अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३३ | Colorodo: 11:48

बुद्ध किन पूर्णिमाको दिन जन्मे ?- एक चिन्तन

रमा दुलाल २०८२ वैशाख २५ गते २०:४७ मा प्रकाशित

कसैले ओशोलाई प्रश्न गर्छन्- “बुद्ध पुरुषहरूसँग पुराण, कथाहरू किन जोडिन्छन् ? कृपया भन्नुहोस् न”
ओशो भन्नुहुन्छ- “यो धेरै महत्वपूर्ण प्रश्न हो । सबै बुद्ध पुरुषहरूको जीवनमा कथाहरू जोडिन्छन् । यसको कारण छ ।

पहिलो कुरा, बुद्ध पुरुषहरूको जीवनबाट यदि हामीले कथालाई झिक्यौ भने, के बाकी रहन्छ त ? कोरा खाका मात्रै बाकी रहन्छ। बुद्ध कहिले जन्मे, कुन तारिखमा जन्मे, कसको घरमा जन्मे ? यो थाहा पाएर के हुन्छ त ? पहिलो तारिखमा जन्मे कि दोस्रो तारिखमा जन्मे या तेस्रो तारिखमा जन्मे ? यो थाहा पाउँदा के फरक पर्छ र ? कहिले जन्मे, कहिले मरे न थाहा पाउँदा पनि के फरक पर्छ र ? बुद्ध पुरुषहरूको मूल्य त यस्तो चिज सङ्ग छ जुन न जनम सङ्ग छ, न मरण सङ्ग छ । जो जन्म्यो र मर्‍यो त्यो त शरीर थियो,त्यो त रूप थियो । यस्तो कुरामा हिसाब राख्नुको कुनै पनि सार छैन। त्यो त गौण छ, असार छ ।

इतिहासले त्यो असारमा ध्यान दिन्छ । पुराणले सारलाई समाउँछ । पुराणले बुद्ध कहिले जन्मे भनेर चिन्ता गर्दैन । पुराण बुद्धत्व के हो भनेर मनन गर्छ । पुराण अखबार होइन, घटनाहरूको चिन्ता गर्दैन, घटनाहरूको पछाडि लुकेको आभालाई समाउँछ । यी दुइमा धेरै फरक छ । यी दुई समाउनुको मतलब बिलकुल बेग्लै-बेग्लै छ ।

त्यो रात जब बुद्धले आफ्नो महल छोडे, त्यो बेला बुद्धभित्र के भयो होला त…? महल छोडे, यो बाहिरको घटना हो, यो इतिहासमा आइहाल्छ। तर महल छोड्दै गर्दा बुद्धको चेतनामा कस्तो तुफान उठ्यो…?, कसैले इतिहासमा त्यसलाई अङ्कित गर्न सक्दैन । मनमा कत्रो आन्दोलन उठेको होला, सुन्दर पत्नीलाई छोडेर जाँदै थिए ,भर्खर जन्मेको छोरालाई छोडेर जाँदै थिए–कस्तो तुफान उठेको होला ? छोडेर जब गए, अन्तिम चोटि मनमा आयो होला कि गएर एक चोटि हेरु, कम से कम छोरालाई त हेरु, फेरी भेट हुन्छ कि हुँदैन…? आमाको आँचलमा छोरा लुकेर सुती रहेको थियो । यशोधरा गहिरो निद्रामा सुती रहेकी थिइन। बुद्धको मन आयो कि आँचल उठाएर छोराको मुख एक पल्ट हेरु। फेरी यदि आँचल उठाए भने, यशोधरा ब्युझिन्छिन र अनि म जान सक्छु कि सक्दिन भनेर आफूले आफै लाई रोके । यदि यशोधरा रुन लागिन भने म जान सक्छु कि सक्दिन सोचेर उनले आफूलाई रोके । अनि, बिना आवाज चुपचाप ढोका बाटै फर्किए ।
अब यो घटना भयो कि भएन, यो कुरा महत्वपूर्ण हैन,तर यो घटना घट्नु पर्छ ।

यो फरकलाई बुझ्नु पर्छ । इतिहासले भन्नेछ कि तब मात्र यसलाई लेख्नेछु, जब यो घटित हुन्छ । पुराणले भन्नेछ कि, यो घटना भयो कि भएन यो कुरा एकदम अर्थहीन हो, तर यो घट्नु पर्छ । फरक बुझेका छौ नि ! घट्नु पर्छ ।

जुन स्त्रीलाई प्रेम गरे, जुन स्त्रीबाट बच्चा पैदा भयो, तिम्रो छोरा जन्मियो, उनलाई हेर्न उनको ढोकासम्म जाँदैनौ…? बुद्ध गए कि गएनन्, यो कुरा कति पनि महत्वपूर्ण हैन, तर जानु पर्छ । मनुष्यको स्वभाव हो कि अवश्य जान्छ। यो मनुष्यको स्वभावको लक्षण हो कि छोरालाई एक पटक भए पनि हेर्न उ जान्छ– यसमा दुबिधा भयो होला या भएन, बिचार गर्नु महत्वपूर्ण हैन । हुन सक्छ, बुद्ध चुपचाप गएका नै थिएनन्- त्यहाँ, तर मलाई पनि लाग्छ कि पुराण महत्वपूर्ण छ, बुद्धलाई पुराणले त्यहाँ लिएर गयो । यो सबै मनुष्यको भित्र घट्छ नै ।

तिमी अलिकति सोच त एक रात, आधा रात तिमी घर छोडेर जाँदै छौ भने, आफ्नी पत्नीलाई एक चोटि हेर्न चाहँदैनौ ? जसलाई यती चाह्यौ, जसलाई प्राण भन्दा बढी माया गर्‍यौ! आफ्नो छोरालाई एक पट्क हातले छुन चाहँदैनौ…? यो एकदम स्वाभाविक हो। यो मनोवैज्ञानिक पनि हो। ऐतिहासिक हो या हैन यसमा कुनै अर्थ छैन ।

जसले यो कुरा लेखे, उनले मनुष्यको मनलाई बुझेर लेखेका हुन । हुन सक्छ, बुद्ध जिद्दी किसिमका मानिस थिए र त्यसै गए। तर यो कुराले मेल खाँदैन । यदि यस्तो लेखेको भए कि बुद्ध चुपचाप उठे र हिँडे, फर्केर पनि हेरेनन् भने यो कुरा मानवीय हुँदैन, अमानवीय हुन्छ। मानिसले फर्केर हेर्छ ,फर्की-फर्की हेर्छ, पछुताउँछ, हजार चोटि सोच्छ, फर्की-फर्की आउँछ, गयो भने पनि फर्की-फर्की आउँछ ।

फेरी कथाले भन्छ कि शायद यस्तै भएको भए पनि यो ऐतिहासिक पनि हुन सक्छ । जब बुद्ध आफ्नो रथमा सवार भएर जान थाले भने त उनको घोडाको टापको आवाज यती ठुलो हुन्थ्यो कि सारा नगर ब्युँझिन सक्थ्यो। राजाको घोडा, राजाको रथ, घोडाको टाप–त्यो बेलाको त्यो श्रेष्ठतम घोडा थियो। त्यसको टाप यती जोडको हुन्थ्यो कि सारा गाउँ ब्युँझन्थ्यो, झन् जान गाह्रो हुन्थ्यो। पुराण भन्छ, देवताहरूलाई लाज्ञो कि यदि मानिस ब्युँझे भने बुद्धको यो जुन महा अभिनिष्क्रमण छ, रोकिन्छ ।

देवताहरूलाई लाज्ञो ।
देवता शुभको प्रतीक हो, जस्तो सैतान अशुभको प्रतीक हो । कुन देवता कस्ता हुन्छन्, यस्तो हैन । तर, देवता शुभको प्रतीक हो । यो अस्तित्वलाई पनि शुभलाई बचाउने आकाङ्क्षा हुन्छ, हुनुपर्छ, यो पुराणले भन्छ ।

अनि देवताहरूलाई लाज्ञो कि यो घोडाको टापले कतै बुद्ध न रोकिउन । बुद्ध जानबाट रोकिए भने त अनन्त-अनंत कालमा मुस्किलले कोही बुद्ध हुन्छ, यो महा-घटना रोकिनेछ। यदि बुद्ध बुद्ध भएनन् भने, करोडौँ मानिस जो उनले देखाएको बाटोबाट बुद्धत्वको यात्रा गर्छन्, उनीहरू वञ्चित हुन्छन्। यसैले अस्तित्वमा जुन शुभको तत्त्व छ, उनले तत्काल व्यवस्था गरे । उनले ठुल-ठुला कमलको फूल बाटोभरि बिझ्याइदिए, घोडाको खुर कमलको फूलमा पर्न थाल्यो, अनि त्यसको चोट गाउँमा कसैले पनि सुन्न सकेनन् ।

