अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

भिसा वेभर कार्यक्रमबाट अमेरिका घुम्न आएकाले फोन गरेर ३० दिन अवधि थप्न सक्ने

बिआरटीनेपाल २०७७ वैशाख १ गते २०:१३ मा प्रकाशित

भिसा वेभर कार्यक्रमबाट अमेरिका घुम्न आएकाले युएससीआईएसमा फोन गरेर ३० दिन अवधि थप्न सक्ने युएससीआईएसले जनाएको छ । यो कार्यक्रम अन्तरगत अमेरिकाले विभिन्न देशका नागरिकलाई ९० दिनसम्म विना भिसा अमेरिका भ्रमणका लागि स्वीकृति प्रदान गर्दै आएको छ ।

यसरी अमेरिका आएकाहरूले कोरोनाको महामारीका कारण तोकिएको अवधिमा फर्कन नसकेमा युएससीआईएसको फोन नम्बर ८०० ३७५ ५२८३ मा सम्पर्क गरेर आफ्नो बसाइको अवधि ३० दिन लम्बाउन सक्ने भएका छन् । पहिले नै लम्बाएकाहरूले समेत थप ३० दिन लम्बाउनका लागि युएससीआईएसमा सम्पर्क गर्न सुझाव दिइएको छ ।

यसअगाडि विमानस्थलमा रहेका डिफर्ड इन्सपेक्सन अफिसमा फोन गरेर कोरोना भाइरसका कारण फर्कन नसकेका भिसा वेभर कार्यक्रमबाट अमेरिका आएकाहरूलाई ३० दिन अवधि थप्ने व्यवस्था गरिएको थियो । अहिले उनीहरूले युएससीआईएसमा फोन गरेर दोश्रोपटक अर्को ३० दिनको अवधिसमेत थप्न पाउने भएका छन् ।

युरोपका कैयन मुलुकहरू, बेलायत, अस्ट्रेलिया लगायतका मुलुकको पासपोर्ट लिएका केही गैर आवासीय नेपालीहरू भिसा वेभर कार्यक्रममार्फत अमेरिकामा रहेका छन् । उनीहरू कोरोना भाइरसका कारण तत्काल अमेरिकाबाट फर्कन नसकेको खण्डमा युएससीआईएसमा फोन गरेर निःशुल्क आफ्नो बसाइको अवधि लम्बाउन सक्ने भएका छन् ।

यसैबिच युएससीआईएसले आज एक सूचना जारी गर्दै कोरोनाको महामारीका कारण तोकिएको समयभित्र फर्कन नसकेका आप्रवासी भिसामा रहेकाहरूलाई विभिन्न विकल्पहरू दिएको छ । युएससीआईएसले कोरोनाको महामारीका कारण समयमै फर्कन नसकेकाहरूलाई आफ्नो बसाइको अवधि थप्न आई ५३९ फर्म भर्न सुझाव दिएको छ । यो फर्म अनलाइनबाटै समेत भर्न सकिन्छ ।

सामान्यतया स्टाटस परिवर्तन वा बसाइको अवधि थप्नका लागि भिसाको अवधि समाप्त नहुँदै समयमै दिइएको आवेदन पेन्डिङ अवस्थामा रहँदासम्म आप्रवासीको गैर कानुनी उपस्थिति नहुने युएससीआईएसले प्रस्ट पारेको छ । कोरोना भाइरसका कारण भिसाको अवधि थप्नका लागि वा स्टाटस परिवर्तनका लागि दिइएको आवेदनमा ढिलाइ भएको खण्डमा केसअनुसार माफी दिन सकिने युएससीआईएसले जनाएको छ ।
खसोखासबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू