भारत र पाकिस्तानले केही दिनदेखि सीमापारि सैन्य आक्रमण गर्ने क्रमलाई तत्काल रोक्ने गरी ‘पूर्ण युद्धविराम’ घोषणा गरेको केही घण्टामै एकअर्कामाथि उक्त सहमति “उल्लङ्घन गरेको” आरोप लगाएका छन्।
शनिवार राति भारत-प्रशासित कश्मीरमा धेरैवटा विस्फोटनको आवाज सुनिएपछि भारतका विदेशसचिव विक्रम मिसरीले “हामीले गरेको सहमतिको पटकपटक उल्लङ्घन” भएको बताए।
त्यसको केही समयपछि पाकिस्तानको विदेश मन्त्रालयले “केही क्षेत्रमा भारतले सहमति भङ्ग गरिरहेको” प्रत्यारोप लगायो। तर उसले पाकिस्तान “युद्धविरामको कार्यान्वयनका लागि प्रतिबद्ध” भएकोमा जोड दियो।
भारत र पाकिस्तानबीच गत बुधवार मध्यरापछि चलेको लडाइँलाई केही दशकयताको सबैभन्दा नराम्रो सैन्य द्वन्द्व मानिएको छ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा भारत र पाकिस्तानबीच युद्धविरामको सहमति घोषणा गर्दै त्यसका लागि अमेरिकाले मध्यस्थता गरेको बताएका थिए।
पछि भारत र पाकिस्तानका अधिकारीहरूले सहमति भएको पुष्टि गरे। पाकिस्तानका विदेशमन्त्रीले सहमतिमा पुग्न “तीन दर्जन देशहरू”को कूटनीतिक संलग्नता भएको बताए।
तर त्यसको केही घण्टापछी भारत-प्रशासित कश्मीरका श्रीनगर र जम्मू क्षेत्रमा स्थानीय बासिन्दा तथा बीबीसी संवाददाताहरूले विस्फोटनहरूको आवाज सुनेको र आकाशमा उज्यालो र चम्किलो बस्तुहरू देखिएको विवरणहरू दिएका थिए।
भारतले के भनेको छ?
भारतमा स्थानीय समय अनुसार रातको ११ बजे तिर गरिएको छोटो प्रेस ब्रिफिङमा भारतीय विदेश सचिव विक्रम मिसरीले भने, “केही दिनदेखि भइरहेको सैन्य कारबाही रोक्ने सम्झौता आज अपराह्न भएको थियो। तर त्यसको केही घण्टापछि नै पाकिस्तानको तर्फबाट त्यसको घोर उलङ्घन भएको छ।”
उनले भने,”भारतीय सेनाले जबाफी कारबाही गरेको छ र सीमामा अतिक्रमणसँग जुधिरहेको छ। यो एकदमै निन्दनीय छ र यसका लागि पाकिस्तान जिम्मेवार छ।”
करिब अढाई मिनेट चलेको प्रेस ब्रिफिङमा भारतका विदेश सचिव विक्रम मिसरीले पाकिस्तानलाई उलङ्घनका घटनालाई सम्बोधन गर्न पनि आह्वान गरे।
उनले भने,”पाकिस्तानले अवस्थालाई राम्ररी बुझोस् र यो अतिक्रमणलाई रोक्न तुरुन्त उचित कारबाही गरोस्।”
“सेनाले स्थितिमा कडा नजर राखिरहेको छ र उसलाई कुनै पनि प्रकारको अतिक्रमण प्रति प्रतिक्रिया जनाउन आवश्यक ठोस र कडा कदम चाल्न आदेश दिइएको छ।”
यसअघि भारतीय समय अनुसार अपराह्नको ५ः३० बजे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र पाकिस्तानकाबीच तत्काल र पूर्ण संघर्ष विराम गर्ने सहमति बनेको जानकारी दिएका थिए।
भारतका विदेश सचिव मिसरीले पनि त्यस्तो जानकारी दिँदै दुवै पक्षबीच पाँच बजेपछि नै गोलीबारी र सैन्य कारबाही रोक्ने सहमति भएको बताएका थिए।
भारत र पाकिस्तानबीच संघर्षविरामको सहमति भएको घोषणा गरिएको केही घण्टापछि नै जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दूल्लाहले श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएका बताएका थिए।
सोसल मिडिया एक्समा एक सन्देश लेख्दै उनले भनेका थिए,”संघर्षविरामको कुरा के भयो? श्रीनगरमा चारै तिरबाट विस्फोटको आवाजहरू सुनिएको छ।”
त्यस्तै गुजरात राज्यका गृह राज्यमन्त्री हर्ष संघवीले पनि सोसल मिडियामा भने,”कच्छ जिल्लामा केही ड्रोनहरू देखिएका छन्। यहाँ पूरै ब्ल्याक आउट गरिने छ।”
दिल्लीस्थित बीबीसी संवाददाता विकास पाण्डेले श्रीनगरमा रहेका बीबीसीको टोलीले पनि विस्फोटका आवाजहरू सुनेको बताएका जनाएका छन्।