अब यस्तै भयो भनेर त भन्न सकिन्न ,तर यस्तो हुनु पर्छ । यो हाम्रो आकाङ्क्षा हो। पुराण मनुष्यको उदात्त आकाङ्क्षा हो ।

पुराणले हामीलाई यो भनिरहेको छ कि यो अस्तित्व हामी प्रति उपेक्षापूर्ण हुन सक्दैन, जब तिमी शुभ कार्य गर्छौ भने अपुर्व र अनन्त शक्तिहरूले तिम्रो साथ दिन्छ। यो कुरालाई प्रतीकमा राखिएको छ । जब तिमी खराब कार्य गर्छौ भने नितान्त तिमी एक्लो हुन्छौ, जब तिमी असल कार्य गर्छौ भने सारा अस्तित्वले तिम्रो साथ दिन्छ। हुनु पनि यस्तै पर्छ ।

हैन भने, अस्तित्वको अर्थ यो हुन्छ कि अस्तित्व तटस्थ छ, उसलाई हाम्रो जीवनसँग केही लिनु-दिनु छैन। हामी चोरी गर्छौ, हत्या गर्छौ; या हामी पुण्य गर्छौ, दान गर्छौ; हामी प्रेम गरौँ कि घृणा गरौँ; हामी धन जम्मा गरौँ कि ध्यान गरौँ, अस्तित्वलाई कुनै मतलब छैन । यो सन्सार ज्यादै फीका छ। यसको अर्थ यो भयो कि, हामीले जे सुकै गरे पनि अस्तित्वलाई केही लिनु दिनु छैन, फेरी हामीले गरेको कामको मूल्य के हो ? हामीले धन जम्मा गरौँ कि ध्यान जम्मा गरौँ, यदि दुबैमा अस्तित्वले कुनै भेद गर्दैन, भने सबै यहाँ साधु-असाधु बराबर हुन्छन् ।

पुराणले भन्छ- हैन, अस्तित्वले पनि हाम्रो चिन्ता गर्छ । जब तिमी खराब कार्य गर्छौ भने तिमी एक्लो हुन्छौ, तब तिमीलाई अस्तित्वले साथ दिँदैन। खराब कार्यको तिमी एक्लै जिम्मेवार हुन्छौ । यसैले खराब कार्य गर्दा यसलाई सम्झनामा राख्नु र जब तिमी राम्रो कार्य गर्छौ भने अस्तित्वले साथ दिन्छ। अस्तित्व जहिले पनि शुभ चाहन्छ। यो महत्त्वाकाङ्क्षालाई, यो अभीप्सालाई कथामा देखाइएको मात्र हो ।

कथामा त प्रतीक हुन्छ, कहानीमा त प्रतीक हुन्छ, प्रतीकहरूमा रहस्य लुकेको हुन्छ। देवताहरूले कमलको फूल बिछ्याइ दिए, घोडाको टाप कसैले सुनेनन्। देवताहरूले गाउँमा निद्रा यसरी फैलाइ दिए की सारा राजधानी गहिरो निद्रामा सुत्यो। जुन गाउँतिर जाने द्वार, पुरानो राजकोटको द्वार खोलिदा त्यसको आवाज कोसौँ सम्म सुनिन्थ्यो, जब द्वार खोलियो सारा गाउँ क्लोरोफार्म दिएको जस्ता भए ।

के यस्तो भएको हो र…?- यो प्रश्न होइन। यो न सोध कि यस्तो भयो कि भएन। यो सोध कि तिमीले गलत प्रश्न सोध्यौ। तर यस्तो हुनु पर्छ । बुद्धको महा अभिनिष्क्रमणको रात, जीवनको शुभतत्वले सबै किसिमले साथ दियो ।

पुराणको अर्थ हामी जे भन्ठान्छौ- त्यो होइन,पुराणको अर्थ जे देखिँदैन त्यसलाई उजागर गर्नु हो । जे देखिन्छ, त्यो त इतिहासले भन्छ, जुन देखिँदैन त्यसलाई पुराणले भन्छ । पश्चिममा पुराण जस्तो कुनै कुरा हुँदैन। यसैले पश्चिमको इतिहास दरिद्र छ । पश्चिमको इतिहासमा काव्य हुँदैन । जब इतिहासमा काव्य जोडिन्छ अनि पुराण जन्मन्छ । पुर्वले इतिहास लेखेनन्, पुराण लेखे, पश्चिमले इतिहास लेखे ।

यसैले, जब पश्चिमको कुनै विचारक आउँछन् त उनीहरू व्यर्थको कुरा सोध्छन् की बुद्ध यो तारिखमा जन्मेका हुन कि होइनन् ? यस्ता कुरामा वर्षों मेहनत गर्छन्- मानिस कुन तारिखमा जन्मे । हामी यसको चिता गर्दैनौ, हामी भन्छौ -कुनै पनि तारिखले काम दिन्छ।

अब हेर, बुद्धको जीवनमा उल्लेख छ कि बुद्ध पूर्णिमाको रात उनी जन्मे, अनि पूर्णिमा कै रातमा उनले संबोधि प्राप्त गरे, त्यस्तै पूर्णिमाको रात नै उनको देहावसान भयो। अब हेर, बुद्धको जीवनको यो कुरा पुराण जस्तो हामीलाई लाग्न सक्छ, इतिहास जस्तो लाग्दैन । यस्तो पनि हुन सक्छ कि कोही मानिस संयोगवश, पूर्णिमामा नै जन्मेको होस, पूर्णिमा नै ज्ञान प्राप्त भएको होस, पूर्णिमा नै देहावसान भएको होस। त्यही दिन जन्मिनु, त्यही दिन ज्ञान प्राप्त गर्नु, त्यही दिन देहावसान हुनु, यती संयोग हुनु पक्कै गाह्रो हुन्छ । यो शायद इतिहासको कुरा
न भए पनि घटना धेरै मूल्यवान् छ ।

पूर्णिमा त प्रतीक हो- पूर्णताको। त्यो पूर्णताको प्रतीकलाई समाएर पुराण बोल्छ । बुद्ध पूर्ण जन्मेका हुन्, पूर्णिमाको रातमा जन्मेका हुन्, शीतलता लिएर जन्मेका हुन्, पूर्ण छवि लिएर जन्मेका हुन्, पुर्ण सौन्दर्य लिएर जन्मेका हुन, अपूर्व अमृत लिएर जन्मेका हुन । अनि पूर्णिमाको रातमा नै उनीभित्र लुकेको यो अमृत बग्यो, प्रकट भयो, स्फुटित भयो, कमल खिल्यो। फेरी पूर्णिमाको रातमा नै बुद्धलाई ज्ञान प्राप्त भयो, किनकि ज्ञान पनि पूर्णिमाको रात नै हो ।

फेरी बुद्ध पूर्णिमाको रातमा नै बिदा भए, किनकि मृत्यु पनि बुद्धको पूर्ण हो, जन्म पनि पूर्ण हो । बुद्धको जीवनमा सबै पूर्ण छ। यो कुरालाई भन्नको लागी कि बुद्धको जीवनमा सबै पूर्ण छ, बुद्धको जीवन नै पूर्ण छ । हामीले यो प्रतीक छान्यौ- पूर्णिमाको रात। प्रतीक मानिस अलग-अलग छान्दछन्, तर प्रतीक मूल्यवान् न भएर, प्रतीकमा हामी जुन अर्थ हाल्छौ- त्यो मूल्यवान् हो ।

यसैले बुद्ध पुरुषहरूसँग पुराण उभिन्छ, पुराणका कथाहरू निर्मित हुन्छ। त्यही पुराणका कथाहरूको अर्थलाई बुझेर तिमी बुद्धत्वको अर्थ बुझ्दछौ।

सन्सारमा दुई प्रकारका अबुझ हुन्छन् । एउटा त्यो हो, जो पुराणका कथाहरू साँचो हो भनेर सिद्ध गर्न कोसिस गर्छन्- ऐतिहासिक अर्थमा यो साँचो हो, यिनीहरू पागल हुन । यिनीहरू कै कारणले व्यर्थको झन्झट उत्पन्न हुन्छ। यिनीहरू कवितालाई सत्य सिद्ध गर्न लाग्छन्, जस्तो कि चन्द्रमालाई देखेर मलाई मेरी प्रेयसीको याद आयो र चन्द्रमा यस्तो लाज्ञो कि मेरी प्यारीको मुहार हो ।

