अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

रातो

बासु पुष्पा अधिकारी २०७७ असार २२ गते ११:२० मा प्रकाशित

उसलाई रातो असाध्यै मन पर्थ्यो |

रातो घाँगर र रातो रिबनमा
पुतली जस्तै राम्री देखिन्थी ऊ |

समयले उसलाई पनि रातै बनाइदियो
जवानी पोतेर
त्यो पनि मनपराई |

वसन्त फुलेर रातै हुन्थ्यो वैशाख,
सजाउँथी आफ्नो चुल्ठो टिपेर रातो गुराँस
उसका ओंठहरुमा सर्थ्यो गुराँसको रातो

उसलाई रातो असाध्यै मन पर्थ्यो

सारी, पोते र सिन्दूरको रातोमा
आफूलाई नामसारी गरी
र सम्झी त्यसैलाई सौभाग्य |

आफैँले मुछेको टिका पनि रातै थियो |
पहिलो पल्ट उसलाई रातो मन परेन
त्यो रातो उसको लोग्ने
मुगलान जाने साइतको रातो थियो |

खरको छानोको ठाउँ
रातो टिनले लियो |
ऊसँग पनि थिई,
रातो घाँगर र रातो रिबनमा सजिने
सानी पुतली |

अचेल उसलाई रातो पटक्कै मन पर्दैन ,
उसको लोग्नेलाई फर्काएको
बाकस पनि रातै थियो |

* * *
डण्डा, नवलपरासी

प्रतिक्रिया