लघुकथा
कुनै अनिर्वचनीय कालखण्डको धुवाँको मुस्लोले कालाम्य एक गल्लीभित्र अदृश्य कार्यालय थियो । त्यहाँ रहेका कागजहरूलार्इ आफू हु भन्नेमा शङ्का थियो । फाइलहरू मस्त निद्रामा रहन्थे, स्वप्नरहित निद्रा । त्यहाँ रहेकी एक पाण्डुलिपि दिनदिनै हराउने गर्दथिन् । टिप्पणीमा लेखिन्थ्यो: कारिन्दाको लापरबाही । त्यहाँ मृत्युलाई टेबलमुनि लुकाइन्थ्यो र जीवन मात्र रजिस्ट्रारको ब्लु इन्कको सहाराले जीवित रहन्थ्यो ।
राघव पनि त्यहीँ थिए । कुनै समय गीतको व्याकरण अनि अहिले मौनताको ब्याकस्पेस । उनको आत्म विशेषण कम्पनमा थियो, प्रयोग नभईकन अस्वीकृत । उनले संविधानका खण्डहरूमा ‘अनुभूतिका हकमाथि’ निवेदन लेखेका थिए । तर प्रणालीले भन्यो: “यो त अशिष्ट याचना हो ।” त्यसपछि त्यो निवेदन म्युजिक शोको बिचमा जोक्स सेग्मेन्टमा प्रसारित भयो- “कस्तो सिर्जनात्मक आग्रह!” दर्शक ताली बजाउँदै हाँसे । संवेदनाको “मार्केट भ्यालु” राम्रो देखिएन !
अन्ततः उनी मौन भए । उनको मौनतामा रेडियो साइलेंस थिएन । टेलिभिजनमा जोडदार विचार, विमर्श र प्रस्तुतिहरूले बजार पाएको थियो । उनको मौनता आत्महत्या थिएन । त्यो ‘अन रजिस्टर्ड विद्रोह’ थियो, जसलाई प्रणालीले नाम दिन सकेको थिएन ।