अब तिमी उ सङ्ग झगडा गर्न सक्छौ कि चन्द्रमाको प्यारीको मुहारसँग कुनै सम्बन्ध छैन। कहाँ चन्द्रमा, कहाँ प्यारीको मुहार । तिमी होसमा त छौ! त्यति ठुलो चन्द्रमा र त्यति सानो मुहार! अब प्यारीको मुहारमा यती ठुलो चन्द्रमा राख्यौ भने उनी त मर्छिन् नै र तिमीलाई थाहा छ, अहिले त वैज्ञानिकहरूले चन्द्रमाबाट ढुङ्गा-माटो पनि लिएर आएका छन्, त्यहाँ कुनै सौन्दर्य छैन। ढुङ्गा-माटो, कंकड़-पत्थर, खाई-खड्डा छन्-त्यहाँ। कहाँ प्यारीको मुहार र कहाँ चन्द्रमा! कहाँ ढुङ्गा-माटोसङ्ग तिमी प्यारीको मुहारको तुलना गरिरहेका छौ! होसमा त छौ…?
यदि कसैले यस्तो जिद्दी गरे भने गाह्रो हुन्छ । तिमी प्रमाणित गर्न सक्दैनौ, तिमि भन्नेछौ- क्षमा गर, कविता लेखे, गल्ती भयो।

तर तिमीले बुझेनौ । किनकि, कविता जसले लेखेका थिए उनले यो पनि भनेका छैनन् कि जो तिमी भनिरहेका छौ । उनले यो भनिरहे कै थिएनन् कि ,जुन तिमी भनिरहेका छौ। उनी त यती मात्र भनिरहेका थिए कि चन्द्रमालाई हेरेर केही साम्य, केही तालमेल, आफू भित्र केही सौंदर्यको आगमन, भित्र कुनै लहरले जन्म लिन्छ। त्यो लहर ठिक त्यस्तै हो जस्तो मेरी प्रेयसीको चेहरालाई देख्दा म भित्र हुन्छ । यी दुवै सौन्दर्यमा केही समता छ, केही तालमेल-यती मात्र उनले भनेका हुन ।

उनी यो भन्दैनन् कि चन्द्रमा र मेरी प्रेयसीको मुहार एउटै चिज हो, उनी कुनै गणितको हिसाबले बोल्दैनन् । उनी केवल यती मात्र नै भन्छन् कि- चन्द्रमा देखेर कसमसाहट हुन्छ जस्तो मेरी प्यारीको मुहार देखेर हुन्छ । चन्द्रमा सङ्ग पनि त्यसरी नै लवलीन हुन्छु जसरी म मेरी प्यारीको मुहार देखेर लवलीन हुन्छु ।यती मात्र भनेको हो । उनी एक साम्यको कुरा गरिरहेका छन्। साम्य ठुलो बारीक हो र साम्य चन्द्रमा । म र प्यारीको मुहारमा होइन, साम्य उनको हृदयमा छ ।

यसैले जसले लेखेका हुन कि बुद्ध पूर्णिमामा जन्मेका हुन, बुद्धले पूर्णिमामा ज्ञान प्राप्त गरे, बुद्धले पूर्णिमाको दिन शरीर त्यागे, हुन सक्छ, पूर्णिमा उनको भक्तको हृदयमा अविस्मरणीय छ, अनि त्यो भक्तले अनुभव गरेको होला कि यस्तो हुनु पर्छ र बुद्ध कुनै अरू दिन जन्मेका हुन यो कुरा ठिक हुँदैन ।

अब जस्तो बुद्ध दशमी तिथिमा जन्मेका हुन, यो ठिक लाग्दैन, बेहुँदा लाग्न सक्छ । यस्तो हुनु पर्छ कि बुद्ध दशमी तिथिमा जन्मे! एकादशी तिथिमा ज्ञान प्राप्त गरे! यो कुरा अलि ठिक लाग्दैन । अलिकति तपाइ सोच्नुहोस् त…? दशमी तिथिमा बुद्ध जन्मनु ठिक लाग्दैन । पूर्णिमा एकदम ठिक लाग्छ, यस्तो हुनु पर्छ, जसले बुद्धलाई प्रेम गरेका छन्, उनको हृदयमा झाँक्यौ भने यो कुरा बुझ्ने छौ ।

जब बुद्धलाई ज्ञान प्राप्त भयो, अनि कथाले भन्छ, जुन वनमा निरंजनाको तीरमा बसेर उनलाई ज्ञान प्राप्त भयो, अचानक बेमौसम फूल फक्रियो। यदि कुनै वैज्ञानिकले यसको परीक्षण गर्‍यो भने मलाई लाग्दैन कि बेमौसममा फुल फक्रिन्छ…? ।

तर फक्रिनु पर्छ। यति मानिसको हृदयमा फूल फक्रियो, यसलाई कसरी प्रकट गरे ? यसलाई प्रकट गर्नको लागि एउटा व्यवस्था खोजे, एउटा काव्य बनाए की बुद्धलाई जब ज्ञान प्राप्त भयो वृक्षहरूमा बेमौसमको फूलहरु फक्रिन थाले। मौसम अनुकूल थिएन । तर यति ठुलो घटना घट्दा कसले मौसम, गैर-मौसमको चिन्ता गर्छ ? मौका आएको छ कि फूल फक्रिनुपर्छ। सुखेको वृक्ष पुनः हरियो भयो, जसमा वर्षोंसम्म अंकुर आएको थिएन, अंकुर पलायो। हुनु पर्छ-यस्तो ।

कयौँ सूखेका हृदय अंकुरित भए! यसलाई कसरी परिभाषित गर्छौ…? कयौँ मानिस जन्मौँ देखी सूखेका थिए, बुद्धको अमृतकण उनीहरूमा पर्‍यो र उनीहरू हरिया भएर । उनीहरूमा नयाँ अंकुर पलायो । जीवनले नयाँ हरियाली देख्यो, नयाँ गीत गायो। यो कुरालाई प्रतीकको रूपमा स्वीकार गर्‍यौ भने,पुराणको अर्थ थाहा हुन्छ ।
यसैले एक त यस्ता मानिस छन् कि जे पुराणमा लेखिएको छ, त्यो नै ठिक हो भन्छन् । उनीहरूले पनि पुराणको हत्या गर्छन् । अर्को यस्ता पनि पागल छन्, उनीहरू भन्छन् कि जे पनि पुराणमा छ त्यो सबै असत्य हो। उनीहरूले पनि पुराणको हत्या गरी दिन्छन् ।

न त सबै सत्य हो, न सबै असत्य हो। पुराणमा बडो काव्यात्मक सत्य छ। काव्यात्मक सत्यको अर्थ हुन्छ कि सत्य बडो प्यारो र मीठो तरिकाले भनिएको छ। जब हामी कुनै कुरालाई प्यारो र मिठो तरिकाले भन्छौ भने असत्यको उपयोग गरिन्छ । सत्यलाई यस प्रकारले उपयोग गरिएको छ र असत्यलाई यस प्रकारले उपयोग गरिएको छ कि दुबैमा विरोध रहँदैन । पुराणको अर्थ हो, सत्यलाई भन्नु पर्दा असत्यको पनि उपयोग गरिएको छ।
यो धेरै अद्भुत कुरा हो। यस्तै हुनु पर्छ कि असत्य पनि सत्यको भरेङ बनोस्। असत्यको पनि उपयोग गरियो, त्यसलाई पनि व्यर्थ जान दिइएन। काव्यको पनि उपयोग गरियो, कथाको पनि उपयोग गरियो, यिनीहरूलाई व्यर्थ जान दिइएन। केही छोडिएन, जीवनमा जे पनि थियो सबलाई ठिक ढङ्गबाट प्रयोग गरियो-बुद्धको महासंगीतको लागि ।

यसैले बुद्धपुरुषहरुबाट कथाहरू जन्मन्छन्, अनौठो कथाहरू जन्मन्छन् । त्यो मानिसलाई म ठिक-ठीक समझदार मानिस भन्छु, जो न त पुराणलाई अक्षरशः सत्य सिद्ध गर्ने चेष्टा गर्छ र न अक्षरशः झुट सिद्ध गर्ने चेष्टा गर्छ । जो पुराणलाई काव्यको तरह बुझ्ने कोसिस गर्छन् ।

यसरी गहन अर्थ प्रकट हुन्छ। यस्तो अर्थ जुन कुनै अरू तरिकाले लेखिन सक्दैन थियो, न भन्न नै सकिन्थ्यो । जीवनको गहन सत्यलाई प्रकट गर्नको लागी पुराण एक अनौठो शैली हो ।
(बुद्ध पूर्णिमाको अवसरमा तयार पारिएको)

लोकप्रिय