तर उनी भन्छन् त्यस्तो विस्फोटको आवाज कताबाट आएको हो स्पष्ट भैसकेको छैन।
पाकिस्तानको प्रतिक्रिया
तस्बिरको क्याप्शन,पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले शनिवार राति अबेर राष्ट्रका नाममा सम्बोधन गरेका थिए
भारत र पाकिस्तान बीच संघर्षविराममा सहमति बनेको घोषणापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले शनिवार अबेर राति राष्ट्रलाई सम्बोधन गरेका थिए।
शहबाज शरीफले पाकिस्तानी सेना, नौसेना र सशस्त्र बलका अधिकारीहरूको नाम लिएर उनीहरूलाई बधाई दिए र भने, “यो पाकिस्तानको ऐतिहासिक जित हो।” उनले विपक्षी दलहरूप्रति पनि आभार व्यक्त गरे।
शरीफले सम्बोधनको सुरुवात गर्दै भने, “यदि कोही हाम्रो स्वतन्त्रतालाई चुनौती दिन्छ भने हामी आफ्नो रक्षा गर्न जे पनि गर्छौँ।”
उनले दाबी गरे – उनको देशविरुद्ध लगाइरहेको आरोप “निराधार” छ र उनी यसको जाँच होस् भन्ने चाहन्छन्।
शहबाज शरीफको सम्बोधनमाथि भारतको प्रतिक्रिया आइसकेको छैन।
पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ताले संघर्षविराम सहमतिका बारेमा टिप्पणी गर्दै भने, “पाकिस्तान संघर्षविराम सहमतिको निष्ठापूर्ण कार्यान्वयनप्रति प्रतिबद्ध छ।”
“भारतले केही क्षेत्रमा संघर्षविराम उल्लङ्घन गरेको भए पनि हाम्रो सेनाले जिम्मेवारी र संयमपूर्वक स्थिति सम्हालिरहेका छन्”
पाकिस्तानी प्रवक्ताले भने,”हामी संघर्षविराम कार्यान्वयनका क्रममा आउने कुनै पनि समस्याको उचित तहमा संवादमार्फत् सम्बोधन हुनुपर्ने ठान्छौँ। तैनाथ भएका फौजले पनि संयम अपनाउन जरुरी छ।”
ब्रिटेनबाट स्वतन्त्र भएको अर्थात् सन् १९४७ देखि नै भारत र पाकिस्तान दुवै देशले कश्मीरमाथि आफ्नो पूर्ण अधिकार रहेको दाबी गर्दै आएका छन् र दुवैले कश्मीरका बेग्ला बेग्लै भागमा शासन संचालन गर्छन्। कश्मीर मुद्दामा दुवै देशबीच दुईवटा युद्ध समेत भैसकेको छ।
संघर्षविराम सहमतिप्रति कस्ले के भने:
संघर्षविराम घोषणापछि अमेरिकी विदेशमन्त्री मार्को रुबिओले भारत र पाकिस्तान तटस्थ स्थानमा विभिन्न विषयमा छलफल सुरु गर्न सहमत बनेको बताएका थिए।
उनले भने – अमेरिकी उपराष्ट्रपति जेडी भान्सले प्रधानमन्त्रीहरू नरेन्द्र मोदी र शहबाज शरिफसहित वरिष्ठ भारतीय र पाकिस्तानी अधिकारीहरूसँग ४८ घण्टा बिताएका थिए।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुटेरेसले “तनाव कम गर्ने सबै प्रयत्न”को स्वागत गरेको बताएका थिए।
यूकेका प्रधानमन्त्री सर कीअर स्टारमरले ब्रिटेन “केही दिनदेखि” वार्तामा “लागिरहेको” र विदेशमन्त्री डेभिड ल्यामीले दुवै पक्षसँग कुराकानी गरिरहेको बताए।
सर कीअरले भने “संघर्षविराम भएको देख्दा मलाई खुशी लागेको छ। त्यसमा अडिग रहन र त्यसलाई दीर्घकालीन बनाउने अबको काम हो।”
भारत प्रशासित कश्मिरको पहलगाममा भएको हमलामा एकजना नेपाली नागरिक सहित २६ जना मारिएपछि उत्पन्न दुई हप्ता लामो तनावपछि भारत र पाकिस्तानबीच पछिल्लो संघर्ष सुरु भएको थियो।
२२ एप्रिलमा भएको आक्रमणबाट बाँचेकाहरूले आक्रमणकारीहरूले हिन्दू पुरुषहरूलाई छानीछानी मारिदिएको बताएका थिए।
बुधवारदेखि सुरु भएको सीमापार भारतीय आक्रमणमा पाकिस्तान र पाकिस्तान शासित कश्मीरमा ३६ जना मारिएको पाकिस्तानले जनाएको छ भने भारतीय सेनाले पाकिस्तानी हमलाका कारण कम्तीमा २१ जना सर्वसाधारण मारिएको बताएको छ।
Source: बिबिसी नेपाली सेवा