमा सामाजिक सञ्जालमार्फत डा. भट्टराईले प्रधानमन्त्रीलाई लक्षित गर्दै गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरुको हातमा संविधान सुरक्षित नरहेको टिप्पणी गर्नुभएको हो ।

उहाँले संविधान दिवसमा सबैले सम्झनुपर्ने कुराहरु भन्दै आफ्ना तीन बुँदे धारणा ट्विटरमा उल्लेख गर्नुभएको छ । पहिलो बुँदामा उहाँले भन्नुभएको छ , ‘संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका वास्तविक जननी माओवादी जनयुद्ध र मधेशविद्रोह हुन् । अरू धाइ, सुसारे, पण्डा, नर्तकी, तमासे हुन्।’

त्यस्तै दोस्रो बुँदामा भट्टराईले प्रधानमन्त्रीलाई लक्षित गर्दै भन्नुभएकनो छ , ‘गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूको हातमा यो सुरक्षित छैन।’ ‘अपांग शिशुको उपचार र रक्षा गरौँ’, तेस्रो बुँदामा उहाँले उल्लेख गर्नुभएको छ ।

सरकारले भोलि(शनिबार) पाँचौं संविधान दिवस भव्य रुपमा मनाउने तयारी गरिरहेका बेला भट्टराई प्रधानमन्त्री ओलीमाथि खनिनुभएको हो । पाँच वर्षअघि २०७२ असोज ३ गते नेपालको संविधान जारी हुँदा डा. भट्टराई संविधानका मुख्य मुख्य विषयमा दलहरुबीच सहमति कायम गराउन गठित संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति हुनुहुन्थ्यो । भट्टराईले दिएको प्रतिवेदनका आधारमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको संविधान मस्यौदा समितिले संविधानको अन्तिम खाका तयार पारेको थियो।

भट्टराईले नै दिएको प्रतिवेदनका आधारमा संविधान जारी भए पनि उहाँले संविधानका केही प्रावधानप्रति असहमति जनाउँदै लगत्तै रुपान्तरित संसदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि निरन्तर संविधान परिमार्जन हुनुपर्ने आवाउ उठाउँदै आउनुभएका भट्टराई नयाँ शक्ति पार्टी नेपाल गठन गरेर संविधान निर्माणका बेला बहिस्कार गरेर सडकमा पुगेका तत्कालीन संघीय समाजवादी पार्टीसँग एकता गर्न पुग्नुभएको थियो ।

संविधान निर्माणप्रति असहमति राख्दै बहिस्कार गरेको अर्को दल राजपासँग समाजवादीले गत वैशाखमा पार्टी एकता गरेर जसपा दल गठन गरेको छ। ती दुवै दलले संविधान संशोधन हुनुपर्ने माग राख्दै आएका छन्। र संविधान दिवसलाई ‘कालो’ का रुपमा अथ्र्याउने गरेका छन्। संविधान जारी हुँदा बहिस्कार गरेका शक्तिसँग पार्टी एकता गरेर एउटै दलमा रहेका भट्टराई अहिले प्रधानमन्त्री प्रति निरन्तर कटाक्ष गर्दै आउनुभएको छ ।

संविधानसभाको जगको रुपमा हेरिएको २०६२/६३ को आन्दोलनमा गणतन्त्रको नारा लाग्दा ओलीले ‘बयल गाडा चढेर अमेरिका जाने चेष्टा’ भनि आन्दोलनलाई व्यंग्य गर्नुभएको थियो । तथापि तत्कालीन एमाले अध्यक्षको हैसियतमा ओलीकै अडानका कारण संविधान जारी भएको थियो, जसप्रति भट्टराई सहमत हुनुभएको थिएन । उक्त दुवै प्रसंगलाई जोड्दै भट्टराईले ‘गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूको हातमा यो सुरक्षित छैन’ भनि टिप्पणी गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू