अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६ | Colorodo: 00:51

धुवाँमा उडेको जीवन

सुशीला खड्का 'हसिना' २०७६ चैत २४ गते १०:४७ मा प्रकाशित

कविता

धुवाँमा उडेको जीवन
मध्यान्न घामको धूप होस्
या दर्किरहेको झरी
हुरी बतास चलेको होस्
या उर्लिरहेको बाढी
दन्किरहेको छ चिताको आगो
उडिरहेको छ
जीवनको अन्तिम कण धुवाँमा

बादलको गतिलाई
पछ्याउँदै उड्छ जीवन धुवाँमा
त्यति बेला भौतिक शरीर
माटोको सुगन्ध त्यागेर
सूक्ष्म धुवाँको कणमा परिणत भइसक्छ
विलीन हुन्छ मान्छेको इन्द्रेनी सपना

व्यस्त हुन्छ मान्छे बाचुन्जेल
महत्त्वाकाङ्क्षी आडमा
लोभको कुम्लो कस्छ
धनी हुने लालचमा
ईश्र्याको भकारी भर्छ
मै हुँ भन्ने आडम्बरमा
डाहको पोखरी बार्छ
तेरो मेरो गर्दागर्दै
तँ–तँ र म–म भन्दाभन्दै
एक दिन नाङ्गै चितामा जल्छ

म लाइनमा बसेको जिउँदो मुर्दा
जल्दै गरेको चिताको छेउमा बसी
सोचिरहेछु–
जीवनभरिको सङ्घर्ष
प्रेम, त्याग, तपस्या र पसिना
धर्म, कर्म के साँच्ने जीवनमा
के लान्छ मान्छेले मरेपछि साथमा
आठ हातको कात्रो र
केही दाउराभन्दा बाहेक
के छ मान्छेसँग चितामा जल्दै गरेको

मान्छेले जब प्राण त्याग्छ
कसले गर्छ हिसाब
खुसीकै लागि झारेको आँसु
भोकै काटेको अनिदो रात
प्रेमकै लागि दिएको बलि
पैतालामा काँडाले घोपेको चोट

हेर्दाहेर्दै सकिन्छ जलेर
आकाशभरि फैलिन्छ धुवाँ
मिसिन्छ बादलसँग रेसा बनेर
बाँकी खरानी पानीले पखालिन्छ
के रह्यो सम्झना बाहेक
मान्छेको पुरै जीवनको अस्तित्व
समाप्त भएर जान्छ ।

 

प्रतिक्रिया