अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०६ | Colorodo: 02:21

नेपाल प्रहरी अन्तर्गतको सशस्त्र गुल्मको जिम्मा ५० वर्षपछि महिला अधिकृतलाई

बिआरटीनेपाल २०७७ भदौ २४ गते ७:०६ मा प्रकाशित

पचास वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाएकी छन्। जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाउनुभएको हो । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन उपशाखाले उनलाई सशस्त्र प्रहरी गुल्म पोखराको गुल्मपतिमा काज खटाएको छ ।

अञ्चल सशस्त्र प्रहरी गुल्म, गण्डकी पोखराअन्तर्गत गुल्मपतिको नामावलीमा उहाँको नाम ३४ नम्बरमा छ। विसं २०२६ यताका गुल्मपतिमा उहाँ पहिलो महिला हुनुहुन्छ भने नेपालमा दोस्रो गुल्मपति बन्नुभएको छ । नेपालमा पूर्णिमा चन्द नारायणहिटी सुरक्षा गुल्मको पहिलो गुल्मपति हुनुभएको थियो ।

कास्कीमा हुने विभिन्न आन्दोलन तथा प्रदर्शनमा हुने दङ्गा र भीड नियन्त्रणमा नेतृत्व गर्दै समन्वयकारी भूमिकासमेत गुरुङले बहन गनुृभएको छ । विसं २०७२ सालमा मानव बेचबिखनविरुद्ध प्रभावकारी काम गरेको मूल्याङ्कनका आधारमा महिला तथा बालबालिका मन्त्रालयबाट सम्मानित हुनाका साथै दर्जनभन्दा बढी सङ्घसंस्थाबाट उनी सम्मानित हुनुभएको छ ।

यसैबीच, गुरुङले प्रहरी सेवामा पछिल्लो समय महिलाको गर्विलो उपस्थिति निकै सकारात्मक भएको बताउनुभएको छ । प्रहरी सेवामा महिला सहभागिताले लैङ्गिक समावेशीकरण कायमका साथै समतामूलक र न्यायिक समाजको लागि भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । गुरुङले २०४९ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रारम्भ गर्नुभएको थियो । उहाँ विसं २०६७ मा प्रहरी निरीक्षकमा बढुवा हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू