अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५७ | Colorodo: 18:12

महिलालाई काम गर्न ‘खाडी’ नपठाउन सांसदहरुको माग

बिआरटीनेपाल २०७७ भदौ २९ गते ६:५७ मा प्रकाशित

सांसदहरुले महिलाहरुलाई खाडी मुलुकमा घरेलु श्रम गर्न जान रोक लगाउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा सांसदहरुले सुरक्षाको दृष्टिकोणले खतरा रहेको देशमा महिलालाई श्रम गर्न जान रोक लगाउनुपर्ने बताएका हुन्।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद देवेन्द्र पौडेलले असहज र असुरक्षित प्रकारले श्रम गर्न जानुपर्ने मुलुकमा पठाउने कार्यलाई रोक्नुपर्ने बताउनुभयो । उहाँले घरेलु कामदारको रुपमा खाडी मुलुकमा गएर धनि हुने स्थिति नहुने र महिला श्रमिकलाई असामान्य पिडा मात्रै हुने भएकाले श्रम गर्न जानका लागि प्रेरित गर्न नहुने बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद प्रकाश रसाईली (स्नेही)ले घरेलु कामदारको रुपमा महिला कामदारलाई पठाउने कुरामा सरकारले धेरै जोड गर्न नहुने बताउनुभयो । उहाँले दुईचार जना ठग, व्यापारी, लुटेराले पैसा कमाएपनि देशको नाम नै बदनाम हुने भएकाले महिला श्रमिकलाई खाडी मुलुक पठाउने कार्य रोक्नुपर्ने ठहर गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद मुकुन्द न्यौपानेले सबै पार्टीसँग सम्बन्धित गिरोहले महिलालाई खाडी मुलुक पठाउन दवाव दिने गरेको उल्लेख गर्नुभयो ।

महिला तथा समाजिक समितिका सभापति निरुदेवी पालले लुकिछिपि गएपनि विदेशमा अलपत्र परेका महिला श्रमिकलाई उद्दार गर्ने जिम्मेवारी सरकारको भएको बताउनुभयो । कोभिड १९ संक्रमणको अवस्थामा विदेशमा अप्ठेरो अवस्थामा परेका नागरिकलाई स्वदेश ल्याउने दायित्व सरकारको नै भएकाले ऐन नियम छैन भन्दै पन्छिने कार्य गर्न नहुने उहाँको भनाई छ।

कल्याणकारी कोषको रकम श्रम स्वीकृति लिएर जानेहरुका लागि मात्रै खर्च गर्न सक्ने व्यवस्था भए तत्काल नियम कानून संशोधन गरेर एक पटकका लागि ल्याउने व्यवस्था मिलाउनुपर्ने पालको भनाई छ। सरकारले भने कोभिड १९ संक्रमण पछि विभिन्न देशमा रहेका नेपाली श्रमिकहरुलाई उद्दार गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू