अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४६ | Colorodo: 22:01

ओशोले किन गुर्जियफको नाम लिन्थे…?

रमा दुलाल २०८१ साउन २६ गते १२:१६ मा प्रकाशित

लेख
ओशोलाई सुन्नु मेरो नियति बनेको छ। मेरो बानी भएको छ। प्रत्येक दिन आधा घण्टा बिहान-बेलुका उनलाई सुन्नु मेरो दैनिकी भएको छ । साँच्चै भन्ने हो भने, उनको आवाज, उनको तर्किकता, उनको दर्शन, उनको बुझाइ, उनको शैली, उनको जीवनी मेरो जीवनको नशा बनेको छ।

उनलाई सुन्ने कर्ममा प्राय: जसो प्रत्येक प्रवचनमा उनी जर्ज गुर्जियफको उपमा दिन्छन्। जर्ज गुर्जियफलाई अगाडि ल्याउँछन्। गुरु यस्तो हुनुपर्छ- उनी बखान गर्छन्- जर्ज गुर्जियफको । अनि मेरो मनमा आउँछ -को हुन जर्ज गुर्जियफ.. ? किन ओशोलाई गुर्जियफ यती मन परेको ? कारण के हो ? गुर्जियफ प्रति मेरो जिज्ञासा जाग्दै गयो ।

जर्ज गुर्जियफ- हुनसक्छ, हामीमध्ये पनि धेरैले यिनको नाम सुनेका छैनौँ। सुने पनि यिनी को हुन्…? किन यिनी प्रख्यात छन् ? हामीलाई थाहा नहुन सक्छ। उनको यो बखान सुन्ने क्रममा मलाई पनि जर्ज गुर्जियफ बारेमा जान्ने-बुझ्ने इच्छा जाग्यो। अनि म गुर्जियफको बारेमा जान्न उत्सुक्त भए।

जर्ज गुर्जियफ (१८७७–१९४९) को जन्म रुसको अलेक्जान्ड्रोपोल, वर्तमान आर्मेनियामा भएको थियो। उनी एक दार्शनिक, आध्यात्मिक गुरु, सङ्गीतकार, नृत्य तथा रहस्यवादी शिक्षक थिए, जसलाई उनका अनुयायीहरूले प्रबुद्ध गुरुको रूपमा मान्छन्। उनको पुरा नाम जर्ज इवानोविच गुर्जियफ हो। उनका बुबा इभान इवानोविच गुर्जियफ ग्रीक थिए, जसले १८७० मा गाईबस्तु र भेडाहरूको व्यवस्थापन गरे। गुर्जियफकी आमा आर्मेनियाई थिइन् ।

उनको जीवन कहानी त्यति नै रहस्यमय छ, जति उनको शिक्षा। उनको जन्मको सही वर्षसम्म पनि विवादित छ र उनको शुरुआती जीवनको बारेमा ज्यादै थोरै जानकारी उपलब्ध छ । उनका पुर्खाहरू गोठाला थिए, जो टर्कीको क्यापाडोसियाबाट बसाइँ सरेका थिए।

गुर्जियफले आफ्नो प्रारम्भिक वयस्क वर्षहरू इजिप्ट र मध्य पूर्व, भारत र विशेष गरी मध्य एसियाका अन्य भागहरूमा विभिन्न आध्यात्मिक परम्पराहरूको बारेमा सिक्दै बिताएका थिए।

जर्ज गुर्जियफ एक अद्भुत गुरु थिए। उनलाई एक धूर्त सन्त भनेर पनि चिनिन्थ्यो। किनभने उनको विधि धेरै कठोर थियो र उनी मानिसहरूसँग पागल कुराहरू गर्दथे। उनी मानिसमा असहनीय चाल खेल्दथे!

बेलायतमा उनको शक्तिशाली उपस्थिति थियो र जब उनी बोल्दथे, मानिसहरू सुन्नको लागी भिड लाग्दथ्यो। यदि गुर्जियफले कुनै साँझ छ: बजे बोल्नु थियो भने , बेलायतको उनले भाषण गर्ने हल खचाखच भरी-भराऊ हुन्थ्यो। छ: बजे भन्दा यदि कोही एक मिनेट पनि ढिलो भयो भने, ढोका बन्द हुन्थ्यो। त्यसैले मानिसहरू छ: बजे भन्दा अगाडी नै आएर नौ/दस बजेसम्म पनि पर्खेर बस्दथे। हरेक पन्ध्र मिनेटमा गुर्जियफका चेलाहरू आएर भन्थे, “उनी अब आउँदछन्।” यसरी नै दस बजेसम्म मानिसलाई पर्खाइ रहन्थे-गुर्जियफ ।

त्यस पछि चेलाहरू आएर भन्थे, “गुर्जियफ आज बोल्नुहुन्न। आज राती बाह्र बजे उहाँ यहाँबाट सय किलोमिटर टाढाको अर्को सहरमा बोल्न जाँदै हुनुहुन्छ।” त्यस पछि त्यी मध्ये केही मानिस बाह्र बजे त्यहाँ पुग्नको लागि त्यो सहर तर्फ प्रस्थान गर्थे। बाँकी थकित भई घर फर्कन्थे । अर्को सहरमा पनि त्यी गएका मानिसलाई बिहानसम्म पर्खाइ राखिएको हुन्थ्यो। बिहान सबेरै चेलाहरूले भन्थे, “गुर्जियफ यहाँ बोल्नुहुन्न। भोलि दिउँसो बाह्र बजे अर्को ठाउँमा बोल्न जाँदै हुनुहुन्छ ।” त्यस पछि त्यो अर्को सहरमा पनि ज्यादै थोरै मानिस जान्थे।

त्यसपछि गुर्जियफ आउँथे र प्रवचन दिन्थे। उनी भन्दथे- “यो ज्यादै राम्रो हो। म यी थोरै जनासँग मात्र कुरा गर्न चाहन्छु। अरू त मनोरञ्जनका लागि मात्रै आएका हुन। उनीहरू जानु नै राम्रो हो।” अनि उनी त्यी ज्यादै थोरै जना सँग मात्र कुरा गर्दथे ।

उनले जर्मनीमा एउटा आश्रम खोलेका थिए,जसलाई शिविर भनेर चिनिन्थ्यो। युरोपेली समाजका कुलीनहरू- प्रभुहरू, धनाढ्यहरू त्यो शिविरमा आउँथे। जीवनमा कहिल्यै काम नगरेका यी मानिसहरूलाई कोदालो, बन्चरो, हँसिया-खुर्पा तथा साबेल दिइन्थ्यो र गुर्जियफले भन्थे, “आज तपाइहरूले यो खाडल निकै तीव्रताका साथ खन्नुपर्छ। खाजाको लागि पनि ब्रेक नगर्नुहोस्।” तिनीहरू सबै मिलेर खाडल खन्दथे, किनकि यो गुर्जियफको आज्ञा थियो । साँझसम्म, तिनीहरू सबै थकित र असहनीय पीडामा हुन्थे। जब गुर्जियफले उनीहरूले सहन नसक्ने गरी थाकेका देख्दथे, अनि उनी भन्दथे- “ठिक छ,अब अलिकति खनेर खाडल पुन पुरेरै आउनुहोस्।” त्यो सुनेर त्यी मानिसहरू पागल जस्तै हुन्थे । दिनभरि उनीहरू काम गरिरहनु पर्थ्यो। त्यस समयमा त्यी मध्ये नब्बे प्रतिशत मानिसहरू शिविरहरूबाट भाग्दथे, किनभने तिनीहरूलाई रोल्स रोयसको प्रतीक्षा हुन्थ्यो। तिनीहरू ज्यादै धनी मानिस थिए। त्यसपछि गुर्जियफले बाँकी दश प्रतिशत सँग वास्तविक काम गराउँथे।

गुर्जियफलाई प्रसिद्ध बनाउने एक व्यक्ति हुन-“ओस्पेन्स्की।“ ओस्पेन्स्की आफैमा पनि एक धेरै प्रसिद्ध व्यक्ति हुन। उनी पनि एक महान् दार्शनिक, गणितज्ञ र तीक्ष्ण बुद्धि भएका व्यक्ती हुन। उनले सयौँ पृष्ठ लामो सत्यतामा आधारित- सत्यको खोज सम्बन्धी पुस्तक लेखेका छन् ।
जब उनी गुर्जियफलाई भेट्न गए, उनलाई धेरै समय पर्खाइयो – लगभग तीन चार दिन। गुर्जियफको काम थिएन, तर पनि उनले ओस्पेन्स्कीलाई हेर्दै हेरेनन्। ऊनी कहिले शौचालय जान्थे, कहिले बाहिर निस्कन्थे त कहिले बगैँचामा घुम्थे तर उनले ओस्पेन्स्कीतिर हेर्दै हेरेनन् । यो देखेर ओस्पेन्स्की निकै रिसाए । अन्तमा जब उनलाई गुर्जियफलाई भेट्ने मौका दिइयो, गुर्जियफले भने, “तपाइले ठुला-ठूला पुस्तकहरू लेख्नु भएको छ, त्यसैले तपाईँलाई धेरै थाहा छ। तपाईँलाई थाहा भएको कुराहरू बोलेर फेरि समय बरबाद गर्नुको कुनै मतलब छैन। एउटा काम गर्नुहोस्,”
उनले ओस्पेन्स्कीलाई एउटा सानो कागज र एउटा पेन्सिल दिए र भने, “यो कागजमा तपाईँलाई थाहा भएका सबै कुराहरू लेख्नुहोस्। हामी तपाईँलाई थाहा नभएको कुराको बारेमा कुरा गर्नेछौँ।“

त्यो सानो कागज जसले ओस्पेन्स्की जस्ता महान् विद्वानको ठुलो अपमान थियो, उनले आफूलाई धेरै अपमानित महसुस गरे तर पनि उनी त्यो कागज र पेन्सिल लिएर गुर्जियफको अगाडी बसे र उनले गुर्जियफलाई हेरी रहे……हेरी रहे…। धेरै घण्टा बित्यो । दुबै जना त्यहाँ थिए तर ओस्पेन्स्कीले यो कागजमा एक शब्द पनि लेख्न सकेनन् । उनले पूरै आफू हराएको महसुस गरे। त्यसपछि उनको आँखाबाट आँसु बग्यो र उनले भने “मलाई साँच्चै केही थाहा छैन।”

गुर्जियफले भने, “तपाइलाई केही थाहा छैन ? मैले सुनेको छु कि तपाइले सयौँ पृष्ठ लामो सत्यका कुराहरू लेखनु भएको छ। तपाईले यति धेरै पृष्ठहरूमा कसरी सत्य फैलाउनुभयो…? सत्य त सानो हुनुपर्छ।” ओस्पेन्स्की रोए र आत्मसमर्पण गरे। गुर्जियफले उनलाई आफ्नो शिष्यको रूपमा स्विकारे। अहंकार तोड्न मात्र त्यस्तो गरिएको थियो । तर त्यसपछि पनि वास्तविक यातना जारी नै रह्यो।

यस्ता धेरै अद्भुत तथा अनौठो घटनाहरू गुर्जियफबाट ओस्पेन्स्कीको जीवनमा घटेका छन्। तर उनले कहिल्यै पनि हार मानेनन्, जहिले पनि गुर्जियफको परीक्षामा उनी सफल नै भए ।

ओस्पेन्स्कीले गुर्जियफका शिक्षाहरू पश्चिमी पाठकहरूलाई बुझ्न सकिने बौद्धिक रूपमा प्रस्तुत गरेका छन्। ओस्पेन्स्कीका अनुसार गुर्जियफको विधि, प्रक्रिया, आफूलाई विकसित गर्ने व्यावहारिक पक्षमा आधारित थियो। यो प्रक्रियालाई “चौथो मार्ग”(“मार्ग” ज्ञानको मार्गको लागि परम्परागत शब्द हो) भनेर चिनिन्छ । उनको तीन मार्ग – फकिरको मार्ग, भिक्षुको मार्ग र योगीको मार्ग भन्दा “चौथो मार्ग” भिन्न छ। फकिर शरीरमा मात्रै, भिक्षुले भावनामा र योगी मनमा केन्द्रित हुन्छन्। चौथो मार्गको उद्देश्य तीनवटैलाई नयाँ संश्लेषणमा एकीकृत गर्नु हो, जसले मानिसको अस्तित्वको हरेक पक्षलाई एकै साथ प्रभाव पार्छ। अन्य परम्पराहरूको विपरीत, चौथो मार्गलाई गुरु वा सन्त, मूर्ति वा मन्दिर, आश्रम वा कम्युनमा प्रचलित अनुष्ठानहरूको पालनाको आवश्यकता पर्दैन। साधकहरूले घर, परिवार, पेसा वा दैनिक जीवनबाट अलग रहनु आवश्यक छैन। अत:यो पारम्परिक धर्म भन्दा भिन्न छ र यसले आत्म-जागरूकता र आन्तरिक सङ्घर्षको माध्यमद्वारा आध्यात्मिक विकासमा जोड दिन्छ। गुर्जियफको मार्ग भनेको आत्म-ज्ञानको माध्यमबाट आत्म-रूपान्तरण हो।

गुर्जियफको आधारभूत भनाइ थियो कि मानव जीवन सामान्य रूपमा बाँच्ने निद्रा जस्तै छ; निद्राको अवस्थालाई पार गर्नको लागि काम चाहिन्छ, तर, जब यो प्राप्त हुन्छ, उ जीवन-शक्ति र जागरूकताको उल्लेखनीय स्तरमा पुग्न सक्दछ। उनी “आफैमा काम” मार्फत मानिसको अस्तित्वको विकासमा विश्वास गर्ने पहिलो विचारक थिए। गुर्जियफले आफ्नो कार्यलाई मानिसको अस्तित्व परिवर्तन गर्ने रूपमा देख्दथे- यद्यपि अन्ततः परिवर्तन भएको चेतनाले संसारलाई परिवर्तन गर्ने निहितार्थ छ । सोच, धारणा वा भावना भन्दा धेरै माथि व्यापक रूपमा “चेतना” शब्द प्रयोग गर्ने पहिलो व्यक्ति गुर्जियफ थिए। उनले एकाग्रता र आत्म-जागरूकताको लागि व्यावहारिक अभ्यासहरू पनि प्रस्तुत गरे। उनले आघात, आश्चर्य र कडा परिश्रमलाई आत्म-द्वन्द्वको माध्यमको रूपमा प्रयोग गरे।

गुर्जियफको विचार “एसेम्बलिंग” (संयोजन) को अवधारणा हो। उनी भन्दथे कि धेरै जसो हाम्रो चेतना टुक्रा-टुक्रा भएर छरिएको हुन्छ । आध्यात्मिक कार्यको लक्ष्य यी टुक्राहरूलाई समेट्नु हो र सचेत व्यक्ति बन्नु हो।“ उनी- “जबसम्म मानिसले आफ्नो चेतनालाई समेट्न सक्दैन, तबसम्म सही वैज्ञानिक ज्ञान र अनुसन्धानका नवीनतम विधिहरूको भण्डार पाए पनि उनीहरू पाषण युग मै हुन्छन् । उनको दर्शन-“जागृत सुषुप्ति”मा आधारित छ। “जागृत सुषुप्ति” भन्नाले “अधिकांश मानिस बेहोशीको अवस्थामा बाच्दछन्, उनीहरू आदत र प्रतिक्रियामा हिँड्दछन्। यो अवस्थामा उनीहरू “आत्म-यान्त्रिक मसिन” जस्तै भएर काम गर्दछन्। यो जालबाट निस्कनको लागी, गुर्जियफ “आत्म-स्मरण” को अभ्यासमा जोड दिन्छन् । यानि वर्तमान क्षणमा सजग रहनु र आफ्नो विचार, भावना र कामलाई हेर्नु हो ।यो “आत्म-विकास” र आत्म-स्मरण” द्वारा स्वयंलाई बदल्ने प्रक्रिया हो ।

यो अवस्थाका मानिसहरूको मानसिक कार्यहरू,विचार, भावना र शरीर संवेदनाहरू- एक असन्तुलित विकासमा एक-अर्काबाट विच्छेदन हुन्छन्, र उनीहरूको सोच अनुसारका घटनाहरुलाई केवल एक पक्षबाट मात्र प्रतिक्रिया गरिन्छ। किनकि उनीहरूको चेतना जागृत हुँदैन, यसैले उनीहरू “जागृत सुषुप्ति” को अवस्थामा बाच्दछन् र निद्रामै मर्दछ, यसैले उनीहरूको सबै अनुभव पूर्ण रूपले व्यक्ति-सापेक्ष हुन्छ। अनि, चेतना अवरुद्ध हुन्छ, किनकि आत्मा र संसारको धारणा आयामी हो।

गुर्जियफको अनुसार एकातिर मानिस यंत्रवत जीवन बाच्दछन् भने अर्को तिर यो पनि सम्भव छ कि उनीहरूमा जाग्न सक्ने क्षमता पनि छ, यसैले उनीहरू नयाँ जीवन बाच्न पनि सक्दछन्। उनी ओस्पेन्स्कीलाई भन्ने गर्दथे- “बाह्य रूप परिवर्तन हुन्छ। सार परिवर्तन हुँदैन। मानिस उस्तै रहिरहन्छ ।… आधुनिक सभ्यता हिंसा, दासता र राम्रा शब्दहरूमा आधारित छ।“

गुर्जियफको लक्ष्य मानिसलाई जागरूक, जिम्मेवार र आध्यात्मिक प्राणी हुनुमा मदद गर्नु थियो । गुर्जियफको भनाइ थियो कि मनुष्यमा एक “उच्च स्व” हुन्छ, जुन चेतनाको एक विकसित रूप हो । यो “आत्म-यान्त्रिक” अस्तित्वभन्दा पर छ र सम्भावनाहरूको प्रतिनिधित्व गर्दछ । हाम्रो यात्रा यो “उच्च स्व” लाई जगाउनु र त्यससित जोडिनु हो । गुर्जियफको विश्वास थियो कि- आराम र सुख आध्यात्मिक विकासको बाधक हो। साँचो विकास असुविधा, सङ्घर्ष र आन्तरिक पीडाको माध्यमबाट आउँदछ । यो अनुभवले हामीलाई जागृत गर्दछ र हामीलाई बदल्न प्रेरित गर्दछ ।
गुर्जियफले ब्रह्माण्डलाई एक विशाल “कस्मिक ड्रामा” को रूपमा हेरे, जहाँ सबै कुरा एक-आपसमा जोडिएको हुन्छ । हाम्रो लक्ष्य यो नाटकलाई बुझ्नु र त्यसमा आफ्नो भूमिका निभाउनु हो ।

यो यस्तो विचार हो जुन गुर्जियफको दार्शनिकतालाई उनीद्वारा सिकाइएको विशिष्ट अभ्यासभन्दा झन् विशिष्ट बनाउँछ । यी विचारले गुर्जियफको यो विश्वासलाई दर्साउँदछ कि आध्यात्मिक विकास एक जटिल र चुनौतीपूर्ण यात्रा हो, जसले आत्म-जागृति, आन्तरिक सङ्घर्ष र ब्रह्माण्डसँग जोडिनाले मात्र प्राप्त हुन्छ ।

अन्तमा, गुर्जियफ एक विवादास्पद व्यक्ति भएता पनि, पश्चिमी मनोविज्ञान र आध्यात्मिक आन्दोलनमा उनको शिक्षाको गहिरो प्रभाव आज पनि परेको छ, उनको शिक्षाले त्यी मानिसलाई आकर्षित गर्दछ, जो आत्म-जागरूकता, आध्यात्मिक विकास र आफ्नो जीवनमा अति सचेत रूपले बाच्ने तरीका खोजी रहेका हुन्छन् ।यसैले त ओशोले प्रत्येक प्रवचनको कुनै पनि विधामा उदाहरण दिनु पर्दा प्राय:जसो जर्ज गुर्जियफको नाम लिने गर्दथे ।